Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररुपन्देहीका १५ स्थानीय तहहरुको बजेट सार्वजनिक

रुपन्देहीका १५ स्थानीय तहहरुको बजेट सार्वजनिक


पोसकान्त पोखरेल
बुटवल, असार १४
देशभरका सात सय ५३ वटा स्थानीय सरकारहरुलाई आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम र बजेट ल्याउन भ्याइनभ्याइ भएको छ । केही स्थानीय तहहरुबाहेक अधिकांश स्थानीय तहले संवैधानिक व्यवस्थाअनुरुप असार १० गते बजेट ल्याइसकेका छन् भने केही स्थानीय तहहरुले आन्तरिक कारणले बजेट विनियोजन गर्नसकेका छैनन् ।

एक उपमहानगरपालिका, पाँच नगरपालिका र दश गाउँपालिका भएको रुपन्देहीमा १५ वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७७/०७८ सालको अनुमानित बजेट विनियोजन गरेका छन् । एक स्थानीय तह लुम्बिनी सांस्कृतिक नगरपालिकाले १६ गते विनियोजन गर्ने तयारी गरेको उपसचिव डा. कुलप्रसाद खनालले जानकारी दिए । जिल्लाको एकमात्र उपमहानगर बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि दुई अर्ब एक करोड ६४ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटमध्ये चालूतर्फ ९७ करोड ४३ लाख रुपैयाँ, पुँजीगततर्फ ९९ करोड २० लाख ९६ हजार वित्तीयतर्फ पाँच करोड रुपैयाँ छुट्याएको छ ।

सिलिङअनुसारको बजेटको रकम पूर्तिको लागि बुटवलले आन्तरिक आम्दानीबाट ४७ करोड एक लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट २२ करोड ११ लाख ८२ हजार रुपैयाँ, ऋणबाट पाँच करोड रुपैयाँ र गत आवको अल्याबाट ३० करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान, विशेष र समपूरक अनुदानबाट ८५ करोड १० लाख ८५ हजार रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समानीकरण, समपूरक तथा विशेष अनुदानबाट १२ करोड ४० लाख ८६ हजार रुपैयाँ रहेको छ ।

यसैगरी तिलोत्तमा नगरपालिकाले एक अर्ब ८९ करोड २६ लाख रुपैयाँबराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकाले सामाजिक सुरक्षाबापतको २५ करोड रुपैयाँबाहेक चालूतर्फ ५२ करोड एक लाख रुपैयाँ पुँजीगततर्फ एक अर्ब १२ करोड २५ लाख रुपैयाँ रहेको छ । नगरपालिकाले सिलिङअनुसारको बजेट रकम पूर्तिको लागि आन्तरिक आम्दानी राजस्वबाट ५७ करोड ९२ लाख रुपैयाँ अन्तर्सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब २३ करोड ३४ लाख रुपैयाँ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट तीन करोड रुपैयाँ गत आवको मौज्दातबाट एक करोड रुपैयाँ, लागत सहभागितामार्फत चार करोड रुपैयाँ प्राप्त गर्ने योजना बनाएको छ ।

सैनामैना नगरपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ७० करोड ८३ लाख ७७ हजार पाँच सय ४६ रुपैयाँबराबरको अनुमानित बजेट ल्याएको छ । नगरप्रमुख चित्रबहादुर कार्कीका अनुसार ४५ करोड ९४ लाख ८७ हजार पाँच सय ४६ रुपैयाँ चालूतर्फ रहेको छ भने २४ करोड ८४ लाख सात हजार रुपैयाँ पुँजीगत खर्चतर्फ रहेको छ । चालू आर्थिक वर्षभन्दा २० करोड रुपैयाँ कम बजेट विनियोजन गरेको नगरपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये संघीय सरकारबाट प्राप्त अनुदान ५६ करोड ९२ लाख ८७ हजार दुई रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान एक करोड ५७ लाख रुपैयाँ र आन्तरिक आम्दानीबाट १३ करोड ३१ लाख ९० हजार पाँच सय ४४ रुपैयाँ प्राप्त हुने आँकलन गरिएको छ ।

सिद्धार्थनगर नगरपालिकाले ९५ करोड नौ लाख ६६ हजार रुपैयाँबराबरको अनुमानित बजेट ल्याएको छ । जसमा ५५ करोड १५ लाख ६० हजार दुई सय ८० रुपैयाँ चालूतर्फ रहेको छ भने ३९ करोड ९४ लाख पाँच हजार सात सय २० रुपैयाँ पुँजीतर्फ रहेको छ । नगरपालिकाले उक्त सिलिङअनुसारको बजेटमा खर्च पूर्तिका लागि स्रोतबाट १६ करोड रुपैयाँ राजस्व बाँडफाँटबाट १३ करोड ७४ लाख ७७ हजार रुपैयाँ, लागत सहभागिताबाट २० लाख रुपैयाँ, संघीय र प्रदेश सरकार, दातृनिकायबाट ५८ करोड छ लाख १५ हजार रुपैयाँसहित अन्य स्रोतबाट परिचालन गरिने नगरपालिकाले जनाएको छ । त्यस्तै देवदह नगरपालिकाले ९० करोड १५ लाख ८६ हजार छ सय ४० रुपैयाँबराबरको बजेट ल्याएको छ ।

जिल्लाको रोहिणी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६३ करोड २० लाख ५२ हजार नौ सय १४ रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता, विपद व्यावस्थापनबाहेक चालूतर्फ २८ करोड २४ लाख २६ हजार नौ सय १४ रुपैयाँ रहेको छ भने पुँजीगततर्फ १५ करोड २० लाख ७६ हजार रुपैयाँ विनियोजन गरेको हो ।

गाउँपालिकाले विनियोजित बजेटको स्रोत व्यवस्थापन आन्तरिक आम्दानीबाट ६० लाख रुपैयाँ, मालपोत राजस्व बाँडफाँटबाट ६० लाख रुपैयाँ, संघीय सरकारबाट प्राप्त ३९ करोड ४३ लाख १३ हजार नौ सय चौध रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त तीन करोड २७ लाख ३९ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ताबापत आठ करोड ८० लाख रुपैयाँ, सडकबोर्डबापत १० लाख रुपैयाँ, बैंक मौज्दात आठ करोड रुपैयाँबाट हुने जनाएको छ ।

गाउँपालिकाले दीर्घकालीन कृषि योजनाले अवलम्बन गरेका नीतिहरुका आधारमा खाद्यान्न बाली, नगदेबाली, तेलहन, दलहन, च्याउ खेती, व्यावसायिक तरकारी खेती, माछापालन, कुखुरापालन तथा पशुपालनको लागि नश्ल सुधार तथा धान र गहुँबालीको पकेट क्षेत्रको रुपमा विकास गर्न संघीय र प्रदेश सरकारको समेत सहयोगमा प्राथमिकता दिने नीति लिएको छ ।

मर्चवारी गाउँपालिकाले ५४ करोड आठ लाख दश हजार एक सय ३० रुपैयाँको बजेट विनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीका अनुसार गाउँपालिकाले उक्त बजेटमा चालूतर्फ ३५ करोड ९६ लाख ४१ हजार चार सय ७९ रुपैयाँ र पँुजीगततर्फ १८ करोड ११ लाख ६८ हजार छ सय ५१ रुपैयाँ रहेको छ । गाउँपालिकाको आर्थिक विकासका लागि कृषियोग्य जमिनको पहिचान गरी नमूना व्यावसायिक खेतीको रुपमा एक वडा एक उत्पादन गर्ने योजना रहेको बताउँदै ज्ञवालीले कृषि विशेषज्ञको संयोजकत्वमा सम्भाव्यता अध्ययन गर्न र सिफारिस गर्न एक समिति बनाउने र सञ्चालित कार्यक्रममा गाउँपालिकाबाट ५० प्रतिशत अनुदान उपलब्ध गराउने योजना भएको बताए ।

शुद्धोधन गाउँपालिकाले ५५ करोड ३१ लाख ६६ हजार रुपैयाँको ल्याएको छ । गाउँपालिकाले कुल बजेटमध्ये ११ करोड ५६ लाख ९१ हजार रुपैयाँ चालूतर्फ र २२ करोड ५५ लाख ९७ हजार रुपैयाँ पुँजीगततर्फ छुट्याएको छ । त्यस्तै सात करोड ५० लाख सामाजिक सुरक्षा र १३ करोड ६८ लाख ७८ हजार रुपैयाँ चालू सशर्ततर्फ रहेको छ । त्यस्तै, कञ्चन गाउँपालिकाले ७१ करोड ८८ लाख ४५ हजार रुपैयाँबराबरको बजेट ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रासद पन्थीले जानकारी दिए । क्षेत्रगत रुपमा प्राप्त हुने स्रोतहरुको अनुमानमा ल्याइएको बजेटमा चालू खर्चतर्फ १२ करोड १७ लाख ३० हजार रुपैयाँ रहेको छ भने पुँजीगततर्फ २३ करोड, ८० लाख ६५ हजार रुपैयाँ रहेको छ ।

संघीय सरकारको सशर्त अनुदान कार्यक्रम खर्चअन्तर्गत २० करोड १७ लाख रुपैयाँ, प्रदेश सरकारको सशर्त अनुदानअन्तर्गत एक करोड ४८ लाख ५० हजार रुपैयाँ, संघीय सरकार सामाजिक सुरक्षा भत्ता अनुदानअन्तर्गत ११ करोड रुपैयाँ, जनताको लागत सहभागिताबापत एक करोड ५० लाख रुपैयाँ र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक करोड ७५ लाख रुपैयाँ गरी ७१ करोड ८८ लाख ४५ हजार रुपैयाँबराबरको अनुमानित बजेट ल्याइएको पन्थीले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया