Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकपिश इन्टरप्राइजेजद्वारा भ्याट र आयकर छली

कपिश इन्टरप्राइजेजद्वारा भ्याट र आयकर छली


शंकर लुइँटेल
विराटनगर, असार १४
विराटनगर बजारमा सञ्चालन रहेको कपिश इन्टरप्राइजेजले लामो समयदेखि आफ्नो खाद्यान्नको कारोबारमा सरकारी भ्याटदेखि आयकरमा समेत व्यापक ठगी गरेको पाइएको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याटमा समेत दर्ता भएको कपिश इन्टरप्राइजेजका नाममा ३०४३९३५४३ भ्याट नम्बर समेत प्राप्त गरेको उक्त फर्म सञ्चालकमा नितु अग्रवाल वंशल रहेकी छिन् । तर उक्त फर्मबाट मनोज अग्रवाल राजगडियाले कारोबार गरी सरकारको भ्याटदेखि आयकर समेतमा व्यापक राजस्व छली गरेको पाइएको हो । गत तीन महिनादेखि चलेको लकडाउनमा खाद्यान्नको नाममा एकछत्र व्यावसायिक कारोबार गरेका राजगडियाले उपभोक्तासँग चर्को मूल्य असुली गरेका थिए ।

कपिश इन्टरप्राइजेजले आर्थिक वर्ष ०७५/०७६ मा राज्यलाई बुझाउने भ्याटको विवरण अत्यन्त न्यून रहेको छ भने आयकरतर्फ ३५ सय मात्र बुझाएर आफ्नो आय विवरण बुझाएको फेला परेपछि उनको राजस्व ठगी प्रकरण खुलेको हो । विराटनगर महानगरपालिका १४ मा रहेको उक्त फर्मका नाममा भएको कारोबार सम्बन्धमा लकडाउनका बेलामै उजुरी आएपछि छानबिन थालिएको हो । लकडाउनअगाडि उक्त फर्मका सञ्चालक अग्रवाल विराटनगरमा व्यापारिक टाट पल्टिएका व्यवसायी भए पनि लकडाउनपछि राम्रो कमाइ गरेको स्रोतको दाबी छ ।

कोभिड १९ का कारण देश लकडाउनमा गएसँगै सञ्चालक अग्रवाल पछिल्लो समय एक्कासि माथिल्लो दर्जाको व्यापारीमा गनिनथालेका हुन् । उनको व्यावसायिक कारोबारले पर्दाफास गरेसँगै सरकारले लिँदै आएको आयकरमा समेत लाखौँ रकमको ठगी भएको स्रोतले बताएको छ । उनले आफ्नो व्यावसायिक कारोबार वार्षिक तीन करोडको मात्र देखाएको राजस्व स्रोतले बतायो । उनको फर्ममा अझै छ लाख क्रेडिट देखिएको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया