Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘क्यानडामा डेरा र रोजगारीको अवसर पाउन कठिन’

‘क्यानडामा डेरा र रोजगारीको अवसर पाउन कठिन’


काठमाडौं । क्यानडास्थित नेपाली राजदूतावासले क्यानडामा डेरा र रोजगारीको अवसर पाउन कठिन रहेको जनाएको छ । विश्वभरबाटै आउने विद्यार्थीहरूको संख्या बढेसँगै क्यानडाभरका विद्यार्थी आवास र रोजगारीका अवसरमा तीव्र चाप परेका कारण बस्ने डेरा र रोजगारीको अवसर पाउन कठिन भएको दूतावासले जनाएको हो ।

निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुवात हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई गराउने उदेश्यले सुझावपत्र जारी गर्दै दूतावासले क्यानडा बसाइँ र अध्ययन सहज एवं समस्यारहित बनाउन ध्यान पुर्याएर तयारी गर्न अनुरोध गरेको छ । अध्ययनका लागि क्यानडा आउनुपूर्व नै बस्ने ठाउँको यकिन गरेर आउन दूतावासले आग्रह गरेको छ । सोसियल मिडियामा दिइएका विज्ञापनकै आधारमा आवासका लागि अग्रिम भाडा भुक्तानी गर्दा ठगीमा पर्न सक्ने सम्भावनाका बारेमा पनि दूतावासले सचेत गराएको छ ।

विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारीमूलक सूचना राम्ररी अध्ययन गरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ । आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या व्यहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या व्यहोर्नुपरेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ । अध्ययनका लागि क्यानडा आउनुअघि पूर्वक्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली सङ्घलगायत नेपाली डायस्पोराका सङ्घसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्त मात्रामा बुझी जानकारी लिएर आउँदा सहज हुने दूतावासको सुझाव छ ।

यस्तै, अभिभावकहरूलाई आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्नेखाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउन दूतावासले आग्रह गरेको छ । क्यानडा जानासाथ रोजगारी पाइन्छ भन्ने भ्रममा पर्दा धेरै विद्यार्थीहरू समस्यामा पर्ने गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x