Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनमा १६ प्रतिशतले घट्दा पनि नेपालको व्यापारघाटा १० खर्ब बढी

लकडाउनमा १६ प्रतिशतले घट्दा पनि नेपालको व्यापारघाटा १० खर्ब बढी


प्रवीण राउत
काठमाडौं, असार १५
लकडाउनमा व्यापारघाटा १६ प्रतिशतले ओरालो लागेको छ । आयातित परिमाणको मूल्य उच्च र निर्यात परिमाणको मूल्य न्यून हुँदा सधैँ उकालो लागेको व्यापारघाटा लकडाउनमा हवाइ र सडक यातायात अवरुद्ध हुँदा सामग्री आयातमा कमी आएसँगै घटेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातमा समेत सुधार देखिएको छ । तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिना अर्थात् साउनदेखि जेठमसान्तसम्म गत आवको सोही अवधिको तुलनामा भारतलगायत तेस्रो मुलुकसँग नेपालको व्यापारघाटामा सुधार आएको देखिएको छ । सो अवधिमा नेपालको भारतलगायत तेस्रो मुलुकसँगको व्यापारघाटा १६ दशमलव ४३ प्रतिशतले कमी आएको छ । उक्त अवधिमा व्यापारघाटा १० खर्ब १२ अर्ब ८१ करोड तीन लाख रहेको छ । गत आवको सोही समयमा १२ खर्ब ११ अर्ब ९६ करोड ७७ लाखको व्यापारघाटा भएको थियो ।

विभागका अनुसार सो अवधिमा नेपाली व्यवसायीहरुले ११ खर्ब ८१ करोड ३४ लाख मूल्यबराबरको सामग्री छिमेकी मुलुक भारत, चीनलगायत तेस्रो मुलुकबाट आयात गरेका छन् । जुन गत आवको सोही समयको तुलनामा चालू आवमा १५ दशमलव ३१ प्रतिशतले आयातमा कमी हो । गत आवमा १२ खर्ब ९९ अर्ब ८० करोड २६ लाख मूल्यबराबरको सामग्री व्यापारीहरुले आयात गरेको विभागले जानकारी दिएको छ ।

चालू आवको ११ महिनाको अवधिमा निर्याततर्फ भने वृद्धि भएको छ । ११ महिनाको अवधिमा व्यवसायीहरुले ८८ अर्ब ३१ लाख रुपैयाँ मूल्यबराबरको सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेका छन् । जुन गत आवको तुलनामा चालू आवको सोही समयमा शून्य दशमलव १९ प्रतिशतले वृद्धि हो । गत आवको सोही समयमा ८७ अर्ब ८३ करोड ४९ लाख मूल्यबराबरको सामग्री निर्यात गरेको पाइन्छ ।

विभागका एक अधिकारीले व्यापारघाटा सुधारोन्मुख देखिनुमा व्यापार व्यवसाय सञ्चालन नहुँदा सामग्री निर्यातभन्दा पनि आयातमा कमी देखिँदा राहत मिलेको बताए । हाल अति आवश्यक सामग्री अर्थात् स्वास्थ्य तथा खाद्यान्नलगायतका सामग्री मात्र आयात भएको छ अर्थात् अति आवश्यक नभएका सामग्रीको बजारमा खपत नहुँदा आयातमा कमी हुनपुगेको हो । त्यसैगरी नेपालबाट गरिने निर्यातमा हाल समस्या समाधान भएको विभागले जनाएको छ । भारतीय पक्षले केही समयअघि विना कारण पाम तेल, चिया, अलैँचीलगायतका कृषिउपज निर्यातमा रोक लगाएको थियो ।

सो अवधिमा कुल वैदेशिक व्यापार ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाखमा सीमित रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा १४ दशमलव ३३ प्रतिशतले कमी हो । गत आवमा नेपालको भारतलगायत तेस्रो मुलुकसँग कुल वैदेशिक व्यापार १३ खर्ब ८७ अर्ब ६३ करोड ७६ लाख रहेको थियो । सोही अवधिमा आयातनिर्यातको सूचकांकलाई हेर्दा चालू आवमा १२ दशमलव ५१ प्रतिशत र गत आवमा १४ दशमलव ८० प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा १५ दशमलव ४७ प्रतिशतले कमी हो ।

कुल व्यापारमा निर्यातको सूचकांक हेर्दा गत आवको ११ महिनाको अवधिमा ६ दशमलव ३३ प्रतिशत रहेकोमा चालू आवको सोही समयमा ७ दशमलव ४० प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा १६ दशमलव ९५ प्रतिशतले वृद्धि हो । यस्तै गत आवको सोही समयमा आयातको सूचक ९३ दशमलव ६७ प्रतिशत रहेकोमा चालू आवको सोही समयमा ९२ दशमलव ६० प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा एक दशमलव १५ प्रतिशतले कमी हो ।

पछिल्लो समयमा नेपालबाट चिया, अलैँची, भटमासको तेललगायतका सामग्री तथा पाम आयलको निकासी भएको विभागले बताएको छ । चालू आव ११ महिनाको अवधिमा नेपाली व्यवसायीहरुले ठूलो रकममा पाम तेल, सोयाबिन तेल, अलैंची, जुस, घरपालुवा जनावरको खाना, तयारी पोशाकलगायतका सामग्री निर्यात गरेका छन् । १८ अर्ब ३१ करोडको पाम तेल, १० अर्बको सोयाबिन तेल, करिब १० अर्ब ९८ करोडको अलैंची जुस तथा करिब ५ अर्बको घरपालुवा जनावरको खाना अर्थात् कुकुर र बिरालोको खाना निर्यात गरेका छन् ।

त्यसैगरी नेपाली व्यापारीहरुले भने ठूलो रकममा हवाइजहाजको सामग्री, दूरसञ्चारका उपकरण, मकैका दानालगायतका सामग्री भारतका साथै तेस्रो मुलुकबाट आयात गरेका छन्  । सो अवधिमा करिब १५ अर्बको हवाइजहाजको सामग्री, १५ अर्बको दूरसञ्चारका उपकरण, १२ अर्बको मकैका बीउ तथा दाना आयात गरेका छन् ।

यता नेपालको निकासी व्यापारमा प्रमुख रुपमा संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्विट्जरलेण्ड आदि प्रमुख छन् भने पैठारी व्यापारमा भारत, चीन, इण्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), संयुक्त राज्य अमेरिका, क्यानडा, स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स प्रमुख छन् भने लकडाउनका कारण हवाइ तथा यातायात सेवा बन्द हुँदा निकासी पैठारीमा समस्या भएको छ ।

चालू आवको दश महिनाको अवधिमा नेपालको भारत लगायत तेस्रो मुलुकसँगको व्यापारघाटा १४ दशमलव २४ प्रतिशतले कमी आएको थियो । चालू आवको दश महिनामा व्यापारघाटा नौ खर्ब ४३ अर्ब सात करोड ३० लाख रहेकोमा गत आवको सोही समयमा व्यापारघाटा १० खर्ब ९९ अर्ब ६० करोड ५५ लाख रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया