Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलुखुम्बुका सात स्थानीय तहले ल्याए बजेट

सोलुखुम्बुका सात स्थानीय तहले ल्याए बजेट


महेन्द्र शाही
सोलुखुम्बु असार १५
सोलुखुम्बुका ७ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि समयमै बजेट ल्याएका छन् । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक नियमअनुसार नै यहाँका सातवटा स्थानीय तहले सोही समयमा बजेट ल्याएका हुन् । जिल्लामा ८ वटा स्थानीय तह भए पनि महाकुलुङ गाउँपालिकाले भने बजेट निर्धारित समयमा ल्याउन नसेकेको हो । केही प्राविधिक कारणले बजेट समयमा ल्याउन नसकेको गाउँपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा जारी रहेका योजनाको काम अन्तिम चरणमा रहेकाले बजेट ल्याउन ढिलाइ भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लुबन राईले जानकारी दिए । चालू आयोजनाको अवस्था हेरेर बजेट ल्याउने तयारी रहेकाले केही ढिलाइ भएको र असार २५ गतेभित्र बजेट ल्याउने राईको भनाइ छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोडभन्दा बढी बजेट ल्याएको छ ।

गाउँपालिकाको पाँचौँ गाउँसभाबाट ४१ करोड ९५ लाख १७ हजार पाँच सय पाँच रूपैयाँको बजेट पारित गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए । गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको अधिकृत राईको भनाइ छ । नेचासल्यान गाउँपालिकाले पनि समय सीमा असार १० गते नै बजेट ल्याएको छ । उसले आगामी आर्थिक वर्षका लागि ४७ करोड ३८ लाख सात हजार ८० रूपैयाँको बजेट पेस गरेको हो । यस्तै सोताङ गाउँपालिकाले २७ करोड ३५ लाख ८३ हजार एक सय रूपैयाँको बजेट ल्याएको छ । गाउँसभाले चालूतर्फ छ करोड २२ लाख २० हजार र पुँजीगततर्फ आठ करोड सात लाख ६३ हजार एक सय रूपैँयाको बजेट पारित भएको गाउँपालिकाका प्रवक्ता मनसरी राईले जानकारी दिइन् ।

यता माप्यदूधकोशी गाउँपालिकाले ३२ करोड ४१ लाख ४३ हजार तीन सय ८० रूपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष जुनितामाया मगरले बजेट प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले जानकारी दिए । यता लिखुपिके गाउँपालिकाले २१ करोड बढीको बजेट ल्याएको छ । लिखुपिके गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २१ करोड ५९ लाख ५० हजार पाँच सय रूपैयाँ बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए ।

जिल्लाको खुम्बु पासङ ल्हामु गाउँपालिकाले यसअघि नै २९ करोड ८० लाख १६ हजार रूपैयाँको बजेट ल्याएको थियो । खुम्बु पासङ ल्हमु गाउँपालिकाले गत असार ५ गते प्रदेश नम्बर १ का स्थानीय तहहरूमध्ये सबैभन्दा चाँडो बजेट सार्वजनिक गरेको थियो । यता जिल्ला एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाको छैटौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि ५३ करोड दश हजार पाँच सय ९० रूपैयाँको बजेट ल्याएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया