Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक वर्षमा ४१ अर्ब बढ्यो बैंकहरूको निष्क्रिय कर्जा

एक वर्षमा ४१ अर्ब बढ्यो बैंकहरूको निष्क्रिय कर्जा


पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा करिब ४१ अर्ब रूपैयाँ बढेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूको निष्क्रिय कर्जा शून्य दशमलव ७८ प्रतिशत अर्थात् ४० अर्ब ९२ करोड ४६ लाख छ हजार आठ सय रूपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूले कुल ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको तीन दशमलव ७६ प्रतिशत अर्थात् एक खर्ब ७१ अर्ब ४७ करोड ८१ लाख आठ हजार आठ सय रूपैयाँ निष्क्रिय कर्जा छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरूले ४३ खर्ब ८० अर्ब ९९ करोड रूपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ९८ प्रतिशत अर्थात् एक खर्ब ३० अर्ब ५५ करोड तीन लाख ५० हजार दुई सय रूपैयाँ निष्क्रिय कर्जा थियो । एक वर्षमा वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा एक खर्ब ७९ अर्ब ५९ करोड ८० लाख रूपैयाँले बढेको छ ।

बैंकहरूले प्रवाह गरेको कर्जाको आधारमा सबैभन्दा धेरै निष्क्रिय कर्जा कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको छ । सबैभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकको छ । कुमारी बैंकको चार दशमलव ९५ पैतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चार दशमलव ९५ प्रतिशत र एभरेष्ट बैंकको शून्य दशमलव ७१ प्रतिशत देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ९६ प्रतिशत र चार दशमलव ५४ प्रतिशत र शून्य दशमलव ७९ प्रतिशत थियो ।

गत आर्थिक वर्षमा हिमालयन, प्रभु र लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ९१ प्रतिशत, चार दशमलव ७८ प्रतिशत र चार दशमलव ७२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ९३ प्रतिशत, चार दशमलव ९८ प्रतिशत र दुई दशमलव ९१ प्रतिशत थियो । प्राइम कमर्सियल, ग्लोबल आईएमई र सिटिजन्स बैंक इन्टरनेसनलको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ६७ प्रतिशत, चार दशमलव ३७ प्रतिशत र चार दशमलव शून्य सात प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूमा क्रमशः चार दशमलव ८५, तीन दशमलव १५ र तीन दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय थियो ।

राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ६५ प्रतिशत, तीन दशमलव ४४ प्रतिशत र तीन दशमलव ४१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ७७ प्रतिशत, दुई दशमलव ७८ प्रतिशत र शून्य दशमलव ६८ प्रतिशत थियो । नबिल बैंक, नेपाल बैंक र एनएमबी बैंकको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा क्रमशः तीन दशमलव ३९ प्रतिशत, तीन दशमलव २८ प्रतिशत र तीन दशमलव २७ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष क्रमशः तीन दशमलव ३९ प्रतिशत, दुई दशमलव ८५ प्रतिशत र दुई दशमलव ७५ प्रतिशत थियो ।

स्टान्डर्ड चार्टर्ड, नेपाल एसबीआई र माछापुच्छे« बैंकको निष्क्रिय कर्जा क्रमशः दुई दशमलव ४४ प्रतिशत, दुई दशमलव ४३ प्रतिशत र दुई दशमलव २६ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः एक दशमलव १८ प्रतिशत, दुई दशमलव ४३ प्रतिशत र दुई दशमलव २६ प्रतिशत थियो । सिद्धार्थ बैंक र सानिमा बैंकको निष्क्रिय कर्जा क्रमशः दुई दशमलव २२ र एक दशमलव ७३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यी दुई बैंकहरूको निष्क्रिय कर्जा क्रमशः दुई दशमलव शून्य एक र एक दशमलव ३१ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
hornbee
hornbee
25 days ago

kharab bank lai merge garne bank le kada niti banai bigreko bank lai sahi marga ma lyaunu parxa.

Last edited 25 days ago by hornbee

1
0
Would love your thoughts, please comment.x
()
x