Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘शिक्षाको स्तर हेरेर नै नेपाली समाजको अवस्था थाहा हुन्छ’

‘शिक्षाको स्तर हेरेर नै नेपाली समाजको अवस्था थाहा हुन्छ’


काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शिक्षाको स्तर हेरेर नै नेपाली समाजको अवस्था चित्रण गर्न सकिने बताएका छन् । नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले बिहीबार आयोजना गरेको एक कार्यक्रममा उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिने गरिएको उल्लेख गरे ।

‘८० प्रतिशत सामुदायिक विद्यालयहरूमा पर्याप्त शिक्षक छैनन् । ५२ प्रतिशत विद्यार्थी इसईईमा फेल भए । मुख्य–मुख्य शिक्षकहरू नै छैनन् । राहत वा सामुदायिकस्तरमै राखेर जेनतेन अध्ययन गराइएको छ’, उनले भने, ‘यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ । संविधानको दोष छैन ।’ शिक्षा विधेयक अहिले संसद्मा रहेको भन्दै उनले यसमा आवश्यक विचार विमर्श गर्न पनि आग्रह गरे । डा. यादवले संविधानमा गणतन्त्र, लोकतन्त्र, समावेशी र संघीयताको व्यवस्था रहेकाले त्यो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । यस्तै, उनले ८० प्रतिशत खाद्यान्न ल्याउने अनि समाजवाद खोज्ने परिपाटी गलत भएको बताए ।

कार्यक्रममा सांसद डा. चन्द्र भण्डारीले नेतृत्व सही ढंगको नआएसम्म व्यवस्था परिवर्तन गरेर मात्र समाज परिवर्तन नहुने बताए । उनले जनताले लडेर व्यवस्था परिवर्तन गरेको तर नेतृत्व विवेकशील हुन नसक्दा समाज परिवर्तन नभएको बताए । नेपालका युवाहरू देशमा बस्न नचाहेको भन्दै उनले यो सबै गलत नेतृत्व, स्वार्थी व्यक्तिको छनोटको कारणले भएको बताए । राजनीतिशास्त्री प्रा कृष्ण खनालले राजनीतिक आस्था र आफ्नो पेशा व्यवसायबीच लक्ष्मणरेखा कोर्न आग्रह गरे । ‘बुद्धिजीवी सरकारको निर्देशनमा हिँड्दैन, तर उसको पनि राजनीतिक आस्था हुन्छ’, उनले भने, ‘राजनीतिक आस्था र आफ्नो पेसा व्यवसायबीच लक्ष्मण रेखा कोर्नुपर्छ ।’

कार्यक्रममा कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौलाले आजको समाजवाद भनेको संविधानले व्यवस्था गरेको मौलिक हकमा भएको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुनुपर्ने भन्ने रहेको बताइन् । ‘किसानले समर्थन मूल्य पाउनु नै समाजवाद हो,’ उनले भनिन् । कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले नेपाल प्रज्ञा प्रतिष्ठानमा स्व प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा ‘नेपालमा प्रजातान्त्रिक समाजवादः वर्तमान र भविष्य’ विषयक छलफल आयोजना गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x