मर्स्याङ्दी नदीमा खसेको बसमा सवार ‘कम्तीमा २७ जनाको मृत्यु’
काठमाडौं,तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान मर्स्याङ्दी नदीमा खसेको बसमा सवार कम्तीमा २७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताएका छन्।
उनका अनुसार गम्भीर अवस्थामा रहेका १६ घाइतेलाई सेनाको उक्त हेलिकप्टरबाट उपचारका लागि काठमाण्डू पठाइएको छ।
उनीहरूलाई महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।उक्त बस नेपालको रूपन्देही जिल्लाको बेलहिया नाका हुँदै गत भदौ ४ गते नेपाल प्रवेश गरेको रूपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बीबीसीका केशव कोइरालालाई बताएका छन्।उक्त बस पोखराबाट काठमाण्डूतिर जाँदै गर्दै आँबुखैरेनीको ऐनापहरानजिकै सडकबाट तल खसेको थियो।
यसअघि बीबीसीका प्रदीप बस्यालसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले बसमा सवार केही मानिस बेपत्ता भएका र उनीहरूको खोजी भइरहेको बताएका थिए।
दिउँसो घटनास्थलको निरीक्षण गर्न पुगेका उनले “२९ जनाको उद्धार गरिएको र तीमध्ये १५ जना बोल्न सक्ने अवस्थामा रहेको” जानकारी दिएका थिए।
घाइतेमध्ये केहीको उपचारको क्रममा वा उपचार गर्न पठाउँदै गर्दा बाटोमा मृत्यु भएको हो।दुर्घटनाको कारण खुल्न बाँकी छ।
प्रत्यक्षदर्शी रूपेश तामाङका अनुसार दुर्घटना बिहान ११ बजेतिर भएको हो। उनी स्थानीयवासी हुन्।
पन्ध्र मिनेटपछि आफू बस खसेको ठाउँमा पुग्दा यात्रुहरू यत्रतत्र छरिएको देखेको उनले बीबीसीका नारायणघाटस्थित संवाददाता ईश्वर जोशीलाई बताए।
केही यात्रुहरूलाई प्रहरीसँग मिलेर आफूहरूले उद्धार गरेको उनले बताए।
सडकबाट तल खस्दा बसको छत छुट्टिएको छ।बसमा को थिएडीएसपी भट्टका अनुसार केशरवानी परिवहनको उक्त बस गोरखपुरबाट नेपाल आएको हो।
बसमा चालक र सहयोगीबाहेक ४० जनाजति यात्रु भएको प्रहरीले जनाएको छ।
“दिउँसो ५ः०३ बजे भन्सार काटेर नेपाल आएका ४० यात्रु महाराष्ट्रका भएको अभिलेख छ,” उनले भने।
सबै यात्रुहरू भदौ ४ गते भैरहवास्थित एउटा होटलमा बसेका थिए। उनीहरूलाई लिएर बस भोलिपल्ट बिहान पोखरातिर गएको भट्टले बताए।
प्रहरीका अनुसार आठ दिनको अनुमति लिएर उक्त बस नेपाल प्रवेश गरेको थियो।भारतीय अधिकारीको चासो
दुर्घटनाग्रस्त बसमा भएका यात्रुहरू भारतीय रहेको समाचारसँगै भारतीय अधिकारीहरूले घटनाबारे चासो व्यक्त गरेका छन्।
महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले ‘एक्स’मा एक पोस्ट गर्दै उनीहरूमध्ये अधिकांश आफ्नो राज्यअन्तर्गत जलगाउँ जिल्लाका रहेको बताएका छन्।
आवश्यक समन्वयका लागि स्थानीय प्रहरी अधिकारीहरू उत्तर प्रदेश हुँदै नेपाली सीमासम्म आउने र राज्य सरकारले पनि नेपाल सरकारसँग समन्वय गरेर घाइतेहरूको उपचारको व्यवस्था मिलाउने उनले बताए।
यसैबीच काठमाण्डूस्थित भारतीय राजदूतावासले पनि स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको बताएको छ।
‘अप्ठ्यारो ठाउँमा’ दुर्घटना
दुर्घटनास्थलमा खिचिएका भिडिओ र तस्बिरमा मर्स्याङ्दी नदीको किनारामा दुर्घटनाग्रस्त बसको भग्नावशेष देखिन्छ।
यसअघि बस अप्ठ्यारो ठाउँमा खसेको हुनाले उद्धारमा कठिनाइ भएको आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख शिव थापाले बताएका थिए।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख भीष्मकुमार भूसालका अनुसार उद्धारकार्यमा सघाउन चिकित्साटोलीसहित एउटा हेलिकप्टर दुर्घटनास्थलमा पठाएको थियो।चितवनमा गुडिरहेको बसमा ढुङ्गा खस्यो
यसैबीच चितवन जिल्लामा पर्ने नारायणघाट-मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने ठाउँमा एउटा बस पल्टिँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बीबीसी संवाददाता ईश्वर जोशीका अनुसार गुडिरहेको बसमा बाटोमाथिबाट ढुङ्गा खस्दा उक्त बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले बताएको छ।
उक्त बस गौरबाट पोखरातर्फ जाँदै थियो।
गत महिना चितवनको सिमलतालमा दुइटा यात्रुवाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खस्दा भारतीय नागरिकहरूसहित दर्जनौँ मानिसको मृत्यु भएको थियो।
ती बसमा सवार ६२ जनामध्ये तीन जना जीवितै बाहिर निस्किएका थिए भने २४ जनाको शव फेला परेको थियो।
दुवै बसको भग्नावशेष फेला परेको छैन।
(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया