Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘राज्य शक्तिको दुरूपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने कार्य नगर्नू’

‘राज्य शक्तिको दुरूपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने कार्य नगर्नू’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य शक्तिको दुरूपयोग गरेर निर्दोषलाई दोषी करार गर्नेजस्ता क्रियाकलापहरू गर्न नहुने बताएका छन् । दोषीलाई उन्मुक्ति र निर्दोष फस्ने हो कि भन्ने कुरामा प्रहरीहरू सचेत हुन आवश्यक रहेको उनले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उनले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्नुपर्नेमा जोड दिए । ‘वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाऊ भन्दैन, निर्दोषलाई फसाऊ भन्दैन र दोषीलाई छाड्दैन’, उनले भने । अपराध रोकथाममा पुरानो तरिकाले मात्र नभई नयाँ कार्यशैलीको विकास गर्न समेत उनले सुझाव दिए । समाजमा शान्ति सुरक्षा खल्बलाउने एवम् देशलाई अझ अराजकतातर्फ लैजान खोज्नेविरूद्ध नेपाल प्रहरीले सतर्कता अपनाई काम गर्नुपर्ने बताउँदै आधुनिक प्रविधिको दुरूपयोगबाट हुने अपराध नियन्त्रणमा समेत अझ सक्रिय हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा उनले प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने बताए । उनले भने, ‘झोला थैला बोकेर कसैकोमा कुद्नुपर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घुस खाँदैन, तपाईंहरू कर्तव्य पालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।’

गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न प्रहरीलाई निर्देशन दिए । जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने उनले बताए । यस्तै, उनले प्रहरीलाई आत्मविश्वासका साथ काम गर्न आग्रह गरे । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको उनले बताए । संविधान र कानुनको कार्यान्वयन गर्ने अंगमध्येको नेपाल प्रहरी प्रमुख अंग रहेको बताउँदै उनले मुलुकमा प्रचलित कानुन कार्यान्वयन एवम् नागरिकले प्राप्त गर्ने सेवामा कुनै कमी नगर्न उनले आग्रह गरे । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म देशलाई पु¥याउनको लागि सरकार अगाडि बढेको चर्चा गर्दै उनले सरकारको उद्देश्यअनुरूप प्रहरीले काम गर्नुपर्नेमा जोड दिए । प्रहरीले सीमित स्रोतसाधनका बाबजुद पनि उल्लेखनीय कार्य गर्दै आएको उनको भनाइ थियो ।

गृहसचिव एकनारायण अर्यालले नेपाल प्रहरीलाई समयानुकुल व्यावसायिक एवम् गतिशील बनाउँदै लैजाने सरकारको नीति रहेको बताए । सोहीअनुरूप नवनिर्मित भवनलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएको उनको भनाइ थियो । कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले भविष्यमा प्रहरीका अन्य भौतिक संरचना पनि विस्तारै व्यवस्थित गर्दै लैजाने बताए । व्यवस्थित संरचनाका कारण प्रहरीले आमसेवाग्राहीलाई सहज र व्यवस्थितरूपमा सेवा दिन मद्दत पुग्ने उनले बताए । प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग एक अर्ब १० करोड रुपैयाँमा १५ रोपनी जग्गा खरिद गरेर एक अर्ब २६ करोड रुपैयाँको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौं २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x