Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहिलाको प्रतिनिधित्व ५० प्रतिशत बनाउनुपर्नेमा जोड

महिलाको प्रतिनिधित्व ५० प्रतिशत बनाउनुपर्नेमा जोड


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर सुडीले गणतन्त्र स्थापना भएपछि महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित दोस्रो वुमन लिडरसिप कन्क्लेभमा उनले महिलाहरूको सहभागिता र सशक्तीकरणमा वृद्धि भए पनि अझै बढाउनुपर्नेमा जोड दिए । उनले संवैधानिक व्यवस्थाअनुसार नै गणतन्त्रमा केन्द्र, प्रदेश र स्थानीय तहमा महिलाको नेतृत्व तहमा ४० प्रतिशतको व्यवस्थाकै कारण अहिले पालिकाहरूमा प्रतिनिधित्व बढेको उनको भनाइ थियो । ‘संविधानमार्फत हामीले महिलाका लागि ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छौँ, तर त्यो पर्याप्त छैन, आजका दिनसम्म जे जति उपलब्धि हासिल भएका छन्’, उनले भने, ‘त्यसलाई संस्थागत गर्दै ५० प्रतिशत सहभागिताको सुनिश्चितता हुनु आवश्यक छ ।’

दूरदराजमा महिलाहरूमा पछिल्लो समय जागरुकता बढेको र त्यसलाई थप प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा उनले बताए । मन्त्री सुडीले आफूलाई मतदान गर्ने कुल मतदातामध्ये ५६ प्रतिशत महिला रहेको उल्लेख गर्दै भने, ‘मलाई महिलाहरूले विजयी बनाउने र उनीहरूको हकहितका लागि काम नगर्ने भन्ने हुँदैन, यो मेरो जिम्मेवारी पनि हो ।’ सरकारको प्रतिनिधिका हैसियतमा महिलाहरूको अर्थपूर्ण सहभागिता बढाउनका लागि पहल गर्ने उनले प्रतिबद्धता समेत जनाए । आफू पाँच वर्ष प्रदेशमा मन्त्री रहँदा प्रदेश लोकसेवा आयोगको परीक्षामा ५० प्रतिशत कोटा महिलाका लागि छुट्याइनुपर्ने विषयमा कानुन निर्माण गरेको समेत उनले स्मरण गरे ।

मन्त्री सुडीले आगामी असोज ६ गतेसम्म देशभरमा विभिन्न क्षेत्रमा क्रियाशील एक हजार महिलालाई राजधानी काठमाडौंमा जम्मा गरेर नेतृत्व विकास र संविधान तथा कानुनबारे जानकारी दिने गरी मन्त्रालयले तयारी गरिरहेको समेत जानकारी दिए । कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले महिलाहरूको उपस्थितिले कुनै पनि क्षेत्रलाई बलियो बनाउन सक्ने विषय शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील महिलाले प्रमाणित गरेको बताए । उनले कुनै पनि क्षेत्रमा महिलाको सहभागिता मात्रै नभई अर्थपूर्ण सहभागिताले मात्रै वास्तविक प्रतिनिधित्व हुने उल्लेख गरे । राज्यका नीति निर्माणका तहमा पनि उनीहरूको उपस्थिति बलियो हुनुपर्छ भन्ने इक्यानको मत रहेको उनले बताए ।

कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि क्रियाशील भई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत महत्वपूर्ण योगदान दिने विभिन्न उद्यमी महिलाहरूलाई सम्मान गरिएको थियो । मन्त्री सुडीले उनीहरूलाई प्रमाणपत्र र अध्यक्ष भट्टराईले खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा डा नम्रता पाण्डेले महिलाका लागि निजी जीवन, परिवार र व्यावसायिक जीवनबीचको सन्तुलन कायम गर्न चुनौतीपूर्ण भए पनि आध्यात्मिकताका माध्यमबाट त्यसलाई सन्तुलनमा राख्न सकिनेमा जोड दिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x