Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंसदमा सांसदहरुबीच सवाल जवाफ

संसदमा सांसदहरुबीच सवाल जवाफ


काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबीच ‘हिंसा’ शब्दलाई लिएर सवाल जवाफ भएको छ ।    नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले विशेष समयमा बोल्ने क्रममा माओवादीको १० वर्षको ‘हिंसा’ का कारण मुलुकको प्रगति हुन नसकेको तथा जलविद्युत् आयोजना निर्माण गर्नेलाई चन्दा मागेर धम्क्याएको आरोप लगाए । उनले प्रयोग गरेको  ‘हिंसा’ भन्ने शब्दलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसदहरुले नियमापत्ति गरे । उनीहरुले उक्त शब्द संसदको अभिलेखबाट हटाउनुपर्ने माग गरेका थिए।
सत्तापक्ष एमालेका सांसदहरुले उक्त शब्द असंसदीय नभएको भन्दै हटाउन नहुने धारणा राखे।  “मैले केही दोष दिएको हैन । अध्ययनले भन्छ कि यदी यो देशमा माओवादी हिंसा १० वर्षसम्म नभएको भए नेपालमा विद्युत् उत्पादनका क्षेत्रमा योभन्दा ठूलो क्रान्ति हुने थियो । असुरक्षाले विद्युत्मा लगानी भएन । दश वर्षको हिंसा नभएको भए २०६५ सालमै लोडसेडिङ अन्त्य हुने थियो”, सांसद भट्टराईले भने ।
      सांसद भट्टराईले बोल्दै गर्दा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति गरे । उनले सांसद भट्टराईले गैरसंसदीय शब्द बोलेको टिप्पणी गरे । सांसद सापकोटाले नियमापत्ति जनाउदै भने, “संसद सञ्चालनको नियमावली विपरीत नियमापत्ति हुने गरी शब्दहरु बोल्नु हुँदैन । माननीयले गैरसंसदीय अमर्यादीत शब्द बोलेका छन् ।”
   सभामुख देवराज घिमिरेले हिंसा शब्दको प्रयोगबारे आफनो ध्यानार्कषण भएको उल्लेख गर्दै नियमित प्रक्रिया अगाडि बढाउन आग्रह गरे।
माओवादी केन्द्रका सचिव समेत रहनु भएका सांसद देवेन्द्र पौडेलले उक्त शब्द संविधान प्रतिकुल भएको भन्दै संसदको अभिलेखबाट फिर्ता लिन सभामुख घिमिरेसमक्ष अनुरोध गरे ।
    “सत्तापक्षमा रहेर बोलिरहनु भएका माननीयलाई खबरदारी गर्न चाहन्छु । यस प्रकारका शब्दको प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने अधिकार अहिलेको संविधानले दिँदैन”, सांसद पौडेलले भने ।
     यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै सदनमा नियमको उल्लङ्घन भइरहेको बताउनुभयो । उनले उक्त शब्द संसदको अभिलेखबाट हटाउन माग गरे। एमालेका सांसद रघुजी पन्तले सांसद भट्टराईले प्रयोग गर्नुभएको शब्द असंसदीय नभएको जिकिर गरे । रासस

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x