Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमसीए–नेपालद्वारा सीमापार प्रसारण लाइन निर्माण गर्न सम्झौता

एमसीए–नेपालद्वारा सीमापार प्रसारण लाइन निर्माण गर्न सम्झौता


काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट, नेपाल विकास समिति (एमसीए–नेपाल) ले १८ किमी सीमापार प्रसारण लाइन निर्माण गर्न सम्झौता गरेको छ । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाको एक महत्वपूर्ण अंशको रूपमा रहेको सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको हो ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसनबाट नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण सम्पन्न गर्नेगरी एक करोड २३ लाख ६० हजार अमेरिकी डलर लागतमा सम्झौता भएको एमसीए नेपालले जनाएको छ । कुल तीन सय १४ किलोमिटर प्रसारण लाइनमध्ये बाँकी दुई सय ९७ किलोमिटर प्रसारण लाइनका लागि यही वर्षभित्र पुनः बोलपत्र आह्वान गर्ने योजना रहेको छ । अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा शुक्रबार आयोजित एक समारोहमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद घिमिरेले निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२ दशमल ६० करोड अमेरिकी डलर बजेटयुक्त तीन वटा सबस्टेसनसहित यो १८ किमी प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्ने बताए । साथै, क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो सीमापार प्रसारण लाइन निर्माणले नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने महत्वपूर्ण सेतु रहेको बताए ।

एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौँ सफलतामध्ये एउटा रहेको उल्लेख गरे । यसले बृहद् दुई सय ९७ किमी लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने भएकाले यसको विशेष महत्व रहेको उनले बताए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झौताले प्रगतिको स्पष्ट सूचक देखाएको बताए । बृहद् प्रसारण लाइनबाट छुट्याइएको यस १८ किमी सीमापार अंश निर्माणले यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्न सरकारको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको उनको भनाइ थियो ।

एमसीए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनमा प्रवेशको पहिलो वर्षमा उल्लेख्य प्रगति गरेको बताइएको छ । एमसीसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरूपमा कार्यान्वयनको चरणमा गएको थियो । एमसीए–नेपालले पहिलो वर्ष विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति गरेको दाबी गरेको छ । एमसीए–नेपालका अनुसार यसअघि नै कुल १२ करोड ६० लाख अमेरिकी डलर लागतको तीनवटा चार सय केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता भएका छन् ।

त्यसैगरी विभिन्न १० जिल्लामा आठ सय ५६ वटा प्रसारण टावरका जग निर्माण गर्न जग्गा प्राप्तिमा प्रगति भएको एमसीए नेपालको दाबी छ । प्रसारण लाइन टावरको जग निर्माण गर्न एक सय चार हेक्टर जग्गा आवश्यक पर्नेछ । यो अवधिमा जग्गाको मुआब्जा निर्धारण गर्न नौवटा जिल्लामा मुआब्जा निर्धारण समिति गठन गरिएको, धादिङ, मकवानपुर र नवलपरासी पश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण गरिएको जनाइएको छ ।

सडक मर्मत आयोजनाअन्तर्गत सडक विभागको प्रयोगशाला स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिमलगायत सहयोग प्रदान गरिएको तथा धानखोलाबाट लमहीसम्म ‘फुल डेप्थ रिक्लेमेसन’ (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किलोमिटर सडक स्वीकृत भएकाले यसै वर्ष बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ ।

एमसीसी नेपाल कम्प्याक्टअनुसार परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भएको पहिलो वर्ष बितिसक्दा पनि जग्गा अधिग्रहण र मुआब्जा वितरण नसकिँदा तोकिएको समयभित्र काम सम्पन्न हुनेमा शंका उब्जाएको छ । एमसीए नेपालको पहिलो वर्षको बजेट खर्च पनि कम देखिएको छ । गत आर्थिक वर्षका लागि एमसीए नेपालले पाएको कुल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेर बाँकी ७० प्रतिशत समर्पण (सरेन्डर) गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

एमसीए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्नेगरी गत आवमा सरकारले १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेको थियो । एमसीए नेपालले चालू आर्थिक वर्षका लागि १३ अर्ब ३६ करोड बजेट पाएको छ । चालू आवका लागि एमसीसीको स्रोतबाट नौ अर्ब ९० करोड ८२ लाख र नेपाल सरकारको स्रोतबाट तीन अर्ब ४५ करोड १८ लाख बजेट विनियोजन भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x