Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘अर्थतन्त्र सुधारका लागि थप नीतिगत हस्तक्षेप गर्न सरकार तयार’

‘अर्थतन्त्र सुधारका लागि थप नीतिगत हस्तक्षेप गर्न सरकार तयार’


काठमाडौं,  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा सुधार गर्न सरकार थप हस्तक्षेप गर्नुपरे पनि तयार रहेको बताएका छन् । सरकार गठनपछि अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न तयार रहेको अर्थमन्त्री पौडेलले बताएका हुन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रमैत्री नीति लिएको दाबी गरे । सरकारले हस्तक्षेप गरेकै कारण पुँजीबजार र रियलस्टेटमा ऋण प्रवाह बढ्दै गएको बताए । उनले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न तयार रहेको बताए ।‘हाम्रो आर्थिक र वित्तीय सूचक सकारात्मक बन्दै गए पनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ, अर्थतन्त्र दबाबमै छ’, पौडेलले भन्ने, ‘केही समयअघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।’

आफूले चाहेजसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको पौडेलको भनाइ छ । मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताए । निजी क्षेत्र गुनासोभन्दा पनि सरकारलाई सहयोग गर्न लाग्नुपर्ने उनको भनाइ छ । ‘अब निजी क्षेत्र गुनासोबाट बाहिर आउनुपर्छ । सरकार तपाईँहरूका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ’, उनले भने, ‘निजी क्षेत्र लगानी बढाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।’ चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मकरूपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचक सहज बन्दै गएको बताए । ‘बाह्य क्षेत्र सहज हुँदै गएको छ । मुद्रास्फीति घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ’, गभर्नर अधिकारीले भने, ‘चालू आर्थिक वर्षबाट नयाँ ढङ्गले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगतरूपमा समाधान गर्दै जानेछौँ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको बताए । बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्नसक्ने उनको भनाइ छ । ‘बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थामा संस्थापक र ऋणी छुट्याउनुपर्ने भन्ने व्यवस्था संशोधनीय छ’, ढकालले भने, ‘अख्तियार र सतर्कता केन्द्रले निजी क्षेत्रको नियमन अनुगमन गर्ने व्यवस्था ल्याउँदा त्यसले थप समस्या पार्छ ।’ निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी चाँडो गरिनुपर्ने, भारतसँगका सीमा नाकामा हुने अवैध आयात तथा कारोबार रोकिनुपर्ने, भारतीय पर्यटकले नेपालमा बोक्न मिल्ने नगदसम्बन्धी व्यवस्था थप लचिलो बनाइनुपर्ने उनको माग छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ्न नसकेको बताए । ‘बाह्यक्षेत्र सन्तुलनमा छ । बजारमा तरलता पर्याप्त छ । ब्याजदर पनि घटेको छ । तर, अहिले आयात र निर्यात घेटेको छ । यसको अर्थ बजारमा माग बढ्न सकेको छैन भन्ने हो’, अध्यक्ष अग्रवालले भने । अर्थतन्त्र सुधारका लागि उत्पादन क्षेत्रमा सुधार गरी आन्तरिक माग बढ्नुपर्ने, सरकारको वार्षिक बजेट प्रभावकारी कार्यान्वयन हुनुपर्ने, लक्षित आर्थिक वृद्धिदर हासिल गर्नका लागि पुँजीगत खर्च बढाउनुपर्ने, निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी चाँडो हुनुपर्ने, दिगो पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने अग्रवालको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x