Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयूकेबाट इजरेल निर्यात हुने हतियारमा ‘आंशिक प्रतिबन्ध’

यूकेबाट इजरेल निर्यात हुने हतियारमा ‘आंशिक प्रतिबन्ध’


काठमाडौं, यूकेले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनका लागि प्रयोग हुन सक्ने “स्पष्ट जोखिम” देखिएको भन्दै इजरेललाई केही उपकरण र हातहतियार निर्यात गर्न रोकेको छ। ब्रिटेनका विदेशमन्त्री डेभिड ल्यामीले इजरेललाई निर्यातका लागि स्वीकृति दिइएका ३५० हतियारमध्ये ३० वटाको अनुमतिपत्र स्थगित गरिएको बताए। त्यसरी रोकिएका सामग्रीमा लडाकु विमान, हेलिकप्टर र ड्रोनका पार्टपुर्जा पनि छन्।

इजरेलका रक्षामन्त्री योआभ गालान्टले ‘एक्स’मा टिप्पणी गर्दै उक्त कदमप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने विदेशमन्त्री इजरेल काट्सले त्यसबाट हमास र इरानलाई मात्रै फाइदा पुर्‍याउने बताएका छन्।
यद्यपि ब्रिटिश विदेशमन्त्रीले इजरेलको आत्मरक्षाको अधिकारलाई यूकेले समर्थन गर्दै आएको जनाउँदै अहिलेको निलम्बन हतियार आपूर्तिमा “पूर्ण प्रतिबन्ध नभएको” बताए।इजरेलले अन्तर्राष्ट्रिय कानुनअनुसार काम गरेको दाबी काट्सको छ।

मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था एम्नेस्टी इन्टर्न्याश्नलका प्रमुख कार्यकारी साचा देशमुखले यूकेको निर्णय “साँघुरो र छिद्रैछिद्रले भरिपूर्ण रहेको” प्रतिक्रिया दिएका छन्।

“आजको निर्णयबाट मन्त्रीहरूले इजरेलबाट गाजामा युद्धअपराध भइरहेको हुनसक्ने स्वीकार गरेको देखिए पनि (सरकारबाट) गाजामा इजरेली फौजबाट भइरहेका युद्ध अपराध, जातिभेद र सम्भावित नरसंहारले निरन्तरता पाउने जोखिम छ।”यूके सरकार भन्छ ‘आंशिक प्रतिबन्ध’

ब्रिटेनका विदेशमन्त्रीले कैयौँ सांसद, वकिल र अन्तर्राष्ट्रिय सङ्गठनहरूले इजरेललाई हतियार निर्यात गर्न ब्रिटेनले दिएका अनुमतिपत्रबारे प्रश्न उठाएको बताए।

गत जुलाई महिनामा ब्रिटेनमा लेबर पार्टी सत्ता पुगेपछि ब्रिटेनले इजरेललाई दिँदै आएका हतियारबारे पुनरवलोकन प्रक्रिया अघि बढाएको उनको भनाइ छ।निर्यातको अनुमतिपत्रको पुनरवलोकन गर्नु सरकारको कानुनी दायित्व भएको तर्क गर्दै उनले अहिलेको “आंशिक प्रतिबन्ध”मा गाजामा जारी द्वन्द्वमा प्रयोग हुन सक्ने सामानहरू परेको बताए।

आफ्नो निर्णयको सारांशमा सरकारले गाजामा सहायता सामाग्रीप्रतिको इजरेली दृष्टिकोण र बन्दीहरूप्रतिको इजरेलको व्यवहारलाई निर्णयको प्रमुख कारण भनेको छ।

तर हतियार निर्यातको अनुमति निलम्बन गर्दा ब्रिटिश सरकारको चिन्ता कसरी निराकरण हुन्छ भन्ने चाहिँ त्यसमा खुलाइएको छैन।गाजामा आक्रमण गर्न इजरेलले प्रयोग गरिरहेका एफ३५ लडाकु विमानका कतिपय पार्टपुर्जा यूकेमा उत्पादन भइरहेका छन्। तर ती प्रतिबन्धमा परेका छैनन्। विश्वव्यापी कार्यक्रमअन्तर्गत ती विमानको उत्पादन भइरहेको छ।

यो निर्णयको सैन्यभन्दा बढी राजनीतिक अर्थ रहेको ठानिएको छ।

यूकेले गर्ने प्रतिरक्षा सामग्रीको कुल निर्यातमध्ये जम्मा एक प्रतिशत मात्रै इजरेलमा हुने गर्छ।

स्टकहोम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटका अनुसार सन् २०१९ देखि सन् २०२३ सम्म इजरेल पुगेका ६९ प्रतिशत परम्परागत हतियारहरू अमेरिकाबाट निर्यात भएका थिए।इजरेललाई आघात

ब्रिटेन अहिले पनि इजरेलको एउटा साझेदार हो। उसले आफूले निर्यात गर्ने कतिपय हतियार इजरेलले अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन गर्न प्रयोग गर्न सक्ने ठानेको छ।

यो घोषणा इजरेलका लागि आश्चर्यजनक होइन किनभने यो विषय विगतमा कन्जर्भेटिभ पार्टीको नेतृत्वमा सरकार रहँदा पनि उठ्दै आएको थियो। तर अहिलेको निर्णयबाट इजरेललाई आघात पुग्ने छ।

इजरेलका डायस्पोरासम्बन्धी मामिला हेर्ने मन्त्री आमिचाइ शिक्लीले ब्रिटेनले गरेको निर्णय गलत भएको भन्दै हमासले छ बन्धकको हत्या गरेलगत्तै यस्तो घोषणा गरिनु दुर्भाग्यपूर्ण रहेको बताए।हमासले बन्धकहरूको हत्या गरेपछि देशभित्र र अन्तर्राष्ट्रिय जगत्‌बाट इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई ठूलो दबाव परेको छ। उनले बन्धकहरूको उद्धार गर्न विफल भएकोमा माफी मागेका छन्।

हमासको नियन्त्रणमा रहेका बन्धकहरूको मुक्ति सुनिश्चित गर्न युद्धविराम हुनुपर्ने माग राख्ने व्यक्तिहरू अझै त्यसका लागि दबाव दिने पक्षमा देखिएका छन्।

इजिप्टसँगको गाजाको सीमामा नियन्त्रण कायम राख्ने नेतन्याहूको अडानलाई उनकै रक्षामन्त्रीले आलोचना गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेली प्रधानमन्त्रीले सम्झौताका लागि पर्याप्त काम गरिरहेको आफूलाई नलागेको बताएका छन्।बन्धकका परिवारले आह्वान गरेको हडताल र विरोधप्रदर्शनमा सोमवार हजारौँ इजरेलीहरू सहभागी भए।

‘द टाइम्स अफ इजरेल’का अनुसार प्रहरीले प्रधानमन्त्री नेतन्याहूको जेरुसलेमस्थित निवासबाहिर आयोजित एउटा कार्यक्रममा प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न ठूलो बल प्रयोग गरेको थियो।

त्यस क्रममा सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई लछारपछार पनि गरेको जनाइएको छ।

यसअघि आइतवारको विरोधप्रदर्शनमा लाखौँ मानिसहरू सडकमा निस्किएका थिए। तेल अभिभस्थित एउटा प्रमुख राजमार्ग अवरोध गर्दै उनीहरूले बन्धकहरूलाई छुटाउन माग गरेका थिए। हमासको चेतावनी

हमासले अक्टोबर ७ मा बन्धक बनाएका ९७ जनाको अवस्था अझै पनि अज्ञात छ।

हमासले इजरेलबाट सैन्य दबाव निरन्तर रहेमा बाँकी बन्धकहरू पनि “बाकस” मा फर्किने चेतावनी सोमवार दिएको छ।

हमासले बन्धकहरू राखिएका स्थाननजिकै इजरेली सैनिकहरू आएको खण्डमा चाल्ने कदमबारे जुन महिनामा नयाँ निर्देशन दिइएको जनाएको छ।

साथै उसले निरन्तर सैन्य बल प्रयोग गर्ने नेतन्याहूको हठ ती बन्धकहरूको मृत्युको कारण भएको पनि दाबी गरेको छ। इजरेल डिफेन्स फोर्स (आईडीएफ)ले शनिवार दक्षिण गाजाको रफाह क्षेत्रस्थित भूमिगत सुरुङमुनि छ जनाको शव फेला परेको जनाएको थिए। मृतकमध्ये पाँच इजरेली र एक अमेरिकी नागरिक थिए।

आईडीएफका अनुसार इजरेली सैनिकहरू घटनास्थलमा पुग्नु केही समयअघि मात्रै ती बन्धकको हत्या भएको थियो।

गत वर्ष अक्टोबर ७ मा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर लगेका थिए। तीमध्ये एक नेपालका विपिन जोशीसहित केही विदेशी नागरिक पनि थिए। हमासले गरेका आक्रमणमा परेर केही नेपाली नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो।

उक्त अनपेक्षित आक्रमणपछि इजरेलले गाजामा थालेको सैन्य कारबाहीमा परेर ४०,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको तथ्याङ्क हमासले गाजामा सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दिएको छ।

मृतकमध्ये महिला र बालबालिकाको सङ्ख्या उल्लेख्य भएको बताइएको छ।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x