ऋण रकम जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्न ‘आईएमएफ’को सुझाव
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई ऋण तथा अनुदानबाट प्राप्त हुने रकम जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्न सुझाव दिएको छ । आईएमएफको नेपालस्थित आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजले मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटी उक्त सुझाव दिएकी हुन् ।
‘नेपालमा जलविद्युत् र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना छ’, सान्चेजले मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलसँग भनिन्, ‘सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पुँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिन्छ । नेपालले त्यसमा ध्यान दिनुपर्छ ।’
नेपालले चालू आर्थिक वर्षको बजेटमा पनि सूचना प्रविधिसँगै जलविद्युत् र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । अहिले नेपालले विद्युत् उत्पादन बढाएर भारत निकासी गरिरहेको छ भने बंगलादेशलाई पनि बिजुली बिक्री गर्दै छ । यद्यपि आन्तरिक समस्याको कारण बंगलादेशले कहिलेदेखि बिजुली लैजाने भन्ने यकिन भइसकेको छैन । नेपालमा पर्यटकीय क्षेत्र धेरै भएको कारण वर्षौँदेखि नेपालमा बाह्य पर्यटक आइरहेका छन् । तर, पर्यटकका लागि धेरै सुविधाहरू दिन नसकेको कारण नेपालमा पर्यटकको बसाइ लामो हुन सकिरहेको छैन ।
नेपालमा हिमाल र प्रशस्त खोलानाला भएको कारण जलविद्युत्को सम्भावना बढी छ । अन्य वस्तु निर्यात गर्न नसके पनि बिजुली निर्यात गरेर वैदेशिक मुद्रा नेपालले सजिलै आर्जन गर्न सक्छ । त्यसो त पर्यटकीय क्षेत्र पनि प्रशस्त भएको कारण नेपालको वैदेशिक मुद्रा आम्दानीको अर्को क्षेत्र पर्यटन उद्योग हो । त्यही भएर लिएको सहयोग तथा ऋणको सदुपयोगका लागि जलविद्युत् र पर्यटन क्षेत्र नै उपयुक्त भएको आईएमएफको ठम्याइ छ ।
आईएमएफको सुझाव सुनेपछि उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरूमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको जानकारी गराएको अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
आईएमएफकी आवासीय प्र्रतिनिधि सान्चेजसँग अर्थ मन्त्रालयमा भएको भेटघाट र छलफलका क्रममा अर्थमन्त्री पौडेलले वर्तमान सरकारले सतर्कतापूर्वक ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने नीति लिएको जानकारी गराएका थिए । आईएमएफले प्रतिफल दिने क्षेत्रमा मात्र लगानी गर्न सुझाव दिँदै गर्दा अर्थमन्त्री पौडेलले पनि वर्तमान सरकारले प्रतिफल दिने आयोजनाबाहेक अन्यत्र लोकप्रियताका लागि मात्र बजेट नहाल्ने प्रतिबद्धता जनाएका थिए ।
अर्थमन्त्री पौडेलले नेपालका लागि विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–इसीएफ)को चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारमा प्रतिबद्ध रहँदै सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौँ समीक्षाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहकार्य गरेर अघि बढ्ने जानकारी गराएका थिए । नेपालले चालू आर्थिक वर्षको बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्य हासिल गर्नका लागि प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुको अर्को विकल्प छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया