Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएडिबीका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबीच भेटवार्ता

एडिबीका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबीच भेटवार्ता


काठमाडौँ । नेपालका लागि एशियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार भेटवार्ता गरेका छन् ।

उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो । भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिए । उनले आगामी दिनमासमेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे ।

एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री खड्काले निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताए । आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तरमन्त्रालय समन्वय गर्नसमेत सरकारले ध्यान दिने उनले बताए ।

मन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न एडिबीलाई आग्रह गरे । उनले नेपाल मध्यम आय भएको देशमा रुपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडिबीको साथ र सहयोग आवश्यक रहेको बताए ।

भेटमा एडिबीका प्रतिनिधि काउकोइसले एडिबीले नेपालको विकासको क्षेत्रमा लामो समयदेखि साथ र सहयोग दिँदै आएको बताउँदै एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आयोजना निर्माणमा देखिएका समस्याबारे मन्त्री खड्कालाई जानकारी गराएका थिए ।

भेटमा ऊर्जा विज्ञ प्रवल अधिकारी, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललगायतले ऊर्जा क्षेत्रको विकासका लागि एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x