‘सहरी विकासका लागि आवश्यक ऐन बनाउन सरकार सकारात्मक’
काठमाडौ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी क्षेत्रको विकासका लागि आवश्यक ऐन बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सहरी विकास विभागको नौ बुँदे ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री सिंहले आवश्यक ऐन निर्माण गरी कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।
समय परिवर्तन भएसँगै कतिपय पुराना ऐनहरू कायम रहेका भन्दै अब समयानुकूल ऐन बनाउने विषयमा सरकारले योजनाबद्धरूपमा काम गरिरहेको उनले जानकारी दिए । ‘विकास निर्माणलाई गति दिन आवश्यक ऐन बनाउने विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘ऐन बनाउने काम भए पनि कार्यान्वयनमा जान सकिएको छैन ।’ उनले सहरी विकास ऐन ल्याउने गरी मन्त्रालयले तयारी गरिरहेको जानकारी दिए । यस्तै, उनले गाउँमा पूर्वाधारको विकास भइरहेका उल्लेख गर्दै मानिस सहर केन्द्रित भएकाले क्रमलाई रोक्न मन्त्रालयले योजनाबद्धरूपमा काम गरिरहेको बताए । गाउँमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रमा सुधार गर्दै कृषि उत्पादनको बजारीकरणमा सरकार केन्द्रित रहेको उनको भनाइ छ ।
अहिले कांग्रेस र एमालेको संयुक्त सरकार बनेको भन्दै सहरी विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने सहरी विकासमन्त्री सिंहले बताए । एमाले सहरी विकास विभागले दिएको सुझावलाई अध्ययन गरेर गर्न सक्ने काम सरकारले गर्ने उनले प्रतिबद्धता जनाए । एमाले सहरी विकास विभागका प्रमुख शेरबहादुर तामाङले सर्वोच्च अदालतको पछिल्लो परमादेशले छ लाख नागरिक विस्थापित गर्ने अवस्था आएको भन्दै प्रकृतिको सन्तुलनलाई ख्याल गरी नागरिक विस्थापन नहुने मापदण्ड निर्धारण गर्नुपर्नेमा जोड दिए । उनले विद्यमान मापदण्डको पुनरावलोकन गर्नुपर्ने भन्दै सोका लागि कानुनी प्रबन्ध गर्न सरकार र मन्त्रीको ध्यानाकर्षण गराए ।
विभागले बुझाएको नौ बुँदे ज्ञापनपत्रमा सहरी विकास नीति २०८०, एकीकृत सहरी विकास ऐन, काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन र फोहरमैला व्यवस्थापन ऐन परिमार्जन गर्नुपर्ने उल्लेख छ । त्यस्तै, सर्वोच्च अदालतको काठमाडौं उपत्यकाभित्रका नदी किनारमा २० मिटरको मापदण्डका सन्दर्भमा भएको परमादेशको पुनरावलोकनका लागि कानुनी प्रबन्ध गर्न ध्यानाकर्षण गराइएको छ । सर्वोच्चको सो परमादेशबारे अध्ययन गर्न सहरी विकास मन्त्रालयका सहसचिव पदम मैनालीको संयोजकत्वमा बनेको कार्यदलले मङ्गलबार प्रतिवेदन बुझाउँदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया