Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाथिल्लो तामाकोशी आयोजनाको परीक्षण उत्पादन कात्तिकमा

माथिल्लो तामाकोशी आयोजनाको परीक्षण उत्पादन कात्तिकमा


सुबास बस्नेत
दोलखा, असार १७
दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । आयोजनामा बाइफोर्केसन र तेर्सो सुरुङमा पेनस्टक जडानको मात्र काम बाँकी रहेको छ । बाइफोर्केसन तथा तेर्सो पेनस्टक पाइपको जडान करिब २ महिनामा सम्पन्न हुने आयोजनाले बताएको छ ।

आयोजनाको पछिल्लो प्रगति प्रतिवेदनअनुसार असोज अन्तिमसम्म वा कात्तिकको पहिलो हप्तामा एउटा युनिटबाट परीक्षणको रूपमा ७६ मेगावाट विद्युत् उत्पादन हुने आधार तयार भएको छ । विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री जडान गरेर तयारी हालतमा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

आयोजनामा कुल छवटा विद्युत् उत्पादन गर्ने युनिट छन् । आयोजनाको महत्वपूर्ण सुरुङको रूपमा रहेको ५० मिटर लम्बाइको बाइफोर्केसन पाइपको जडान कार्य अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । सरकारले लकडाउन गरे पनि एकाध दिन बाहेक काम नरोकिएको आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल मानिएको दुई ठाडो सुरुङको काम लकडाउनको समयमा सम्पन्न भएको छ ।

आयोजनाका प्रवक्ता डा. न्यौपानेका अनुसार कुल छ सय ८३ मिटर लामो दुई ठाडो सुरुङमा पाइप जडानको काम पूरा भएको हो । आयोजनाको सबैभन्दा कठिन मानिएको तीन सय १० मिटरको माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम आइतबार सम्पन्न भएको हो । यस्तै तीन सय ७३ मिटरको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान भने गत महिनामा नै सम्पन्न भइसकेको थियो । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लागेको थियो । माथिल्लो सुरुङमा गत वर्ष असार १० गतेबाट भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङ तथा तल्लो सुरुङमा गत वर्ष असार १ गतेबाट अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले पेनस्टक जडान सुरु गरेका थिए । कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले लकडाउनको समयमा आफूलाई अब्बल साबित गरेको छ ।

तल्लो ठाडो सुरुङ र माथिल्लो ठाडो सुरुङलाई जोड्ने ३ दशमलव ७ मिटर स्लोप भएको सय मिटर लम्बाइको तेर्सो सुरुङमा पेनस्टक जडानको काम भने माथिल्लो ठाडो सुरुङमा पेनस्टक जडानको काम गरेको भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङलाई नै दिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । तेर्सो स्थानमा राखिने केही थान पाइप भारतको कोलकात्तामा छ । कोरोनाले भारतबाट ती पाइप आयातका लागि समस्या भएको आयोजनाले जनाएको छ । जलाशय, गेट, स्पटपलक, डिस्यान्डरलगायत हेडवक्र्सका संरचनाको परीक्षण गर्ने क्रममा रहेको आयोजनाले कोरोना त्रासका कारण बीचैमा रोकिएको थियो ।

आयोजनाले भूमिगत विद्युत् गृहमा गरेको सुख्खा परीक्षण यसअघि सफल भइसकेको छ । आयोजनाको लट–४ अन्तर्गत पर्ने २२०/१३२ केभीको डबल सर्किट ४७ किलोमिटर लामो प्रसारण लाइन भारतीय कम्पनी केईसी इन्टरनेसनल लिमिटेडले सम्पन्न गरिसकेको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । आयोजनाको रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशन को सिभिल संरचनाको काम करिब–करिब सम्पन्न भइसकेको छ भने उपकरण ढुवानीको काम भइरहेको छ । तर रोल्वालिङ डाइभर्सनको काम भने कोरोना त्रासका कारण मजदुर अभावलगायतका कारणले ठेकेदारहरूले अगाडि बढाउन नसकेको आयोजनाले बताएको छ ।

हालसम्म ४८ अर्बभन्दा बढी खर्च भइसकेको आयोजनामा डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्चलगायत कारण आयोजना समाप्त हुँदासम्म लागत ७२ अर्बभन्दा बढी पुग्ने अनुमान गरिएको छ । आयोजनामा लगानी गर्ने सेयरधनी १० लाख बढी छन् । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो । भूकम्प, नाकाबन्दी र कोरोना कहरसँग जुधेर आयोजनाले सम्पन्न हुने चरणमा पुगेको छ । यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करिब पाँच करोडबराबरको क्षति समेत नहुने थियो । सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव ६ प्रतिशतको हाराहारीमा पुगेको छ । आयोजनाले भने अब प्रगति मापन नगर्ने, काम सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया