Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहज समिति हज यात्राबाट बचेको रकम फिर्ता गर्ने

हज समिति हज यात्राबाट बचेको रकम फिर्ता गर्ने


काठमाडौं । नेपाल हज समितिले हज यात्राबाट बचत भएको रकम सबै यात्रुलाई फिर्ता गर्ने भएको छ । रकम फिर्ता गर्नका लागि समितिको सचिवालय सूचना जारी गरेको छ । समितिले यसपटक प्रतिव्यक्ति २३ हजार चार सय रुपैयाँ फिर्ता गर्ने भएको छ ।

समिति सचिवालयले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । समितिले हज यात्राका लागि प्रतिव्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो । तर अनुमान गरेभन्दा खर्च कम भएपछि रकम फिर्ता गर्न लागिएको हो । रकम फिर्ता गर्नका लागि हजयात्रीको खाता नम्बर टिपाउन सूचना जारी गरेको र नम्बर प्राप्त भएपछि अनलाइन भुक्तानी गरिने जनाइएको छ । यो वर्षको हज यात्राको लागि नेपालले १२ सय कोटा पाएको थियो । तर जम्मा सात सय ६४ जना मात्रै हज यात्रामा सहभागी भएको समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले बताए । आर्थिक मन्दीका कारण यो पटक हज यात्रामा कम व्यक्ति सहभागी भएको उनले बताए । हजमा यात्रामा दुई जना चिकित्सकको पनि सहभागिता थियो ।

त्यसैगरी हज समितिले आगामी वर्षको हज यात्राका लागि आवेदन माग गरेको छ । आगामी वर्षको लागि पनि नेपालले १२ सय कोटा प्राप्त गरेको छ । हज कमिटीका सदस्य सचिव झन्कनाथ ढकालका अनुसार साउदी अरबले सम्बन्धित मुलुकमा रहेका मुस्लिम समुदायको संख्याको आधारमा कोटा तोक्दै आएको छ । प्राप्त निवेदनको आधारमा हज यात्रामा जानेको सूची सार्वजनिक गरिने उनले बताए ।

त्यस्तै, आगामी वर्षको हज यात्राको अवधि छोट्याउने कमिटीको योजना रहेको छ । सामान्यता ४२ देखि ४४ दिनसम्म हज यात्राको अवधि हुन्छ । तर ३२ दिनमा पनि यसलाई छोट्याउन सकिने भए पनि यसलाई छोट्याउन खोजेको उनले बताए । त्यस्तै, समितिले हज यात्राको कार्यविधि संशोधन गरी हज यात्रीले जम्मा गरेको रकमबाट प्राप्त व्याजलाई आकस्मिक खर्चमा प्रयोग गर्न सकिने व्यवस्था गर्न लागेको छ । ‘यात्रामा विभिन्न समस्या हुन्छन् । अचानक पर्ने समस्याको खर्चका लागि हामीसँग छुट्टै बजेट हुँदैन’ सचिव ढकालले भने, ‘यता यात्रीले जम्मा गरेको रकमबाट केही ब्याज पनि आउछ । त्यसैले त्यो ब्याज रकमलाई आकस्मिक खर्चमा प्रयोग गर्ने गरी कार्यविधि संशोधन गर्न प्रस्ताव गरेका छौँ ।’

यस्तै, समितिले हज यात्रामा जाने यात्रुको लागि मेडिकल टिमको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ । हजको बसाइमा नेपालबाट जाने नेपालीलाई हावापानीका कारण स्वास्थ्य समस्या हुने भएकाले आफनै मेडिकल टिमको व्यवस्था गर्न समितिले आग्रह गरेको हो । साउदीको गर्मी र एसीको कारण नेपाली यात्रीलाई स्वास्थ्य समस्या हुने समितिका प्रवक्ता मिर्जा रासिद बेगले बताए । त्यसैले सहज र तत्काल उपचारका लागि मेडिकल टिम नै व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । हजको लागि साउदी जाने प्रत्येक मुलुकसँग छुट्टै मेडिकल टिम नै हुन्छ । यात्रु बस्ने अस्पतालमा प्रत्येक मुलुकले अस्पताल नै सञ्चालन गरेका हुन्छन् । तर नेपालले भने त्यस्तो केही व्यवस्थापन नगरेको उनले बताए । त्यसैले सरकारले पनि केही खर्च गरेरै भए पनि नेपाली हज यात्रीको लागि कम्तीमा पनि चार जनाको मेडिकल टिम र पर्याप्त औषधि उपकरणको व्यवस्थापन गर्न उनले सरकारसँग आग्रह गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x