Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसडक दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई आग्रह

सडक दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई आग्रह


काठमाडौ । नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्ताहरूले निरन्तर बढिरहेका सडक दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । यसबारे उनीहरूले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले सडक सुरक्षा ऐनको अनुमोदन, राष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन र अधिकार सम्पन्न सडक सुरक्षा परिषदको यथाशीघ्र गठनलगायतका माग राखेका छन् । साथै, देशको सडक सुरक्षाको दिगो समाधानका र केही तात्कालीक महत्वका सुझावहरू समेत पेस गरेका छन् । उक्त ज्ञापनपत्रमा सवारी साधनको फिटनेश टेस्टिङ सेन्टर र मोटर टेस्ट सर्टिफिकेसन व्यवस्था गर्ने, सार्वजनिक यातायातको सुधार गर्ने र गुणस्तर वृद्धि गर्ने, एकीकृत र वैज्ञानिक यातायात प्रणाली, दिगो सडक र सुरक्षित यातायात नीति पुनरावलोकन कार्यदल बनाउने, सडक सुरक्षासम्बन्धी राष्ट्र संघीय सन्धि तथा अभिसन्धिहरू अनुमोदन र कार्यान्वयन गर्ने, ड्राइभिङ स्कुलको क्षमता वृद्धि र नयाँ चालकलाई वैज्ञानिक प्रशिक्षण विधि अपनाउने, बसको बडीको गुणस्तर मापदण्ड निर्धारण र अटोल्यान्डको व्यवस्था, र देशभरका सडक सञ्जालको सुरक्षा म्यापिङ र अडिट गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

यसैगरी हाल सडक यात्रामा निरन्तर बढ्दो जोखिम र रक्तपात एवम् युवा जनशक्तिलाई देशमै रोजगार दिन तत्काल देशैभर सात हजार ट्राफिक प्रहरी वा यातायात निरीक्षक भर्ना गरी सम्पूर्ण क्षेत्रमा खटाउने, उच्च जोखिमयुक्त राजमार्ग र सहायक मार्गमा २४ घण्टा निगरानी हुने गरी सीसीटीभी राख्ने, लेन अनुशासन र अधिकतम गति सीमा अनुगमन गर्ने प्रणाली सुनिश्चित गर्ने, प्रमुख सहरहरूमा सवारी साधनको यान्त्रिक अवस्था जाँच केन्द्र स्थापना गर्ने, दुर्घटनाको उद्धार एवम् प्रतिकार्यको रणनीति र कार्यविधि प्रष्ट गरी तुरून्त कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।

यस्तै, विद्यालय, सडक र सवारी साधनको स्टार रेटिङ गर्ने, पैदलयात्रु, साइकल चालक, ह्वीलचियर र सेतो छडी प्रयोगकर्तालाई प्राथमिकता दिने कार्यविधि बनाउने, असीमित बीमा व्यवस्था र निःशुल्क कानुनी सहायताको व्यवस्था गर्ने, स्वास्थ बीमाले दुर्घटनाका क्षेत्र समेत समेट्ने कार्यविधि बनाउने, अन्तराष्ट्रिय ड्राइभिङ परमिट (आईडीपी) जारी गर्ने व्यवस्था र निकायको छनोट गर्ने र यातायात श्रमिककको उचित ज्याला, सामाजिक सुरक्षा र जीवनवृत्तिको व्यवस्था गर्न पनि माग गरिएको छ ।

दुर्घटना रोकथाम र सुरक्षा सुधारका लागि द्रूत र प्रभावकारी उपायहरू अवलम्बन गरेर सडक दुर्घटना कम गरेर देशको सडक यातायात सुरक्षित भएको प्रत्याभूति गर्न सकेमा नेपालमा पर्यटकहरूको थप आकर्षण भई देशको आर्थिक प्रगतिलाई विशेष टेवा पुग्ने उनीहरूको भनाइ छ । देशैभरका सडक मार्गमा सडकको अवस्था बिग्रेका कारण यातायात अवरूद्ध हुने, दुर्घटना हुने वा जोखिमपूर्वक यात्रा गर्न बाध्यता रहेको हुँदा भविष्यमा यस्ता घटना दोहोरिन नदिन दिगो सडक सुरक्षा प्रणाली अपनाउन उनीहरूले प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।

विगत १० वर्षको अवधिमा मात्रै प्रहरी तथ्यांकअनुसार करिब २४ हजार जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् । साथै, करिब ७२ हजारभन्दा बढी गम्भीर घाइते भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले नेपालमा एकै वर्षमा करिब आठ हजार पाँच सय जनाको सडक दुर्घटनाका कारण ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको भन्दै यसरी हजारौँ प्रत्यक्ष प्रभावितका परिवार र आफन्त गरी लाखौँ मानिसहरू सडक दुर्घटनाका पीडा लिएर बाँचिरहेको पीडादायी अवस्थातर्फ पनि ध्यानाकर्षण गराइएको छ । विश्व बैंकको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाका कारण कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब तीन प्रतिशत बराबरको वार्षिक क्षति भएको उल्लेख गर्दै यसको आर्थिक पक्षलाई पनि उनीहरूले स्मरण गराएका छन् ।

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली क्षेत्रीय कार्यालयद्वारा हालै सार्वजनिक गरिएको यस क्षेत्रका राष्ट्रहरूमा सडक सुरक्षाको स्थितिसम्बन्धी प्रतिवेदनले नेपालमा सडक यातायात, सडक दुर्घटना र सडक सुरक्षामा सुधारका सूचकहरूको दयनीय अवस्था उजागर गरेको छ । सो क्षेत्रीय प्रतिवेदनले सडक सुरक्षाका विश्वव्यापी १२ सूचकहरू (ग्लोबल रोड सेफ्टी पफमेन्स टार्गेट्स) को क्षेत्रीय तुलनामा नेपालको प्रगति सबै देशमध्ये निराशाजनक रहेको देखाएको छ । उक्त प्रतिवेदनअनुसार नेपालमा प्रति एक लाख जनसंख्यामा सडक दुर्घटनाबाट मृत्युको दर २८ भन्दा पनि बढी आकलन गरेको छ, जुन विश्वमै उच्च मृत्युदर हो । भारतलगायत छिमेकी देशहरूले सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटाइरहेको सन्दर्भमा नेपालमा भने विगत दश वर्षमा मृत्यु दर २५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले देखाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x