Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्व बैंकको नयाँ राष्ट्रिय निर्देशक नियुक्त

विश्व बैंकको नयाँ राष्ट्रिय निर्देशक नियुक्त


काठमाडौं, असार १८
विश्व बैंकले फारिस हदाद जर्भोसलाई नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । बुधबारदेखि नै लागू हुने गरी उनलाई उक्त जिम्मेवारी दिइएको हो । उनले काठमाडौं उपक्षेत्रीय कार्यालयमा आधारित रहने गरी विश्व बैंकको तर्फबाट यी तीन देशको नेतृत्व गर्नेछन् । यी तीन देशमा विश्व बैंकको पाँच अर्ब ५० करोड अमेरिकी डलरबराबरको चालू कार्यक्रम छ ।

अमेरिकी नागरिक जर्भोस सन् १९९६ अर्थात् विक्रम सम्वत् २०५२ सालदेखि विश्व बैंकसँग आबद्ध छन् । यसअघि उनले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धक भएर काम गरिसकेका छन् । कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असरहरुको सम्बोधन गर्न तीनवटै देशहरुले शीघ्र कदम चाल्नुपर्ने भएकाले उनको नियुक्ति गरिएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले नेपाल, माल्दिभ्स र श्रीलंकामा सरकारहरुलाई कुल ३५ करोड अमेरिकी डलरभन्दा बढीको कोभिड–१९ आपत्कालीन प्रतिकार्य परियोजनाअन्तर्गत सहयोग गरिरहेको छ । उक्त परियोजनाले यी तीनवटा देशहरुमा महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाई सुदृढ गर्न मद्दत गर्ने बताइएको छ ।

विश्व बैंकले कोभिड–१९ महाव्याधिका लागि जनस्वास्थ्यसम्बन्धी तत्काल आवश्यकताहरुको सम्बोधन गर्न दुई करोड ९० लाख अमेरिकी डलरबराबरको आपत्कालीन प्रतिकार्य परियोजनासहित नेपाल सरकारसँग सहकार्य भइरहेको जनाएको छ । विश्व बैंकका अनुसार कोभिड–१९ ले निम्त्याएका आवश्यकताहरुको परिपूर्ति गर्ने गरी विद्यमान पोर्टफोलियोका लगभग २० प्रतिशत परियोजनाहरुको पुनर्संचरना गरिएको छ ।

नेपालमा कोभिड–१९ को संकटको प्रभावकारी प्रतिकार्य गर्नका लागि राहत, पुनर्संरचना र पुनःउत्पादन योजना निर्माणका लागि सरकारलाई सहयोग गठन गठन गरिएको बहुपक्षीय विकास बैंकहरुसहितको सल्लाहकार प्यानलमा विश्व बैंक पनि एक सदस्यका रुपमा सामेल छ । यस्तै, पूर्वाधार, मानव विकास, वित्त र सुशासनलगायतका क्षेत्रमा २५ वटा सक्रिय परियोजना नेपालमा विश्व बैंकको सहयोगमा सञ्चालित छन् । ती परियोजनामा तीन अर्ब डलरबराबरको पोर्टफोलियो रहेको विश्व बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया