राजमार्ग र पुल पुनर्निर्माणमै स्रोतको अभाव
सडक-पुलमा मात्रै दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान
काठमाडौं । गत बिहीबारदेखि शनिबारसम्म परेको भारी मनसुनी वर्षा र त्यसपछि आएको भीषण बाढी, पहिरोका कारण भएको भौतिक क्षतिको पुनर्निर्माणको लागि गरिने बजेट व्यवस्थापनको कारण चालू आर्थिक वर्षका नयाँ विकासका काममा असर पर्ने भएको छ ।
आम्दानीभन्दा चालू खर्च बढी हुँदा चालू आव २०८१/०८२ मा विकास निर्माणका लागि कम बजेट विनियोजन गरिएकै बेला देशभर एकै पटक आएको बाढी र पहिरोको कारण पुराना सडक, पुलहरू बगाएको छ । अब नयाँ निर्माणभन्दा पनि पुराना पुनर्स्थापना गर्नुपर्ने बाध्यता सिर्जना भएको कारण नयाँ योजनाहरूका लागि थप बजेट जाने अवस्था छैन ।
‘नयाँ योजनामा थप बजेट पठाउने अवस्था छैन’, अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘बगेका राजमार्ग र पुल तथा अन्य भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माणको लागि कसरी बजेट जुटाउने भन्ने समस्या छ । अब राज्यको ध्यान पुनर्निर्माण र पुनस्र्थापनामा जान्छ ।’ पहिला एक/दुई जिल्लामा क्षति हुन्थ्यो र बगेको पुला तथा सडक तत्काल पुनर्निमाणका लागि पर्याप्त बजेट व्यवस्था गर्न सकिन्थ्यो तर अहिले ५० भन्दा बढी जिल्लामा एकै पटक क्षति पुगेको कारण पहुँचकै भरमा बजेट लैजाने अवस्था छैन ।
मोटरेवल पुल र सडक पुनर्निर्माणमै बजेट अर्थात् स्रोतको अभाव देखिँदा अन्य भवन तथा निजी क्षेत्रको पुनर्निमाणमा सरकारले कसरी र कहाँबाट स्रोतको व्यवस्थापन गर्छ भन्न सकिने अवस्था छैन । सडक विभागका अनुसार देशभर सडक, बेलिब्रिज र पुलतर्फ मात्रै दुई अर्ब ५२ करोड ५० लाख रुपैयाँको क्षति भइसकेको विवरण आएको छ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार सडकतर्फ २१ हजार पाँच सय किलोमिटर सडकमामा क्षति पुगेको छ । कतिपय ठाउँमा सडक पूरै बगाएको छ ।
त्यस्तै, विभिन्न ठाउँमा गरी करिब दुई सय मिटर बेलिब्रिज र चार सय १० मिटर लामो पुल बगाएको छ । बेलिब्रिज स्थापना गर्न २० करोड रुपैयाँ र पुल निर्माण गर्न ८२ करोड रुपैयाँ थप व्यवस्था गर्नुपर्ने छ । महानिर्देशक पोखरेलका अनुसार १४ वटा राजमार्गका ४२ स्थानमा सडक अवरुद्ध छ । अरनिको राजमार्ग, वीपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग, कालिगण्डकी कोरिडोरलगायतका सडक सोमबार साँझसम्म पनि अवरुद्ध छ ।
सुनकोशीको पुल खुर्कोट, सिन्धुरेटार र फेक्सिंगटार, अरनिको राजमार्गको लिपिङ पुल र इलाम माइपोखरी सडकको राते खुला पुल तथा लार्चा र हेवा खोलाको पुल बाढीले बगाएको छ । यी ठाउँमा पुल नहुँदा देशकै यातायात अवरुद्धजस्तै भएको छ ।
विभागका अनुसार वीपी राजमार्गको भकुन्डेबेसी–नेपालथोक खण्डका विभिन्न स्थानमा सडक पूर्णरूपमा बगाएको छ । करिब दुई किलोमिटर सडक पूरै बगाएको सडक विभागले सोमबार साँझ तयार पारेको क्षतिको विवरणमा उल्लेख छ । उक्त खण्डमा नयाँ ट्र्याक खोलेर मात्र वीपी राजमार्ग पूर्णरूपमा सञ्चालन गर्न सकिन्छ । त्यसका लागि समय लाग्ने सडक विभागले जनाएको छ । तर, कति समय लाग्छ एकिन गर्न विभागले सकेको छैन । वीपी राजमार्ग खुलाउन एक लोडर, पाँच ब्याकहो, एक एक्स्काभेटरबाट काम गराइएको छ । थप उपकरण पनि वीपी राजमार्गमा लगेर सडक खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ ।
यस्तै, कान्ति लोकपथको हेटौँडा–काठमाडौंं सडकको ठिङ्गन–वाग्मती खण्डको एक किलोमिटरमा उपकरणहरू परिचालन गरेर सडक खुलाउने प्रयास विभागले गरिरहेको छ । छपेली–बालुलासम्मको छ किलोमिटर सडकमा धेरै क्षति भएको छ । त्यसमा पूर्णरूपमा बगाएको सडकका लागि नयाँ ट्र्याक खोल्नुपर्ने भएकाले केही दिन लाग्ने पनि विभागले जनाएको छ ।
यस्तै, अरनिको राजमार्गको लिपिन पुन पुनःस्थापना गर्न समय लाग्ने भएको कारण नेपाल–चीन व्यापार अनिश्चितकालका लागि बन्द भएको छ । तातोपानी नाका पूर्णरूपमा अनिश्चितकालका लागि बन्द भए पनि रसुवागढी नाकासम्म पुग्ने गल्छी–त्रिशूली–बेत्रावती–धुन्चे–स्याफ्रुबेशी–रसुवागढी सडकको विभिन्न स्थानमा भएको अवरोध खुलाएर यातायात सञ्चालन गरिएको कारण उक्त नाकाबाट हुने व्यापार सुचारु हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 4
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया