Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि विकास बैंकको सफ्टवेयर ह्याक गर्नेहरू धमाधम पक्राउ

कृषि विकास बैंकको सफ्टवेयर ह्याक गर्नेहरू धमाधम पक्राउ


सुरेश राउत
काठमाडौं, असार २२
कृषि विकास बैंकको सफ्टवेयर ह्याकिङ प्रकरणमा पक्राउ पर्नेहरुको संख्या चार पुुगेको छ । महानगरीय अपराध महाशाखाले शनिबार साँझ सोही प्रकरणमा संलग्न रही फरार रहेका सौजन तामाङ पक्राउ गरेपछि उक्त संख्या चार पुुगेको हो । प्रहरीले यसअघि सोही प्रकरणमा श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालाई पक्राउ गरिसकेको छ । अझै पनि यस प्रकरणसँग मुुछिएका केही व्यक्तिहरु फरार रहेका छन् । प्रहरीले उनीहरुलाई खोजतलास गरिरहेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार सूचना प्रविधि प्रणालीमा अनधिकृत पहुँच राखी रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेको आधारमा पछिल्लोपटक प्रतिवादी तामाङ पक्राउ परेका हुुन् । कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्युरोड काठमाडौं समेतबाट आपराधिक समूहका व्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तीय प्रणालीमा अनधिकृत पहुँच राखी विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको र बैंकलाई हानि/नोक्सानी पु-याउने कार्यमा संलग्न रही फरार रहेको अभियोगमा धादिङ रुवीभ्याली गाउँपालिका वडा नं.२ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीय तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

उनका अनुसार तामाङलाई महाशाखाबाट खटिएको टोलीले शनिबार बेलुका अ. १७ः३० बजेको समयमा ललितपुर म.न.पा. वडा नं. ४ जाउलाखेलबाट पक्राउ गरेको हो । संगठित अपराध समेतका कसुरमा आवश्यक कारबाहीको लागि पक्राउ परेको तामाङलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पठाइएको छ ।

यसअघि गत वर्ष असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ अनधिकृतरुपमा रकमान्तर गरिएको थियो । सोपश्चात् यसरी रकमान्तर गरिएको रकमबाट नौ लाख ५० हजार रुपैयाँ भुक्तानी लिइएको थियो । सोही प्रकरणमा श्रवण कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाख रुपैयाँबराबरको चेक पेश गरेको अवस्थामा शंका लागी सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका व्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिहरुको समूहले बैंकको वित्तीय प्रणालीमा अनधिकृत पहुँच राखी चार करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएर बैंकलाई हानि/नोक्सानी पु-याएको सूचना महाशाखामा प्राप्त भएको थियो ।

सोपश्चात् महाशाखाबाट उक्त घटनाको अनुसन्धान गत वर्ष असोज ७ गते श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालाई पक्राउ गरिएको थियो । उनीहरुलाई संगठित अपराध समेतका कसुरमा अनुसन्धान कारबाहीको लागि परिसर काठमाडौं पठाइएको छ । हाल सबै सजाय भुक्तानीको क्रममा रहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको प्रणाली नै ह्याक गरी भ्रष्टाचार गरेको अभियोगमा आइतबार तत्कालीन शाखा प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाले बैंकमा जम्मा गर्नुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको, बैंकिङ प्रणालीमा प्रयोग गरिने व्यक्तिगत टेलर आईडी र अन्य प्राविधिक प्रणालीको दुरुपयोग गरी ५४ लाख ८४ हजार ४५ बराबरको रकम दुरुपयोग गरेको पाइएको छ ।

बैंकिङ कार्यालयको हिसाब अनधिकृतरुपमा खर्च गरी सरकारी स्रोतको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आयोगले आरोपी कोइरालाले हानि/नोक्सानी पु-याएको रकम असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यस्तै आयोगले कम्बल खरिदमा भ्रष्टाचार गरेको अभियोगमा राजदेवी नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गौरस्थित गिरधारीकुमार अग्रवालको पसलबाट ४ सय रुपैयाँ प्रतिथान मूल्य पर्ने कम्बललाई एक हजार २ सय प्रतिथानमा खरिद गरी हिनामिना गरेको पाइएको छ । सो नगरपालिकाले ४ सय ८ थान कम्बल खरिद गरेको थियो । आयोगले गरेको अध्ययनअनुसार कम्बल खरिदमा एक लाख १५ हजार ७ सय ८२ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले तत्कालीन निमित्त कार्यलय प्रमुख प्रमोदकुमार बर्मा, तत्कालीन लेखापाल वैद्यनाथ झा, लेखापाल रेणु यादव, कम्बल बिक्रेता गिरधारीकुमार अग्रवाल, वडा नं २ का अध्यक्ष सनुप महतोविरुद्ध समान रु एक लाख १५ हजार ८७२ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीहरुविरुद्ध बिगो असुल गरी कारबाही मााग गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया