Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाट छ जिल्ला अतिप्रभावित

कोरोनाबाट छ जिल्ला अतिप्रभावित


काठमाडौं, असार २२
कोभिड–१९ बाट छवटा जिल्ला अत्यधिक प्रभावित भएका छन् । छवटा जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेको सरकारले जनाएको छ । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् । ती जिल्लाका अधिकांश संक्रमित भारतबाट आएका हुन् । कामका लागि भारत गएका उनीहरु लकडाउन सुरु भएपछि नेपाल फर्किएका हुन् । केही भने भारतबाट आएका संक्रमितको सम्पर्कमा गएर संक्रमित भएका हुन् ।

यस्तै, आइतबार थप दुई सय ९३ जना कोभिड–१९ संक्रमित फेला परेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार ७ सय ८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरिका २५ प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्या संक्रमित भएको फेला परेको हो । आइतबार नै एक सय ३२ जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म छ हजार पाँच सय ४७ जना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ४१ दशमलव ५ प्रतिशत बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् । आइतबार मात्रै चार हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ । नौ हजार दुई सय तीन जना सङ्क्रमित आइसोलेसनमा रहेका छन् ।

यसैबीच, प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्केका छन् । कोरोना विशेष अस्पतालको आइसोलेसनमा दुई साताको निगरानीपछि ती स्वास्थ्यकर्मीको पुनः पीसीआर परीक्षणका क्रममा आइतबार नतिजा ‘नेगेटिभ’ आएको हो । कोरोनामुक्त चिकित्सकले एक सातापछि काममा खटिने बताएका छन् । कर्णालीमा यसअघि एक हजार दुई सय एक जना सङ्क्रमित कोरोनामुक्त भई घर फर्किसकेका छन् । कोरोना निको भएसँगै अब आइसोलेसनमा सक्रिय सङ्क्रमितको सङ्ख्या भने दुई सय ७३ रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया