Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा पानी हालियो

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा पानी हालियो


काठमाडौं, असार २२
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिले आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर अर्थात पानी हाल्ने काम भएको छ । मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन आइतबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने जानकारी दिइएको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी बितरणको प्रक्रिया सुरु गरिने बताए । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उदघाटन छिटै गरिने जानकारी दिईन् । मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरव बोध भएको उनले बताईन् ।

‘मेलम्चीबारे थुप्रै आशंकाहरु थिए । आम जनतामा निरासा थियो । मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ताहरु पनि थिए । तर, हामीले चुनौतीसँग जुध्यौं । ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो’, उनले भनिन् ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताए । उनले आयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उदघाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा बितरण गरिने जानकारी दिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारणले नेपालले सामना गर्नुपरेको चुनौति र लकडाउनका बावजुद पनि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले निर्धारण गरेका मापदण्डको अबलम्वन गर्दै मेलम्ची खानेपानी विकास समितिले निर्माण कार्यलाई निरन्तरता काम गरेको बताएको छ । सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी आयोजनाले सम्पन्न गरिसकेको छ । शुरुमा परीक्षणका लागि प्राविधिक मापदण्ड अनुसार प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिदै छ । सुरुङको सुरक्षा तथा संचालनका लागि प्रचलित अन्तरर्राष्ट्रिय मापदण्ड अनुरुप पानी प्रवाह गरिने छ ।

यसअनुरुप पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिएपछि पूर्ण भरिएको सुरुङलाई केही दिन यथास्थितिमा राखिने छ । त्यसपछि पानी भरिएकै दरमा सुरुङ्ग खाली गरी सुरुङको अवस्थाको पूर्ण परीक्षण गरिएपछि कुनै समस्या देखिएमा आवश्यकता अनुसार तिनको समाधान गरिने आयोजनाले जनाएको छ । त्यसपछि भने नियमित रुपमा पानी पथान्तरण गरी काठमाडौं उपत्यकाको वितरण प्रणालीको लागि उपलब्ध हुने छ ।

निर्माण सम्झौता अनुसार सुरुङका बाँकी कार्यहरु र पानी पथान्तरण गर्न आवश्यक वैकल्पिक संरचनाहरुको निर्माण निर्धारित समयमा सम्पन्न गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले निर्माण व्यवसायीलाई नियमित रुपमा आवश्यक सहजीकरण गरिएको समितिले बताएको छ ।

यसैगरि हेडवर्क्सको कार्यपनि २०७७ भित्र नै सम्पन्न गर्न सबै उपायहरुको अवलम्बन गर्दै आएको समितिको भनाई छ । पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रहरु साथै वाग्मती नदीमा कुनै पनि बेला पानीको वहाव बढ्नसक्ने भएकाले नदी किनारमा जादाँ विशेष सावधानी अपनाउन पनि आयोजनाले आग्रह गरेको छ ।

यसरी भयो मेलम्चीको सुरुवात : काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन सरकारले लामो समयदेखि बिभिन्न प्रयासहरु गर्दै आएको थियो । सरकारले वि.सं. २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरुको पहिचानका लागि अध्ययन कार्य थालेकोमा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीलगायत विभिन्न २२ वटा विकल्पहरु पहिचान गरेको थियो ।

वि.सं. २०४९ को तुलनात्मक अध्ययनबाट आर्थिक र प्राविधिक रुपमा उत्तम विकल्पको रुपमा मेलम्ची, याङ्ग्री र लार्के नदीहरुबाट दैनिक कुल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निश्कर्ष निकालेको थियो । प्रवेशमार्गलगायतका पूर्वाधार निर्माणका प्रारम्भिक कार्यहरु तथा आयोजनाको बिस्तृत डिजाइन सम्पन्न भएसंगै वि.सं. २०६६ देखि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका अन्तर्गत अम्बाथानबाट काठमाडौं उपत्यकाको सुन्दरीजलसम्म पानी प्रवाह गर्न करिब २७.५ किमि सुरुङ निर्माण कार्य चाईना रेलवे १५ व्युरो ग्रुप कर्पोरेसन र चाइना मेसेनरी ईन्डष्ट्री ग्रुप कर्पोरेशन ईन्ष्टिच्युट जेभी सँग ठेक्का सम्झौता गरिएको थियो ।

तर उक्त निर्माण व्यवसायीबाट सन्तोषजनक प्रगति हुन नसकेका कारण २०७० मा ठेक्का सम्झौता रद्द भएको थियो । त्यसपछि नियुक्त दोस्रो निर्माण कम्पनी इटालीको सीएमसीले सुरुङको ब्रेक थ्रू गरेको भएतापनि २०७५ पुष १ देखि एकतर्फी रुपमा निर्माणस्थल छाडेर हिडिेको थियो । इटालीको कम्पनीले छाडेर हिडेपछि मेलम्ची आयोजनाले ठेक्का रद्द गरी वैकल्पिक व्यवस्था गर्नु परेकाले आयोजना सम्पन्न गर्न थप ढिलाई हुन गएको हो । सुरुङको बाँकी काम एक वर्ष भित्रमा सम्पन्न गर्न समितिले तत्कालै द्रुत प्रक्रिया अपनाई चिनियाँ कम्पनी सिनोहाईड्रोसँग २०७६ असोज १२ मा सम्झौता गरेको थियो । त्यसैगरी हेडवक्र्स निर्माणको कार्य १५ महिनाभित्र सम्पन्न गर्ने गरी सोही कम्पनीसँग २०७६ असोज २४ गते अर्को छुट्टै सम्झौता पनि गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया