कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’
काठमाडौं । कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को सुरुवात गरिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सोमबार एक कार्यक्रमका बीच ललितपुरका गाईपालक कृषक गोविन्द घिमिरेलाई पहिलो बीमालेख जारी गरी बीमाको रियल टाइम सफ्टवेयरको सुरु गरेका हुन् । मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमाको रियल टाइम सफ्टवेयरको सुरुआत गरेको हो ।
बीमाको रियल टाइम सफ्टवेयरको सुरु गर्दै मन्त्री अधिकारीले चालू आर्थिक वर्षमा बीमाका लागि दुई अर्ब छ करोड रुपैयाँ बजेट रहेको जानकारी दिए । बीमाको माग बढी भएमा मन्त्रालयको अन्य शीर्षकको बजेटबाट पनि व्यवस्थापन गरिने उनले प्रतिबद्धता जनाए । बीमा गर्न चाहने सबै किसानलाई यसमा आबद्ध हुन पनि उनले आह्वान गरे । यस्तै, उनले आफूले कार्यभार सम्हालेको सय दिनमा भएका उपलब्धिका बारेमा पनि जानकारी गराए । मन्त्री अधिकारीले दूध किसानले जेठ मसान्तसम्मको दूधको भुक्तानी पाएको जानकारी दिए । बाँकी चार महिनाको भुक्तानी पनि छिटो दिने गरी पहल भइरहेको उनको भनाइ थियो । रासायनिक मलको समस्या कम गर्न सफल भएको, उखु किसानको भुक्तानी गरिएको जस्ता उपलब्धि यस अवधिमा मन्त्रालयले हासिल गरेको उनले बताए ।
उनका अनुसार असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षा र त्यसबाट आएको बाढीपहिरोका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा छ अर्बको क्षति भएको छ । धान, माछापालन, पशुपन्छी, खोर, सिँचाइ प्रणाली, भण्डारण गरिएको दानामा क्षति भएको उनले जानकारी दिए । यो वर्ष धान उत्पादन बढ्ने पूर्वअनुमान गरिएकामा बाढी पहिरोले धान उत्पादन घट्ने देखिएको उनको भनाइ छ । कृषि अनुदान सार्वजनिक गरिने सरकारबाट किसानले पाएको अनुदानको विवरण सार्वजनिक गर्न पनि मन्त्रालय लागिपरेको उनले कार्यक्रममा जानकारी दिए । यसका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । यो समितिले किसानलाई दिएको अनुदानको अध्ययन गरेर पुस्तिका बनाई सार्वजनिक गर्ने तयारी गरिरहेको उनले बताए । यसअघि प्रतिबद्धता गरिएको समयमा कृषि अनुदानको विवरण सार्वजनिक गर्न नसकिएको स्वीकार गर्दै उनले यसबाट पछि हट्ने पक्षमा मन्त्रालय नरहेको बताए ।
आफू मन्त्री भएपछि नै बीउविजन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत गराएको उल्लेख गर्दै उनले नफल्ने बीउविजनको बिक्री वितरण गर्नेलाई अब कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता पनि जनाए । आफ्नो खेत अधियाँमा दिएपछि खेत कमाउनेले ल्याएर रोपेको बीउमा बाला नलागेको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यस्तो बीउविजन बिक्री वितरण गर्नेलाई कारबाही गरिने बताए । थाक्रे गाउँपालिकाले वितरण गरेको मकैको बीउबाट मकै नफलेकाले यस्तो बीउविजन बिक्री गर्नेले अब कारबाहीबाट बच्न नसक्ने उनको प्रतिबद्धता थियो । बाँदरबाट किसानले पाएको दुःखको समस्या समाधान गर्न कृषि र वन मन्त्रालयका कर्मचारीलाई तालिम विदेश पठाइएको उल्लेख गर्दै मन्त्री अधिकारीले बाँदरबाट कृषि क्षेत्रमा परेको प्रभाव अन्त्य गर्न पनि मन्त्रालय लागिपरेको जानकारी दिए ।
मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बीमाप्रति विश्वास बढेकाले डिजिटल प्रविधिबाट पनि आवेदन गर्न सकिने गरी शुभारम्भ गरिएको बताए । गत वर्ष एक अर्ब ७३ करोड रुपैयाँ बीमाको भुक्तानीका लागि दाबी भएको उनले जानकारी दिए । बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले कृषि बीमाका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए ।
क्याटेगोरी : बीमा बजार, समाचार, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया