Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा भेन्टिलेटर बैंकको सेवा सुरु

नेपालमा भेन्टिलेटर बैंकको सेवा सुरु


काठमाडौं, असार २३
नेपालमा भेन्टिलेटर सर्भिसको सुरुवात भएको छ । सम्पूर्ण विश्व नै कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको अवस्थामा अति आवश्यक पर्ने भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्यमबाट उपलब्ध गराउने उद्देश्यका साथ भेन्टिलेटर बैंकको सेवा सुचारु गरिएको हो । नेपालमा भेन्टिलेटरलगायत अन्य स्वास्थ उपकरणको अभावले कोरोना भाइरससँगको युद्धमा डटेर लड्न कठिन हुने अवस्था आँकलन गरेर सेवा सुरु गरिएको हो ।

भेन्टिलेटर अभावले हाल सम्पूर्ण स्वास्थ्यजगत्मा निम्त्याएका र भविष्यमा समेत हुनसक्ने जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल विचारविमर्श गरी भेन्टिलेटर बैंकको स्थापना गर्नुपर्छ भन्ने निष्कर्षमा पुगी ‘नेपाल भेन्टिलेटर सर्भिस’ नामक परोपकारी संस्था स्थापना भएको हो । परोपकारी संस्थाको रुपमा स्थापना गरिएको नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उद्देश्य नेपालमा भेन्टिलेटरलगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैको ज्यान जोखिममा नपरोस् र दूरदराजका अस्पतालहरुसम्म यी उपकरणहरु सुलभ र सहज रुपमा उपलब्ध गराउन सकियोस् भन्ने रहेको छ । यस संस्थाले नेपालका सरकारी, सामुदायिक र निजी अस्पतालहरुमा भेन्टिलेटरलगायतका उपकरणहरु सर्वसुलभ रुपमा उपलब्ध गराउनेछ ।

कोभिड १९ महामारीको अवस्थामा नेपाल सरकारसँगको सहकार्यमा आवश्यक परेका स्थानहरु तथा फिल्ड हस्पिटलहरुमा यस संस्थाका भेन्टिलेटरहरु परिचालन गर्न सकिने गरी संस्थाले समन्वय गर्ने जनाएको छ । यस संस्थाले नेपालका औद्योगिक तथा व्यावसायिक गृहहरु, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न संघ/संस्था लगायतका मनकारी हृदय भएका व्यक्तिहरुलाई संस्थाको उद्देश्य पूरा गर्न हातेमालो गर्न आग्रह गर्ने र कोष खडा गरी सो कोषमा जम्मा भएको रकमलाई भेन्टिलेटर खरिद गर्न, भेन्टिलेटरको मर्मतसम्भार गर्न खर्च गर्नेछ ।

संस्थाको स्थापनापूर्व नै विभिन्न संघ, संस्था र व्यक्तिहरुले भेन्टिलेटरहरुलगायत नगद सहयोग समेत गरेका छन् । हाल यस संस्थासँग कोभिड १९ को लागि अति आवश्यक पर्ने मेकानिकल भेन्टिलेटरहरुसहित, हाइफ्लो न्याजल क्यनुला, बाइप्यापलगायतका ३० वटा उपकरणहरु जम्मा भइसकेका छन् । कोभिड १९ उपचारको लागि संसारभर अति प्रभावकारी देखिएको हाइफ्लो न्याजल क्यनुला नेपालमै पहिलोपटक यस संस्थाले उपलब्ध गराउने भएको छ । कम्पनिले थप उपकरणहरुको खरिद प्रक्रिया पनि सुचारु गरिसकेको जनाएको छ ।

संस्थाले आफ्नो कार्यालय स्थापना गर्नुका साथै आवश्यक अन्य प्रशासनिक कार्यहरु पनि सुरु गरिसकेको छ । यस संस्थाले भविष्यमा तीनै तहका सरकारसँग समन्वय गरी नेपालमा भेन्टिलेटरको सञ्चालन र व्यवस्थापन गर्ने उद्देश्य राखेको छ । कम्पनीले हाल प्रदेश नं ३ मा भेन्टिलेटरलाई केन्द्रीकृत गर्ने र कालान्तरमा नेपालका सातैवटा प्रदेशमा यसको शाखा विस्तार गरी सो प्रदेशलाई आवश्यक भेन्टिलेटर सोही प्रदेशकै शाखाबाट उपलब्ध गराउनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया