काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले तत्कालै वैदेशिक रोजगारमा जानेहरूलाई रोक्न सकिने स्थिति नरहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको ग्लोबल कन्क्लेभ २०२४ को ‘सुरक्षित व्यवस्थित मर्यादित वैदेशिक रोजगार र सामाजिक सुरक्षा’ सत्रलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आन्तरिक रोजगार व्यवस्थापन नगरेसम्म वैदेशिक रोजगार नरोकिने बताए । ‘हरेक वर्ष पाँच लाख मानिस नेपाली श्रम बजारमा आउँछन् । एक लाख मानिस रोजगार पाउँछन् । चार लाख बेरोजगार छन् । तिनीहरूलाई व्यवस्थित नगरेसम्म वैदेशिक रोजगार रोकिँदैन,’ उनले भने, ’रोजगार सिर्जना गर्नुपर्छ । राजनीतिक र प्रशासनिक संरचना स्थिर हुन जरुरी छ । जुन अहिले विस्तारै भइरहेको छ । अहिलेको सरकारलाई कुनै हालतमा छुट हुने स्थिति छैन । हरेक क्षेत्रबाट जनतालाई विश्वास दिनुपर्नेछ । हामी लागिरहेका छौंँ ।’
कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको बताए । ‘हामी पोलिसी डिपार्चरमा काम गरिरहेका छौँ । संरचनागत सुधारमा पनि गरिरहेका छौंँ, उनले भने । श्रम मन्त्रालयलाई वैदेशिक रोजगारी दिने हिसाबले बुझिएको भन्दै मन्त्री भण्डारीले आन्तरिक रोजगारीलाई समेट्नेगरी मन्त्रालयको पुनर्संरचनामा लागिरहेको बताए । मन्त्रालयभित्र आफूहरूले आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको पनि उनले जानकारी दिए । ‘यसले देशभित्र रोजगारीका सम्भावना हेर्छ । साथै, बाहिर गएकालाई कसरी ल्याउने, उनीहरूको सीप दक्षता पुँजी कसरी भित्र्याउने भनेर हेर्छ । रिटर्नीलाई पनि हेर्छ’, उनले भने ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐन पनि संशोधनको तयारीमा रहेको बताए । ‘ऐन संशोधनको तयारीमा छौँ । त्यसमा सामाजिक सुरक्षा, वैदेशिक रोजगार बोर्ड जोडिन्छ । सबै तयारी गरेका छौं,’ उनले भने । वैदेशिक रोजगार बोर्डलाई समसामयिक बनाउन समिति बनाएरै अध्ययन गरिरहेको उनले जानकारी दिए । सामाजिक सुरक्षा कोष श्रम सुरक्षाको बलियो संयन्त्र भन्दै मन्त्री भण्डारीले श्रमिकको जन्मदेखि मरणसम्मको अनुभूति दिनेगरी थप सुधार जरुरी रहेको बताए । यस्तै, उनले वैदेशिक रोजगारमा जाने श्रमिक कोही नजानेर ठगिएको र कोही धेरै जानेर ठगिएको बताए । ‘मलेसिया जाने मान्छे चर्को व्याजमा पैसा लिएर जान्छ । फर्किँदा केही हुँदैन । यो डेप्थ ट्रयाप हो । अर्को डेथ ट्रयाप छ । जानीबुझीकन थाहा पाएर पनि गएका छन् । युद्ध चलिरहेको रसिया गएका छन् । यो अवस्थाको पनि अन्त्य गर्नुपर्छ,’ उनले भने ।
खाडीबाट वैदेशिक रोजगारबाट फर्किएकामध्ये ३० प्रतिशत दीर्घ रोगबाट ग्रसित भइरहेको उनले बताए । धेरै कमाइ नहुँदा फर्किएर फेरि उपचार गर्न ऋण लिने अवस्था रहेको भन्दै मन्त्री भण्डारीले यसलाई व्यस्थित गर्नुपर्ने उल्लेख गरे । मन्त्री भण्डारीले श्रमिकलाई सीपयुक्त बनाउन हातेमालो जरुरी रहेको बताए । मन्त्री भण्डारीले नेपालीहरूले विदेश सिकेर आएको सीपलाई सम्बोधन गर्न सबै पालिकामा रोजगार सेवा केन्द्र स्थापना गरेको र त्यसबाट काम भइरहेको जानकारी दिए । ‘कति बेरोजगार छन्, कति वैदेशिक रोजगारमा, कति फर्केर आए, के सीप सिकेको छ, त्यसको लेखाजोखा गरेर रोजगारदातासँग जोड्छौँ । त्यसको लागि छुट्टै समिति बनाएर काम गरिरहेका छौं । यसलाई अन्तिममा आन्तरिक रोजगार महाशाखामा जोड्छौँ । रिटर्नीको पुँजीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्न काम गरिरहेका छौँ,’ उनले भने । यस्तै, उनले सरकार मर्यादित वैदेशिक रोजगारीका लागि एनआरएनएसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले नेपालमा वैदेशिक रोजगारीमा जाने प्रचलन दिनप्रतिदिन बढिरहेको बताए । वैदेशिक रोजगारमा जाने व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि एनआरएनएको सहयोग महत्वपूर्ण हुने उनको भनाइ थियो । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले वैदेशिक रोजगार पारदर्शी हुनुपर्ने बताए । ’श्रमिकलाई वैदेशिक रोजगारमा लाग्ने लागत कति हो र प्रिमियम(आम्दानी) कति हो भन्ने जानकारी छैन । तालिमलगायत आधारभूत सूचनाहरू पनि छैन । यहाँनेर ट्रान्सपरेन्सी र कम्युनिकेसनमा धेरै काम गर्नुपर्छ । एनआरएनले यसमा भूमिका खेल्न सक्छ,’ उनले भने । श्रमिकको जीवनचक्रमा आइपर्ने जोखिमलाई मध्यनजर गरेर सामाजिक सुरक्षा कोषमा व्यवस्था गरिएको उनले बताए ।
११ लाख ७० हजार सामाजिक सुरक्षा कोषमा आबद्ध भएको तर धेरैलाई त्यसबाट लिने फाइदाबारे जानकारी दिन नसकेको उनले बताए । एनआरएनएका पूर्वउपाध्यक्ष, टिबी कार्कीले वैदेशिक रोजगारीलाई मर्यादित बनाउन श्रम मन्त्रालयले कुनै निकायमा गैरआवासीय नेपाली संघको प्रतिनिधि राखिदिनुपर्ने बताए । सामाजिक सुरक्षा कोष निरन्तरता गर्ने हकमा नेपाल फर्किँदा वा परिवार बिरामी हुँदा राज्यले उपचार गरिदिनुपर्ने माग उनले गरे । ‘विदेशमा कमाएको रकम पुग्दैन । घर खेत बेच्नुपर्छ । त्यसैले कोषले नै व्यहोरिदिए हुन्थ्यो,’ उनले भने ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार ऐनका केही झन्झटिलो प्रक्रियाले नेपालीहरूले जोखिमपूर्ण श्रम यात्रा गरिरहेको बताए । ’कानुनी व्यवस्थामा हेक्का नराख्दा वैदेशिक रोजगार अमर्यादित भइरहेको छ,’ उनले भने । स्थायी सरकार नहुँदा पनि मर्यादित हुन नसकेको भण्डारीले बताए । ‘मन्त्रालयमा नेतृत्व फेरिरहँदा नीति स्थायी नहुने कुराले समस्या भइरहेको छ । हाम्रा माग सम्बोधन नहुँदा पनि अफ्ठेरो बाटोबाट गइरहेका छन्,’ उनले भने, ’कोभिड पछि विकसित राष्ट्रमा माग बढेको छ । मागपत्र प्रमाणिकरण गरौँभन्दा भइरहेको छैन । नीति सुधार नहुने, कानुनहरू परिमार्जन नहुँदा भारतको बाटो हुँदै अवैधानिकरूपमा जाने बढेको छ ।’
भण्डारीले करिब २५/३० लाख मानिस श्रमका लागि विदेशमा रहेको र स्पष्ट नीति नियम अभावको कारण असुरक्षित भइरहेको बताए । ‘एक सय ८६ देशमा नेपाली पुग्दा १२ देशमा मात्रै सम्झौता गरेर श्रमिक पठाएका छौँ । तर, त्यहाँ पनि सम्झौता कार्यान्वयन भएको छैन । यसमा काम गर्न सकेका छैनौँ । नीति बनाउनमा संवेदनशील भएर लागिरहेका छैनौँ,’ उनले भने । रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले आप्रवास नीतिमा छुटेको विषय रिटर्नी भएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया