Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधनगढी उपमहानगरको असारे विकास लकडाउनमै १५ करोड खर्च

धनगढी उपमहानगरको असारे विकास लकडाउनमै १५ करोड खर्च


सुरज बिस्ट
धनगढी, असार २८
धनगढी उपमहानगरपालिकाको चालू आर्थिक वर्षको बजेट खर्च न्यून छ । आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा पुँजीगत विकास खर्च जम्मा २६ करोड अर्थात् ३५ प्रतिशत मात्र छ । जसमध्ये लकडाउन अवधिमा मात्रै १५ करोड बजेट खर्च गरेको छ । चालूगत खर्च पनि सन्तोषजनक छैन ।

चालू आर्थिक वर्षमा १ अर्ब ५३ करोड बजेट विनियोजन गरेको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष सकिनै लाग्दा प्रशासनिक खर्च ८५ करोड र विकास खर्च २६ करोड भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले बताए । पुँजीगततर्फ जम्मा २६ करोड अर्थात् ३५ प्रतिशत मात्रै खर्च भएको छ । जबकि कर्मचारीकै तलब भत्तालगायतमा प्रशासनिकतर्फ ८५ करोड खर्च भइसकेको छ । पुँजीगततर्फ जसमध्ये लकडाउन अवधिमा मात्रै १५ करोड बजेट खर्च भएको उनले जानकारी दिए । कोरोना कहर र लकडाउनका कारण अपेक्षाकृत रूपमा काम हुन नसकेको उनको भनाइ छ ।

राजस्व संकलनको अवस्था पनि निकै दयनीय छ । १७ करोड ३० लाखको राजस्व संकलनको लक्ष्य रहे पनि हाल सम्म १३ करोड मात्रै राजस्व संकलन भएको प्रशासकीय अधिकृत सापकोटाले बताए । कोरोना व्यवस्थापनमा पनि उपमहानगरपालिका उदासीन देखिएको छ । राहत वितरणमा मात्रै ३ करोड र स्वास्थ्य सामग्रीमा हालसम्म ५ लाख खर्च भएको उनको भनाइ छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रणको कार्यालयले धनगढी उपमहानरपालिकाको बजेट खर्च अवस्था सन्तोषजनक नरहेको जनाएको छ । कार्यालय प्रमुख लक्ष्मी प्रसाद जोशीले यो बेला बजेट खर्चको अवस्था ८० प्रतिशत माथि हुनुपर्नेमा त्यो हुन नसकेको बताए । उनले भने, ‘आर्थिक वर्षको अन्त्यमा मात्रै काम गर्ने र भुक्तानी गर्ने वर्षौं देखिको परिपाटी छ, जसका कारण वर्षको अन्त्यमा भए पनि बजेट खर्चको चटारो चल्छ, उसो त यस वर्ष पनि अहिले बजेट सकाउने चटारो भने नचलेको हैन तर पनि जारी लकडाउनका कारण बजेट खर्च गर्नसक्ने अवस्था छैन ।’

तर उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले भने कोरोना भाइरस र लकडाउनका कारण अपेक्षाअनुसारको बजेट खर्च हुन नसकेको भन्दै बचाउ गरे । अन्य पालिकाको तुलनामा धनगढी उपमहानगरपालिकामा बढी काम भएर रकम खर्च भएको उनले दाबी गरे । थुप्रै योजनाहरूको काम भएर पनि भुक्तानी नभएकाले असार मसान्तसम्म बजेट खर्चको अवस्थाले गति लिने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया