Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘सरकारको सामर्थ्यले भ्याएसम्म सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्छ’

‘सरकारको सामर्थ्यले भ्याएसम्म सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्छ’


काठमाडौं, साउन २
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताएका छन् । कोभिड–१९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास पुगेका यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले महामारीका कारण प्रभावित भएका सवै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामर्थ्यअनुरुप समाधानमा अग्रसर रहने बताए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारीसम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताए । ‘कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुनपुगे । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ’, उनले भने, ‘सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिए हुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो । सार्वजनिक यातायात सञ्चालन गर्न के कस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्नेछ ।’ संसारभर कोरोना महामारीको संकट आएपछि सरकारको आर्थिक हैसियतमा पनि ह्रास आएको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या प्रस्तुत गरेका थिए । प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला, उपमहासचिव वसन्त भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका रामचन्द्र कार्की र नेपाल यातायात मजदुर संघका धर्मराज भण्डारी सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया