Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रत्यक्ष वैदेशिक लगानी साढे ४० अर्बले बढ्यो

प्रत्यक्ष वैदेशिक लगानी साढे ४० अर्बले बढ्यो


काठमाडौं, साउन ६
नेपालको उद्योग क्षेत्रमा गरिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई)मा साढे ४० अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (२०७५/०७६) असार मसान्तसम्मको तुलनामा गत आवको सोही अवधिमा नेपालको उद्योग क्षेत्रमा आएको एफडीआईमा ४० अर्ब ५१ करोड ८१ लाख रुपैयाँले बढेको उद्योग विभागले जनाएको छ ।

विभागका प्रवक्ता विनोद खड्काले लकडाउनभन्दा अघि आएको धेरै विदेशी लगानी तथा लकडाउनको अवधिमा समेत एफडीआई आएको हुँदा रकम बढी देखिएको बताए । विदेशी लगानीकर्ताका नेपालस्थित प्रतिनिधिहरुले समेत लकडाउन अवधिमा उद्योगमा लगानी गर्ने बताउँदै एफडीआई स्वीकृत गराएका उनको भनाइ छ । लकडाउनमा मात्रै एफडीआईस्वरुप ९५ करोड १२ लाख १२ वटा उद्योग स्थापनाका लागि लगानी स्वीकृत गराइएको थियो ।

गत आवको असार मसान्तसम्मको अवधिमा विदेशी लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा एफडीआईस्वरुप ७२ अर्ब २८ करोड ६१ लाख विभागबाट स्वीकृत गराएका छन् । उनीहरुले दुई सय २६ वटा उद्योग स्थापना गर्ने तथा ११ हजार दुई सय ११ जनालाई रोजगारी दिने लक्ष्यसहित सो लगानी स्वीकृत गराएका हुन् । त्यसैगरी अघिल्लो आवको सोही अवधिमा विदेशी लगानीकर्ताहरुले उद्योग क्षेत्रमा एफडीआईस्वरुप ३१ अर्ब ७६ करोड ८० लाख रुपैयाँ स्वीकृत गराएका थिए । उनीहरुले तीन सय ४२ वटा उद्योग र १४ हजार चार सय ७३ जनालाई रोजगारी दिने बताउँदै सो लगानी स्वीकृत गराएका हुन् ।

गत वर्ष असार मसान्तसम्मको अवधिमा सबैभन्दा बढी ऊर्जाजन्य उद्योगमा र सबैभन्दा कम कृषिजन्य उद्योगमा लगानी गर्ने बताएका छन् । उनीहरुले ऊर्जाजन्य उद्योगमा ३३ अर्ब १५ करोड ९४ लाख र कृषिजन्य उद्योगमा ५३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भन्दै विभागबाट एफडीआई स्वीकृत गराएका छन् । यसमध्ये आठवटा ऊर्जा र चारवटा कृषिजन्य उद्योग स्थापना हुनेछन् ।

त्यसैगरी गत आवको सोही अवधिमा सेवाजन्य उद्योगमा १२ अर्ब ५१ करोड ५० लाख, सूचना तथा प्रविधिमा ११ अर्ब ६५ करोड ४४ लाख, पर्यटनमा ११ अर्ब २४ करोड ३७ लाख र उत्पादनजन्य उद्योगमा तीन अर्ब १७ करोड ८५ लाख लगानी स्वीकृत गराएका छन् । उनीहरुले ७३ वटा सेवा, ३७ वटा सूचना तथा प्रविधि, ८१ वटा पर्यटन र २३ वटा उत्पादनजन्य उद्योग स्थापनाका लागि सो लगानी स्वीकृत गराएका हुन् ।

अघिल्लो आवको असार मसान्तसम्मको अवधिमा सबैभन्दा बढी पर्यटन र सबैभन्दा कम खनिजजन्य उद्योगमा लगानी प्रतिबद्धता आएको थियो । उक्त अवधिमा १२ अर्ब ३२ करोड ९८ लाख पर्यटन र एक करोड ८० लाख खनिजजन्य उद्योगमा लगानी भित्रिएको थियो । लगानीकर्ताहरुले एक सय ३० वटा र दुईवटा खनिजजन्य उद्योग स्थापना गर्नका लागि सो लगानी रकम स्वीकृत गराएका थिए ।

त्यसैगरी अघिल्लो आवको सोही अवधिमा उत्पादनजन्य उद्योगमा ११ अर्ब २७ लाख, सेवामा सात अर्ब १२ करोड ५२ लाख, सूचना तथा प्रविधिमा ८८ करोड २२ लाख र कृषिजन्य उद्योगमा ४० करोड ९२ लाख एफडीआई विभागबाट स्वीकृत गराएका थिए । उनीहरुले ६२ वटा उत्पादन, एक सय सात वटा सेवा, २४ वटा सूचना तथा प्रविधि र १७ वटा कृषिजन्य उद्योग स्थापना गर्नका लागि सो लगानी प्रतिबद्धता जनाएका थिए ।

नेपालको उद्योग क्षेत्रमा लगानी गर्ने विदेशी लगानीकर्ताहरुमा भारत, बेलायत, अष्ट्रेलिया, बंगलादेश, हङकङ, जापान, संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान अमेरिका, दक्षिण कोरिया, ब्रिटिस भर्जिन आइसल्याण्ड, सिंगापुरलगायतका मुलुकका लगानीकर्ताहरु रहेका छन् । उनीहरुले विशेषगरी नेपालको ऊर्जा, सिमेन्ट, सेवालगायतका उद्योगमा लगानीको लागि चासो दिने गरेका छन् । स्वदेशी लगानीकर्ताहरुले ऊर्जा, सिमेन्टका साथै पर्यटन, कृषि, सूचना प्रविधिलगायतका उद्योगीहरुमा लगानी गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया