Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली सेनाको लगानी रहेको बाल उद्यानमा समेत घोटाला

नेपाली सेनाको लगानी रहेको बाल उद्यानमा समेत घोटाला


धन बहादुर जप्रेल
कञ्चनपुर, साउन ७
भीमदत्त नगरपालिका र नेपाली सेनाको लगानीमा निर्माण गरिएको बाल उद्यानमा आर्थिक अनियमितता गरेको पाइएको छ । भीमदत्त नगरपालिका–१६ परखेडीमा ४५ लाख रुपैयाँको लागनीमा श्री सरस्वती बाल विद्यालयमा निर्माण गरिएको बाल उद्यानमा अनियमितता भएको पाइएको हो । बाल उद्यान निर्माण उपभोक्ता समितिले व्यापक भ्रष्टाचार तथा आर्थिक अनियमितता गरेको स्थानीय शिक्षा उद्यमी तिलकदत्त भट्टले दाबी गरेका छन् । ‘बाल उद्यानमा उपभोक्ता समितिले व्यापक भ्रष्टाचार गरेको छ,’ उनले भने, ‘उपभोक्ताका किर्ते हस्ताक्षर गरी नगरपालिकाबाट रकम भुक्तानी दिएको छ ।’

उपभोक्ता समितिले लागत स्टिमेटभन्दा कम काम गरेको उनी बताउँछन् । ‘समितिमा रहेका जिम्मेवार व्यक्तिहरू मिलेर लागतभन्दा कम काम गरेका छन्,’ उनले भने, ‘यहाँका अधिकांश उपभोक्तालाई झुक्याएर अनियमितता गरेको छ ।’ विदेशमा रहेका व्यक्ति र बाल उद्यान निर्माणमा संलग्न नभएका व्यक्तिहरूको किर्ते हस्ताक्षर गरेर उपभोक्ता समितिले नगरपालिकाबाट भुक्तानी लिएको स्थानीय बासिन्दा हिक्मत विष्टले बताए । ‘उपभोक्ता समितिले विदेशमा रहेका तथा काममा संलग्न नरहेका व्यक्तिहरूले काम गरेको भनेर भुक्तानी लिएको विवरण नगरपालिकामा पेश गरेको रहेछ,’ उनले भने, ‘मैले पनि १० दिन बाल उद्यान निर्माणमा काम गरेको हुँ, मलाई प्रतिदिन छ सय रुपैयाँ दियो तर नगरपालिकामा पेस गरेको विवरणमा प्रतिदिन सात सय ५० रुपैयाँका दरले रकम भुक्तानी लिएको र ३१ दिन काम गरेको देखाएको छ ।’

उपभोक्ता समितिका पदाधिकारीले विदेशमा रहेका सुरेन्द्र खडायत, जयसिंह नेगी, प्रकाश ऐडी, रमेश चन्दले ३१ दिनसम्म काम गरेको देखाएर १५ हजार पाँच सय रुपैयाँ भुक्तानी लिएको विवरण नगरपालिकामा पेस गरेको उनी बताउँछन् । ‘६/७ दिन काम गर्ने उपभोक्ताहरूलाई झुक्याएर हस्ताक्षर गर्न लगायो,’ उनले भने, ‘स्थानीयहरूले हस्ताक्षर गरेको कागजमा ३१ दिन काम गर्नुका साथै १५ हजार पाँच सय रुपैयाँ भुक्तानी लिएको देखाएको छ ।’ स्थानीय धनबहादुर धानुकले बाल उद्यान निर्माणमा ७ दिन काम गरेका थिए । तर, नगरपालिकामा पेस गरेको विवरणमा उनले ३१ दिन काम गरेर १५ हजार पाँच सय भुक्तानी लिएको उल्लेख छ । ‘मैले ७ दिन काम गरेको हुँ, मलाई उपभोक्ता समितिले छ सय रुपैयाँ प्रतिदिनका हिसाबले पैसा दियो,’ उनले भने, ‘मलाई चार हजार दुई सय दिएर बाँकी रहेको रकम उपभोक्ता समितिका पदाधिकारीले खायो ।’

बाल उद्यान निर्माण उपभोक्ता समितिले नगरपालिकामा पेश गरेको विवरणमा ६१ जनाले ३१ दिन काम गरी प्रत्येक उपभोक्ताले १५ हजार पाँच सय रुपैयाँ भुक्तानी लिएको देखिन्छ । तर, अधिकांश उपभोक्ताले आफूहरूले ३१ दिन काम नगरेको बताएका छन् । बाल उद्यान निर्माण आर्थिक अनियमितता नगरिएको उपभोक्ता समितिका सचिव राजेन्द्र चन्दले बताए । ‘हामीले आर्थिक अनियमितता गरेका छैनौँ,’ उनले भने, ‘कागजी पक्रिया पूरा गर्नका लागि केही व्यक्तिका नाममा किर्ते हस्ताक्षर गरी कागज मिलाएका हौँ ।’ मेसिनले काम गरेको ठाउँमा उपभोक्ताले काम गरेको देखाउनका लागि किर्ते हस्ताक्षर गरेको उनी बताउँछन् । ‘केही काम हामीले मसिनद्वारा गरेका थियौँ,’ उनले भने, ‘त्यो काम स्थानीयले गरेको देखाउन किर्ते हस्ताक्षर गरेका हौँ ।’

वडा कार्यालयमा तालाबन्दी : स्थानीयले भीमदत्त नगरपालिका–१६ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बाल उद्यान निर्माण समितिका पदाधिकारीलाई कारबाहीको माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उपभोक्तालाई झुक्याएर विकास निर्माणमा बदमासी गर्ने उपभोक्तालाई कारबाहीको माग गर्दै तालाबन्दी गरिएको स्थानीय तिलकदत्त भट्टले बताए । ‘विकास निर्माणका लागि आएको बजेट खानेहरूलाई कारबाही गरिनु पर्छ,’ उनले भने, ‘यहाँका स्थानीयहरूको किर्ते हस्ताक्षर गरेर विकास निर्माणको बजेट खाएको छ ।’

उपभोक्ता समितिका पदाधिकारीलाई कारबाही नहुँदासम्म तलाबन्दी यथावत राखिने उनको भनाइ छ । ‘जबसम्म बाल उद्यान निर्माण भएको भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गरिँदैन,’ उनले भने, ‘तबसम्म वडा कार्यालयमा लगाएको ताला खोल्दैनौँ ।’ नेपाली सेनाको २५ लाख र भीमदत्त नगरपालिकाको २० लाख लगानीमा सरस्वती बाल उद्यान निर्माण गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया