Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धिका लागि छलफल

नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धिका लागि छलफल


काठमाडौं, साउन ७
नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धिका लागि छलफल भएको छ । महासंघ र भारतीय परिसंघद्वारा संयुक्त रूपमा आयोजित नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धि विषयक व्यावसायिक वेबिनार छलफल कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले नेपाल–भारत आर्थिक व्यावसायिक सम्बन्ध विस्तारबारे बताएकी थिइन् ।

उर्जावान जनशक्ति र प्राकृतिक स्रोत साधन नै दुवै देशको सबैभन्दा ठूलो शक्ति भएकाले यसको समुचित उपयोगमार्फत समृद्धिको यात्राका लागि सहकार्यमा उनले विशेष जोड दिइन् । महासंघ र सीआईआईबीचको आपसी सम्बन्धको चर्चा गर्दै उनले दुवै संस्थाको सहकार्यबाट आपसी हितमा थुप्रै क्षेत्रमा सहकार्य र प्रतिफल समेत प्राप्त भएको बताइन् ।

कोभिडपश्चात् विश्वको आर्थिक परिदृश्यमै आमूल परिवर्तन आउने भन्दै उनले त्यसको तयारीका लागि आगामी दिनमा महासंघ र सीआईआई दुवै संस्थाबीचको सहकार्य अझ घनीभूत ढंगमा अगाडि बढनुपर्ने बताइन् । नेपालस्थित भारतीय राजदूतावासका द्वितीय वाणिज्य सचिव कपिध्वज प्रताप सिंहले महासंघ र सीआईआईबीच आपसी लाभका क्षेत्रमा आगामी दिनमा सहकार्यलाई अझ बढी सशक्त ढंगबाट लैजानुपर्ने बताए । त्यसका लागि भारतीय दूतावासका तर्फबाट सक्दो सहयोग हुने विश्वास समेत दिलाए ।

कार्यक्रममा सीआईआई साउथ एशिया कमिटिका सहअध्यक्ष एवं हाइड्रो बिजनेस जीएमआर ग्रुपका सीओओ हरविन्दर मान्चोले कोभिडबाट आर्थिक तथा सामाजिक जीवनमा अत्यन्त नकारात्मक असर परेको यथार्थता राख्दै कोभिडपश्चात्को आपसी आर्थिक सहकार्य, व्यापार तथा लगानी विस्तारका लागि रणनीति तय गर्न कार्यक्रमले सहयोग पुग्ने बताए ।

छलफल कार्यक्रममा भारतका तर्फबाट अशोककुमार प्रुष्टि, राकेश गउर, चैतन्य कागलकार, अन्कुल भट्टाचार्य र नेपालको तर्फबाट महासंघका कार्यकारिणी समिति सदस्य एवं निम्बसका व्यवस्थापन निर्देशक आनन्द बगारिया, एफक्यानका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डे र होटल संघ नेपालका अध्यक्ष सृजना राणाले पूर्वाधार, ऊर्जा, कृषि, उत्पादनमूलक र सेवा क्षेत्रमा विषयगत प्रस्तुति दिएका थिए ।

कार्यक्रमको अन्त्यमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले कार्यक्रमले दुवै देशबीच कोभिडपश्चात् आपसी सहकार्य एवं आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धनमा महत्वपूर्ण मार्गनिर्देश गरेको स्पष्ट पारे । साथै उनले महासंघ र सीआईआईबीच अहिलेको कठिन घडीमा निरन्तर संवादमा समेत जोड दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया