Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजुँगु स्वास्थ्य चौकी भवनमा गाउँपालिकाको अनुगमन, त्रुटि सुधार गर्न निर्देशन

जुँगु स्वास्थ्य चौकी भवनमा गाउँपालिकाको अनुगमन, त्रुटि सुधार गर्न निर्देशन


सुबास बस्नेत
दोलखा, साउन ८
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ मा बनेको नवनिर्मित्त स्वास्थ्य चौकी भवन गुणस्तरहीन भएको समाचार आर्थिक दैनिकमा प्रकाशित भएपछि विवादमा तानिएको नवनिर्मित स्वास्थ्य चौकी भवनको बुधबार गाउँपालिकाले अनुगमन गरेको छ । गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत लिलाबहादुर बस्नेतको नेतृत्वमा गएको गाउँपालिकाको प्राविधिक, सूचना अधिकृतलगायत छ जनाको टोलीले नवनिर्मित स्वास्थ्य चौकी भवनको अनुगमन गरेको हो ।

गाउँपालिकाले अनुगमन गर्दा प्राविधिकरूपमा त्रुटि भेटेको जनाएको छ । पानी चुहिने समस्या तत्काल नदेखिएको भए पनि झ्यालढोका र भवनको पेटीमा समस्या देखिएकाले तत्काल सुधार गर्न उपभोक्ता समितिलाई सुझाव दिएको गौरीशंकर गाउँपालिका निमित्त प्रशासकीय अधिकृत लिलाबहादुर बस्नेतले जानकारी दिए । केही दिनअघि नवनिर्मित भवनको गुणस्तरका विषयमा स्थानीय र वडाका जनप्रतिनिधिले प्रश्न उठाएका थिए ।

जुँगुका स्थानीयले नवनिर्मित भवन गुणस्तरहीन, पानी चुहिने, भवनको पूरै काम नसकी अनुगमन र सार्वजनिक सुनवाइबिना पालिकाले सबै रकम भुक्तानी गरेको यसअघि आर्थिक दैनिकलाई बताएका थिए । त्यसैगरी स्थानीयले भवन निर्माण सम्पन्न भए पनि भवनको पाटेसन वाल सिधा नभएको, झ्यालढोका नलाग्ने र भवनको छाना थाले भएकाले कोठाभित्र पानी चुहिनेलगायतको समस्या देखिएकोले उपभोक्ता समितिले पाल ओढाएर राखेको आरोप लगाएका थिए ।

अनुगमनमा गएको पालिकाको टोलीले भवन बनाउँदा उपभोक्ता समितिले स्थानीय निर्माण व्यवसायीलाई सहमतिमा भवन निर्माणको जिम्मा दिएको स्वीकार्दै सार्वजनिक सुनवाइ हुन बाँकी रहेको पनि बताएको छ । भवनमा ओढाएको पाल भवनमा लगाएको रङ पानीले बगाउने भएकोले लगाएको र झ्यालढोका नलाग्ने समस्या काठ पसाङ्गिएको कारण भएको अनुगमन टोलीको भनाइ छ । भवनभित्र छानाबाट पानी चुहिएको नभई झ्यालढोकामा देखिएको समस्याका कारण छर्के पानी भित्र छिर्ने गरे पनि अहिले त्यो समस्या सुधार भएको टोलिको दाबी छ ।

भवन अनुगमन टोलीले भवन निर्माणको काम अझै केही बाँकी रहेकाले तत्काल काम सकेर भवनको फिनिसिङ गर्न र भवनअघिपछि तथा दायाँबायाँ पेटी वाल लगाउन लगाएको छ । भवन निर्माणको काम बाँकी नै रहे पनि प्रदेश सरकार र पालिकाले लागत रकम भुक्तानी दिइसकेको छ । उक्त स्वास्थ्य चौकी भवन निर्माणको लागि वाग्मती सरकारको ५० लाख र गाउँपालिकाको ३० लाख रूपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिइसकेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया