Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुणस्तर चिह्न लिने उद्योग बढे

गुणस्तर चिह्न लिने उद्योग बढे


काठमाडौं, साउन ९
नेपाल नापतौल तथा गुणस्तर विभागले हालसम्म विभिन्न उद्योगबाट उत्पादित चार सय २१ वटा उत्पादनलाई गुणस्तर चिह्न प्रदान गरेको छ । स्वदेशी र विदेशी गरेर हालसम्म दुई सय ८२ वटा उद्योगबाट उत्पादित चार सय २१ वटा उत्पादन तथा सामग्रीलाई गुणस्तर चिह्न प्रदान गरेको हो ।
विभागका प्रवक्ता सूचना अधिकारी सञ्जीव कुमार ठाकुरले मापदण्ड पूरा गरी गुणस्तर चिह्न लिन आउने जो कोहीलाई सजिलै गुणस्तर चिह्न प्रदान गर्ने बताए । ‘स्वदेशी वा विदेशी जुनसुकै उद्योग होस्, हामीले निर्माण गरेको मापदण्ड पूरा गरेमा गुणस्तर चिह्न प्रदान गर्छौँ’, ठाकुरले आर्थिकसँग भने, ‘नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ अनुरुप उद्योगलाई सहयोग गर्ने गर्छौँ ।’

त्यसैगरी गत आवको असार मसान्तसम्मको अवधिमा ३२ वटा उद्योगले ५२ वटा गुणस्तर चिह्न लिएका छन् । जसमध्ये १२ वटा सिमेन्ट उद्योगले १२ वटा, १२ वटा ग्यास उद्योगले १२ वटा, सातवटा पीपीसी तथा यूपीभीसी उद्योगले सातवटा, पाँचवटा एचडीपीई पाइप उद्योगले पाँचवटा, तीनवटा रड उद्योगले तीनवटा तथा दुईवटा तार उद्योगले दुईवटा गुणस्तर चिह्न लिएका छन् ।

जसमध्ये ग्यास उद्योगहरुमा शक्ति ग्यास प्रालि, मेची ग्यास प्रालि, भेरी ग्यास प्रालि, नमस्ते ग्यास प्रालि, सिमेन्ट उद्योगहरुमा हेटौंडा सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट, मेघालय सिमेन्ट लिमिटेड, पाइप उद्योगहरुमा रिजाल्को फेनोलेक्स पोलिपार्क इन्डष्ट्री, हिलटेक प्लाष्टिक एण्ड पाइप इन्डष्ट्री पञ्चकन्या प्लाष्टिक प्रालि लगायतका छन् । त्यस्तै रड उद्योगहरुमा सिद्धि लक्ष्मी स्टिल्स प्रालि, हिमाल आइरन एण्ड स्टिल्स प्रालि, जिन्दल स्टिल एण्ड पावर लिमिटेड छन् । यीलगायत रङ, तेल तथा बिस्कुटलगायतका उद्योगहरुले समेत गुणस्तर चिह्न लिएका छन् । यसअन्तर्गत कुसुम ओयल इन्डष्ट्री र पोखरा फूड्स प्रालि छन् ।

उनले यो नै उत्पादनले गुणस्तर चिह्न लिन्छन् भन्ने निश्चित नहुने गरेको बताए । ‘सबै उद्योगहरुले गुणस्तर चिह्न लिँदैनन् र त्यो आवश्यक पनि छैन’, सूचना अधिकारी ठाकुरले भने, ‘उनीहरुले आफ्नो इच्छाबमोजिम तथा बजारमा परिचित गर्न वा फैलाउनलगायतका उद्देश्यले गुणस्तर चिह्न लिने गर्छन् । पछिल्ला वर्षहरुमा भने गुणस्तर चिह्न लिने उद्योगको संख्यामा वृद्धि भएको छ ।’

त्यसैगरी विभागले अघिल्लो आवको तुलनामा गत आवमा ३३ वटा बढी उत्पादनलाई गुणस्तर चिह्न प्रदान गरेको छ । अघिल्लो आवको सोही समयमा १६ वटा उद्योगबाट उत्पादित १९ वटा उत्पादनलाई गुणस्तर चिह्न प्रदान गरेको थियो । विभागले अघिल्लो आवमा खाने तेल, पाइप, सिमेन्ट, ग्यासलगायतका उत्पादनलाई गुणस्तर चिह्न प्रदान गरेको बताएको छ । विभागले करिब १० वटा ल्याबमार्फत उत्पादित वस्तुको नापतौल र गुणस्तर मापन गर्ने गरेको छ । नापतौलतर्फ मास, तापक्रम, भोलुम, प्रेसर र डाइभर्सन ल्याब रहेको छ भने गुणस्तरतर्फ फिजिकल, फुड, टेक्सटाइल, माइक्रोबाइलोजी तथा रासायनिक (केमिकल) ल्याब रहेको छ ।

विभागले स्वदेशीभन्दा पनि विशेष गरी विदेशबाट भित्रिने सामग्रीको अझै भन्नुपर्दा भारतबाट भित्रिने सामग्रीको नापतौल र गुणस्तर मापन गर्दै आएको छ । उपभोक्ताले प्रयोग गर्ने वस्तुहरुको गुणस्तर मापदण्डअनुरुप नहुँदा उनीहरु ठगिनुको साथै स्वास्थ्यमा समेत असर पर्ने हुन्छ । नापतौल उचित नहुँदा उपभोक्ता समेत मारमा पर्छन् । पछिल्लो समय भने गुणस्तर चिह्न लिनेमा स्वदेशीका साथै विदेशी सामग्री बढेको छ । विभागले आर्थिक वर्ष (२०७३/०७४) देखि विदेशमा उत्पादित वस्तुलाई समेत गुणस्तर चिह्न प्रदान गर्नथालेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया