Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार७१ जिल्लाका २४ हजार ९४ युवाले लिए पुनः श्रम स्वीकृति

७१ जिल्लाका २४ हजार ९४ युवाले लिए पुनः श्रम स्वीकृति


काठमाडौं, साउन ११
सरकारले पुनः श्रम स्वीकृति खुल्ला गरेसँगै वैदेशिक रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति लिने युवाहरुको संख्या वृद्धि हुँदै गएको छ । विदामा नेपाल आएका तथा करार र भिसा अवधि बाँकी रहेका युवाहरुलाई लक्षित गरी सरकारले असार दोस्रो सातामा पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । सोसँगै हालसम्म २४ हजार ९४ जना युवाहरुले वैदेशिक रोजगारीमा जानको लागि पुनः श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार ७१ जिल्लाका दुई सय ४० जना महिला तथा २२ हजार ५४ जना पुरुष गरी २४ हजार ९४ जना युवाहरुले वैदेशिक रोजगारीमा जानका लागि भन्दै पुनः श्रम स्वीकृति लिएका हुन् । विभागका अधिकारीहरुका अनुसार खाडी राष्ट्र, युरोप, अमेरिका, अफ्रिका तथा अन्य एशियाली मुलुक गरी ३१ वटा राष्ट्रमा काम गर्न जानका लागि पुनः श्रम स्वीकृति लिएका हुन् । श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी संख्या भने खाडी राष्ट्रमा जान चाहने युवाहरुको रहेको अधिकारीहरुको भनाइ छ । यसरी पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जान चाहने युवाहरुमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया, कुवेत, माल्टा, बहराइन, ओमान, पोल्याण्ड रहेका छन् ।

विदामा नेपाल आएका तथा करार र भिसा अवधि बाँकी रहेका युवाहरुमध्ये युएई जानको लागि पुनः श्रम स्वीकृति लिने युवाको संख्या सबैभन्दा धेरै अर्थात् एक सय ५२ जना महिला तथा एक हजार ३२ जना पुरुष रहेका छन् भने त्यसपछि क्रमशः कतार जानका लागि १६ जना महिला तथा तीन सय २१ जना पुरुष, मलेसियाका लागि १० जना महिला तथा दुई सय ६४ जना पुरुष, कुवेतका लागि १५ जना महिला तथा ६७ जना पुरुष, माल्टाका लागि १७ जना महिला तथा ३१ जना पुरुष, बहराइनका लागि चार जना महिला तथा ३८ जना पुरुष, ओमानका लागि ३९ जना पुरुष, पोल्याण्डका लागि पाँच जना महिला तथा २६ जना पुरुष रहेका छन् ।

त्यसैगरी दक्षिण कोरिया, जापान जानको लागि समेत युवाहरुले श्रम स्वीकृति लिएका छन् । १७ जना पुरुष दक्षिण कोरिया तथा तीन जना महिला तथा तीन सय चार जना पुरुषले जापान जानका लागि तयारी गरेका छन् । यस्तै खाडी र अन्य एसियाली मुलुकसहित युरोप, अमेरिका र अफ्रिकी मुलुकमा समेत काम गर्न जानका लागि पुनः श्रम स्वीकृति लिएका छन् । यसरी जर्मनी, फिनल्याण्ड, न्युजिल्याण्ड, क्यानडा, अमेरिका तथा अफ्रिकी मुलुक सेनेगलमा काम गर्न जाने भन्दै करिब ११ जना युवाले पुनः श्रम स्वीकृति लिएका छन् ।
यस्तै वैदेशिक रोजगारीमा जानको लागि पुनः श्रम स्वीकृति लिने युवाहरुमध्ये सबैभन्दा बढी नवलपरासीका युवाहरु दुई सय २९ जना, रुपन्देहीका एक सय ७५ जना, काठमाडौंका एक सय २६ जना, बाग्लुङ एक सय २१ जना, चितवन एक सय आठ जना, स्याङ्जाका एक सय दुई जना रहेका छन् ।

त्यसैगरी विदेशमा काम गर्न जाने भन्दै पुनः श्रम स्वीकृति लिनेमा दुर्गम जिल्लाहरु अछाम, अर्घाखाँची, बाग्लुङ, बैतडी, बाजुरा, बाँके, बाजुरा, दार्चुला, जाजरकोट, कालिकोट, महोत्तरी, रुकुम, सिन्धुली, सिन्धुपाल्चोकलगायतका करिब २३ हजार युवाहरु समेत रहेका छन् । सरोकारावालाहरुका अनुसार मुलुकमा पर्याप्त रोजगारी नभएकै कारण युवाहरु जस्तोसुकै अवस्थामा पनि कामका लागि विदेश जानुपर्ने बाध्यता रहेको छ । विशेष गरी दुर्गम जिल्लाका युवाहरु रोजगारीका अवसर ज्यादै न्यून हुँदा विदेश जानुपर्ने बाध्यता रहेको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया