Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुणस्तरहीन संरचना बनाउने कम्पनीलाई कारबाही गरिने

गुणस्तरहीन संरचना बनाउने कम्पनीलाई कारबाही गरिने


खोटाङ, साउन ११
खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेस्थित अर्खौले बजारमा निर्मित संरचनाको सपोर्टिङ वाल काम सकिएको केही दिनमै भत्किएको छ । उक्त वाल भत्किएपछि नगरपालिकाका मेयर इवन राईले दोषीलाई कारबाही गरिने बताएका छन् ।

करिब ४६ लाखको लागतमा निर्मित उक्त संरचनाको बाल निर्माणकार्य पूरा भएको केही दिनमा नै भत्किएपछि वस्तुस्थिति बुझ्न पुगेका मेयर राईले दोषीलाई कारबाही गरिने बताएका हुन् । नगरको सबैभन्दा पुरानो वडा नं. १० अर्खोलेमा अवस्थित सोमबारे हाटबजार मर्मतको लागि नगरले ४६ लाख ४४ हजार ६ सय ८६ रुपैयाँ ६१ पैसाको लागतमा सक्ने गरी सम्झौता गरेको थियो । अनिल मल्टि कम्पनी प्रालिले निर्माणको जिम्मा पाएको उक्त काम सम्पन्न भएको केही दिनमै भत्किएपछि त्यसको अवलोकन गर्न नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत स्थानीयहरू पुगेका थिए ।
अवलोकनपछि मेयर राइले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ’छानबिन समिति बनेको छ । दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति मिल्नेछैन । दोषीलाई कारबाही हुने नै छ ।’ यसभन्दा अगाडि नगरको सार्वजनिक सवारीसाधनको दुरुपयोग गर्ने प्राविधिक शाखाका कर्मचारी र सवारी चालकलाई निष्काशन गरिएको कुरालाई अवगत गराउँदै उनले आफ्नो कार्यकालमा गल्ती गर्ने जोसुकै भए पनि सजाएको भागिदार हुने र गल्ती गर्ने छुट कसैलाई पनि नभएको समेत बताए ।

त्यसैगरी उपमेयर विमला राईले सामाजिक सञ्जालमा आएका सकारात्मक सल्लाह र टिप्पणीलाई सकारात्मक रूपमा स्वीकार्दै छानबिन समिति बनेको र त्यसले छिटै सही निर्णय निकाल्ने बताएकी छिन् । उनले राज्यको स्रोत दुरुपयोग नहुने कुरामा सबैलाई ढुक्क हुन आग्रह समेत गरेकी छिन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छिन्, ‘केही दिनदेखि सामाजिक सञ्जालमा आएको सकारात्मक सल्लाह र केही नकारात्मक टिप्पणी अथवा जिज्ञासा स्वाभाविक हुन् । यसलाई हामी सकारात्मक रूपमा लिएका छौं । साथै भ्रष्टाचारको शून्य सहनशीलता आजको आवश्यकता हो । यो विषयमा हामी जिम्मेवार छौँ । केही दिनपछि यो सम्पूर्ण अवस्थाको यथार्थ विवरण हुने नै छ ।’

त्यसैगरी नगर प्रवक्ता रमेश राउतले यो ऐतिहासिक हाट व्यवस्थापनको कार्यक्रम नगरपालिकाले अघि सारेको र त्यो सम्पन्न पनि भइसकेको अवस्थामा यसको सपोर्टिङ वाल भत्किनुमा विभिन्न कारण रहेको बताए । उनले भने, ‘भारी वर्षासँग माथिबाट आएको भलको उचित व्यवस्थापन नहुनु, मध्यपहाडी राजमार्ग निर्माणको क्रममा मुआब्जा खाइसकेका स्थानीय केही व्यापारीले जग्गा छोड्न अटेर गरेपछि सपोर्टिङ वालको जग नपुग्नु, निर्माणको क्रममा प्राविधिकहरूको प्रभावकारी सुपरिवेक्षण नहुनु, नगरपालिकाले नियमित अनुगमनका क्रममा प्राविधिक र ठेगेदारको भर पर्नु नै सृजित परिस्थितिको कारण हो । घटनाको उचित छानबिन गरी दोषीलाई कारबाही गर्दै सम्बन्धित ठेकेदार तथा निर्माण कम्पनीबाट नै निर्माण सम्झौताको शर्तबमोजिम पुनः काम गराइनेछ ।’

यो ऐतिहासिक हाटलाई पुनर्जीवन दिने नगरपालिकाको योजना, निर्णय र त्यसको व्यवस्थापनको सवालमै विमति राख्ने अनि मुआब्जा खाइसकेको जग्गामा बसेर व्यापारिक लाभ लिइरहेका केही व्यक्तिले यसलाई नकारात्मक अफवाहका रूपमा फैलाएर विषयलाई विभिन्न रङ दिने चेष्टा गरिरहेको प्रति नगरपालिका सचेत रहेको समेत प्रवक्ता राउतले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया