Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुुद्दाका फरार अभियुक्त महर्जन पक्राउ

बैंकिङ कसुर मुुद्दाका फरार अभियुक्त महर्जन पक्राउ


काठमाडौं, साउन १२
बैंकिङ कसुर मुद्दामा फरार राजेन्द्र कुमार महर्जन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार कृष्णभक्त महर्जनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेन्द्र कुमार महर्जन भएको बैंकिङ कसुर मुद्दामा ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई आइतबार पक्राउ गरिएको हो ।

सीआईबीका अनुसार उच्च अदालत पाटनको २०७६ माघ २० गतेको फैसलाले काठमाडौं का.म.न.पा. वडा नं. १४, कलंकी घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा ४, इमाडोल बस्ने महर्जनलाई १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार रहेका उनलाई आइतबार कलंकी, काठमाडौंबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका महर्जनलाई फैसला कार्यान्वयनको लागि आइतबार नै ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार प्रतिवादी महर्जनले आफ्नो नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नम्बर ०५२०५०५००६३९३० को खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्याएर २०७५ भदौ ५ गते बैंक चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम फैसला भएको थियो ।

अमेरिका लैजाने प्रलोभन पारेर ठग्ने दुुई युुवती पक्राउ : अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुुई जनालाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका २ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् ।

घटनाको अनुसन्धान गर्न उक्त महाशाखाबाट खटिएको प्रहरीले विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटकमार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको, बिहे गरेपश्चात् अमेरिका लैजाने भन्ने प्रलोभन दिई उनीहरुले छ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेपछि रुपन्देही बुटवलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी शुुक्रबार पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न बहानामा पटकपटक गरी पाँच लाख रुपैयाँ ठगी गरेको तथा शर्माले भक्तपुरको एक पीडितको छोरीसँग मितेरी लगाई अमेरिका लैजान्छु भन्ने विश्वास दिलाई एक लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । निक्की पौडेलको नाममा फेक आईडीबाट फिल्म क्षेत्रका व्यक्तिहरुलाई समेत आफूसँग बिहे गरेमा अमेरिका लैजाने भनी ठगी गर्न खोजेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । उनीहरुलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको महाशाखाले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया