Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमसीसीलाई लिएर उद्योगमन्त्री भट्टलाई ‘टाउको काट्ने’ धम्की

एमसीसीलाई लिएर उद्योगमन्त्री भट्टलाई ‘टाउको काट्ने’ धम्की


काठमाडौं, साउन १६
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)सँगको सम्झौतालाई लिएर धम्की आएको छ । बिहीबार उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भट्टले एमसीसीको विषयलाई लिएर आफूलाई बझाङबाट धम्की आएको बताएका हुन् । ‘बझाङबाट एक युवाले फोन गरी मलाई एमसीसी पास गरेमा तेरो टाउको काटिन्छ भने’, उनले आफूलाई आएको धम्कीबारे समितिमा भने, ‘अनि मैले जवाफमा एमसीसी पढेका छौ कि छैनौ ? भनी प्रश्न गर्दा ती युवाले आफूलाई पढ्ने काम मेरो होइन, पढ्ने जिम्मा तेरो हो भनी जवाफ दिए ।’

उनले युवाले प्रयोग गरेकै भाषा प्रयोग गरी बैठकलाई जानकारी गराएका थिए । मन्त्री भट्टले एमसीसी पास गर्न नहुने मनसायका साथ युवाले फोन गरेको बताए भने फोन गर्ने युवा को रहेको किन गरेको लगायतको विषयमा भने केही पनि बताएका छैनन् । सो विषयमा अनुसन्धान भए/नभएको विषयमा उनले केही बोलेनन् । त्यसैगरी बैठकमा उपस्थित अन्य सांसदहरुले समेत एमसीसीको विषयलाई लिएर धम्की आउने गरेको बताएका छन् ।

सत्तारुढ दल नेकपाभित्र एमसीसीलाई लिएर मतविभाजन भइरहेको छ । हाल संसदमा एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषय विचाराधीन अवस्थामा छ । सरकारले चालू आर्थिक वर्षको बजेट अधिवेशनमा एमसीसी सम्झौता अनुमोदन गर्ने भने पनि उक्त सम्झौता अनुमोदन हुनसकेको छैन । सन् २०१७ को सेप्टेम्बरमा नेपालले एमसीसी अनुदान सम्झौता स्वीकार गरी परियोजना अघि बढाउने सम्झौता गरेको थियो ।

करिब ५५ अर्बको सो सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन जी नासले हस्ताक्षर गरेका थिए । २०१९ सेप्टेम्बरमा कार्यक्रम कार्यान्वयन सम्झौता (प्रोग्राम इम्लिमेन्ट एग्रिमेन्ट) गरिएको थियो । यसमा नेपालका तर्फबाट अर्थमन्त्री युवाराज खतिवडा र एमसीसी कम्प्याक्ट अपरेसन विभागका उपाध्यक्ष एन्थोनी वेलचरले हस्ताक्षर गरेका थिए ।

सरकारले सम्झौता अनुमोदनका लागि भन्दै २०७६ असारमा प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराएको थियो । २०७७ असार १६ गतेबाट सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी कार्यान्वनयमा लैजाने प्रतिबद्धता नेपाली पक्षले गरे पनि सत्तारुढ दलभित्रकै विवादको कारण अघि बढ्न सकेन । सत्तारुढ दल तथा प्रतिपक्ष नेपाली कांग्रेसभित्र नै एमसीसी सम्झौतालाई लिएर मतभेद भए पनि बाहिर देखिने गरी आएको छैन । त्यस्तै जनस्तरबाट समेत उक्त सम्झौताको विरोध भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया