Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक

प्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक


काठमाडौं, साउन १६
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष प्रचण्डले व्यक्त गरेका विचारहरु विभिन्न ४२ शीर्षकहरुमा समेटिएका छन् ।

संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजानसक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउनसक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउनसक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता मुद्दालाई संस्थागत गर्ने नयाँ संविधानको ‘कोरियोग्राफर’को भूमिका खेल्दा भोग्नुपरेका उथलपुथलकारी परिघटनाबारे पुस्तकमा उल्लेख छ । २ सय ४० बर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ । सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिँड्नसक्ने, प्रतिपक्षमा रहँदा सत्ता पक्षसँग मिल्नसक्ने लचकदार र समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताको रुपमा खेलिएको भूमिका पुस्तकमा पाइन्छ ।

विभिन्न राजनीतिक शक्तिहरुबीच भएका संघर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवम् रुपान्तरणका अनेक प्रयास यसमा अभिलिखित छन् । प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तकमा ३ सय ८५ पृष्ठहरु रहेका छन् भने यसको मूल्य ५ सय रुपैयाँ रहेको छ । पुस्तक राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरहरुका पुस्तक पसलहरुमा उपलब्ध हुने प्रज्ञा स्मृति प्रतिष्ठानले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया