Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजुँगुमा पहिरोको एक वर्ष : अझै पाएनन् पीडितले राहत

जुँगुमा पहिरोको एक वर्ष : अझै पाएनन् पीडितले राहत


सुबास बस्नेत
दोलखा, साउन १८
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुमा ठूलो जनधनको क्षति हुने गरी पहिरो गएको एक वर्ष पूरा भएको छ । गत वर्ष साउन १८ गते आएको अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोमा परी सोही वडाका २ जना बेपत्ता भएका थिए भने ११ घर पहिरोमा पुरिएका थिए । तत्कालीन जोखिमको समयमा संकट व्यवस्थापन गर्न विभिन्न सहयोगी दातले दिएको रकम एक वर्ष बितिसक्दा पनि पहिरो पीडितको हातमा पुग्नसकेको छैन ।

वडाले सिङ्गो गाउँ नै सुरक्षित ठाउँमा बस्ती स्थान्तरण गर्ने भन्दै अहिलेसम्म उठेको सहयोग रकम बैंक तथा सहकारीमै रोकेर राखेको पीडितले गुनासो गरेका छन् । तत्कालीन समयमा वडा नम्बर १ र २ का पहिरो पीडितको लागि स्वदेश तथा विदेशबाट जम्मा भएको १७ लाख ३८ हजार रुपैयाँ रकम पीडितको हातमा पुग्नसकेको छैन । पीडितको नाममा स्वदेशी तथा विदेशी दाता र जिल्लाका वित्तीय संस्थाले १७ लाख ३८ हजार रुपैयाँ सहयोग गरेका थिए ।

सहयोगबापत जम्मा भएको उक्त रकम एकीकृत बस्ती बनाउने भन्दै वडा नम्बर १ र २ वडा अध्यक्षले आफ्नो नाममा सहकारी तथा बैंकमा संयुक्त खाता खोली राहत कोष स्थापना गरेका थिए । १७ लाख ३८ हजार रुपैयाँमध्ये करिब आठ लाख रकम पहिरोले थुपारेको माटो पन्छाउन, डोजरमा प्रयोग गरेको रकम तिर्न, तेल भाडा तथा पहिरो निरीक्षणमा आएका व्यक्ति खाना खुवाउँदा रकम खर्च भएको वडा नम्बर २ का वडा अध्यक्ष बसन्त कार्कीले बताए ।

राहत कोषबाट खर्च भएको रकम पालिकाबाट गत आर्थिक वर्षमा विनियोजन भएको आठ लाख रुपैयाँ शोधभर्ना गरी राहतकोषमा जम्मा भइसकेको कार्कीले बताए । उनले तत्कालीन अवस्थामा सांसदसहितको बैठकले एकीकृत बस्ती बनाउने निर्णय गरेको र बस्ती निर्माणका लागि चाहिने जग्गाको मूल्य इस्टिमेटभन्दा बढी भएकोले आर्थिक संकटका कारण कारण बस्ती निर्माण गर्न ढिला भएको कार्कीले बताए ।

गाउँपालिकाले पहिरो जोखिम क्षेत्रका ११ घरपरिवारलाई अन्यत्र बस्ती निर्माण गरेर सार्ने योजना बनाए पनि पीडितले भौगोलिक हिसाबले नयाँ ठाउँमा खेतीपातीको लागि अनुपयुक्त भएकाले सर्न नमानेको कारण बस्ती स्थानान्तरण गर्न नसकेको गौरीशंकर गाउँपालिका निमित्त प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताए ।

पालिकाले पहिरो पीडित ११ घरपरिवारलाई ५० हजार दिने निर्णय गरे पनि अहिलेसम्म रकम दिएको छैन । त्यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष झलक कार्कीले पहिरो गएको स्थानमा फेरि पनि पहिरोको जोखिम भएको र त्यहाँका परिवार अन्य ठाउँमा सर्न नमानेकोले बस्ती निर्माण गर्न समस्या भएको बताए । पहिरोमा छोरा गुमाएका पीडित लोकेन्द्र खड्काले आफूहरुको नाममा जम्मा भएको पैसाबारे केही थाहा नभएको बताए ।

‘पहिरो गएको एक वर्ष पुग्यो, अहिलेसम्म छोरो बेपत्ता छ’, उनले भने । तत्कालीन समयमा गाउँपालिकाले दिएको ७५ हजार तथा वडाले दिएको १० हजार र सहकारीले दिएको २५ हजार रुपैयाँबाहेक अन्य कुनै राहत रकम नपाएको उनले बताए । स्थानीय सरकारले आवास निर्माण गर्न र पीडितको व्यवस्थापन गर्न खासै चासो नदिएको उनको दुःखेसो छ । त्यसैगरी अर्की पीडित मेनकुमारी खत्रीले पहिरोले घर पूर्णरूपमा पुरेको हुँदा छिमेकीको घरमा भाडामा कोठा लिएर बस्नुपरेको बताइन् ।

जुँगुका अन्य पहिरो पीडितहरुले राहत कोषमा जम्मा भएको रकम कहाँ कति खर्च भएको हो त्यसबारेमा केही थाहा नदिएको बताए । सो गाउँका पहिरो पीडित व्यक्तिहरु गत वर्ष पहिरोले क्षति गरेको घरमा टालटुल गरेर बसेका छन् । गतवर्ष साउनको १७ र १८ गते आएको पहिरोमा परी सो गाउँमा २ जना बेपत्ता भएका थिए भने ११ घर पहिरोको कारण विस्थापित भएका थिए । पहिरोमा बेपत्ता भएको दुई जना अहिलेसम्म फेला पर्नसकेका छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया