Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखानेपानी मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत

खानेपानी मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत


काठमाडौं, साउन १९
खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत रहेको मन्त्रालयले दाबी गरेको छ । खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरूले आर्थिक वर्ष २०७६/०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा मन्त्रालयका सहसचिव अरुण सिम्खडाले उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयअन्तर्गत गत आर्थिक वर्षमा १४ वटा आयोजना सम्पन्न भई एक लाख ९० हजार दुई सय ९२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको सहसचिव सिम्खडाले बताए । त्यस्तै गत आर्थिक वर्षमा दुई सय ४२ आयोजना सम्पन्न भई एक लाख ९४ हजार ४२३ जनसंख्या आधारभूत स्तरको खानेपानी सेवाबाट लाभान्वित भएको बताइएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको आव २०७६/७७ मा समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

खानेपानी विभागअन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ प्रतिशत र सह लगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको महानिर्देशक सुनिलकुमार दासले जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२ दशमलब ८८ प्रतिशत रहेको बताईएको छ । मेलम्ची आयोजनाले गएको आर्थिक वर्षको अवधिमा हेडवक्र्स डाइभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ । त्यस्तै गत आर्थिक वर्षको अवधिमा सबै अडिट तथा सुन्दरीजल पोर्टलमा समेत गरी ६ वटा गेट जडानको कार्य सम्पन्न भएको र सुन्दरीजल पोर्टलबाट पानी प्रशोधन केन्द्रसम्मको सप्लाइ पाइप तथा वाग्मती नदीसम्मको वास आउट पाइप जडान कार्य सम्पन्न भएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए ।

आव २०७६÷०७७ मा आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले भौतिक प्रगति ६८ प्रतिशत हासिल गरेको जानकारी गराएको छ । त्यस्तै काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनाहरूमध्ये ६ वटा सम्पन्न भई ४६ हजार पाँच सय ३४ जनसंख्या लाभान्वित भएको, तेस्रो साना सहरी खानेपानी आयोजनाअन्तर्गत २ वटा आयोजनाहरू सम्पन्न भई ५० हजार ५ सय ७० जनसंख्या लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन ६१ वटा आयोजनाहरूमध्ये ४ वटा सम्पन्न भई करिब ६१ हजार सात सय ४३ जनसंख्या लाभान्वित भएको मन्त्रालयका सहसचिव सिम्खडाले जानकारी दिए । त्यस्तै जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत २ वटा आयोजना सम्पन्न भई ३१ हजार ४ सय ४५ जनसंख्या लाभान्वित भएको खानेपानी विभागको भनाइ छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ९९ प्रतिशत रहेको छ । नेपाल खानेपानी संस्थानको भौतिक प्रगति ७९ प्रतिशत रहेको संस्थानले जनाएको छ । मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिअन्तर्गत गत आर्थिक वर्षमा दुई सय ३८ वटा आयोजना सम्पन्न भई एक लाख ६८ हजार सात सय चार जनसंख्या लाभान्वित भएको कार्यकारी निर्देशक चोकप्रसाद धितालले बताए ।

समीक्षा बैठकलाई सम्बोधन गर्दै खानेपानी मन्त्री विना मगरले खानेपानी तथा सरसफाइको क्षेत्रमा दीर्घकालीन रोड म्याप तयार गरेर मन्त्रालय अघि बढेको बताइन् । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले पन्ध्रौं योजनाका लक्ष्यहरू हासिल गर्ने दिशामा अघि बढ्न मन्त्रालयका कर्मचारी एवं विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले गत आर्थिक वर्षमा राम्रो उपलब्धि हासिल गरेको बताए । उनले सरकारले लिएको ‘एक घर एक धारा’को नीतिलाई कार्यान्वयन गर्न कटिबद्ध भएर मन्त्रालय अघि बढेको स्पष्ट पारे । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरूले गरेका भौतिक र वित्तीय प्रगतिका बारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरू समेत सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया