Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशभर थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौं, साउन २०
नेपालमा कोरोना संक्रमितको संख्या सहरी क्षेत्रमा बढ्दै गएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारदेखि सोमबार दिउँसोसम्मको २४ घण्टाको अवधिमा थप चार सय १८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६ सय ३७ पीसीआर नमूना परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २० हजार ७ सय ५० पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४३, ललितपुरमा तीन तथा भक्तपुरमा पाँच व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ३ सय ५८ जना व्यक्ति सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ९ सय ६१ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट ५७ जनाको मृत्यु भएको छ ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नका लागि १२ अस्पताललाई तोकेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले यस पद्धतिबाट कोभिड–१९ का गम्भीर अवस्थामा पुगेका सङ्क्रमितको उपचार गर्न र अनुसन्धान गर्नका लागि नौ सरकारी र तीन निजी अस्पताललाई स्वीकृत दिएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोभिड–१९ को गम्भीर अवस्थाका बिरामीलाई यस विधिबाट उपचार गरे बचाउन सकिन्छ ।

ज्ञवालीका अनुसार सरकारी अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रे, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पताल विराटनगर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगञ्ज र सेती अस्पताल धनगढी रहेका छन् । यसैगरी निजी अस्पतालमा मेडिसिटी अस्पताल काठमाडौँ, ग्राण्डी अस्पताल र ह्याम्स अस्पताल रहेका छन् । अनुसन्धानमा संलग्न हुनका लागि प्रत्येक अस्पतालबाट एकजना फिजिसियन चिकित्सक र संयोजक तोकिएको छ ।

नेपालमा पहिलोपटक शिक्षण अस्पतालमा ६० वर्षका एक सङ्क्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । यस विधिअनुसार कोभिड–१९ बाट सङ्क्रमणबाट पूर्ण रूपमा निको भएको व्यक्तिको रगतमा भएको प्लाज्मा गम्भीर अवस्थाका सङ्क्रमित व्यक्तिमा रगत हाल्ने गरिन्छ र त्यस प्लाज्मा सङ्क्रमित व्यक्तिमा एन्टिबडी बनाई भाइरसको सङ्क्रमण मार्दछ ।

यस्तै प्लाज्मा थेरापी प्राप्त गर्ने व्यक्ति १८ वर्ष पूरा भएको हुनुपर्ने, पीसीआर विधिबाट कोभिड–१९ रोग भएको निश्चित हुनुपर्ने, अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्ने, बिरामी गम्भीर अवस्था भएको वा ज्यान जोखिममा रहेको अवस्था हुनुपर्ने वा चिकित्सकले बिरामीको गम्भीर अवस्थामा जान सक्ने सम्भावना रहेको पुष्टि गरेको हुनुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया