Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाँकेमा निषेधाज्ञा लम्बियो 

बाँकेमा निषेधाज्ञा लम्बियो 


बाँके, साउन २५
बाँकेमा एक हप्तादेखि जारी निषेधाज्ञा शुक्रबारदेखि थप कडाइका साथ लागू हुने गरी थपिएको छ । कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा बढाइएको हो । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको गत मंगलबार बसेको बैठकले शनिबारसम्मका लागि निषेधाज्ञा जारी राखेको थियो ।

बाँकेमा जारी निषेधाज्ञा पुनः तीन दिनका लागि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । प्रजिअ कुरुम्वाङले जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था झन् जटिल बन्दै गएपछि उच्च सतर्कता अपनाउँदै थप तीन दिनका लागि निषेधाज्ञा अवधि बढाइएको बताए । पछिल्लो समय बाँकेमा समुदायस्तरमै कोरोना पोजेटिभ केस बढ्दै गएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको साउन १८ गते ३ दिनका लागि र साउन २० गते बसेको बैठकले साउन २४ गते शनिबारसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

बाँकेमा जनस्तरमै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी कर्मचारीलगायतमा कोरोना भाइरस संक्रमण देखिसकेको छ भने बाँकेका ७ सरकारी कार्यालय सिल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका, यातायात व्यवस्था विभाग, नेपालगञ्ज आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत, वडा प्रहरी कार्यालय नेपालगञ्ज, कारागार र इलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकमा निषेधाज्ञा हटाउने कि थप गर्ने भन्ने विषयमा छलफल हुँदा थप केही दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जानकारी दिए ।

थपएिको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा रोक लगाइएको छ । त्यस अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । त्यसैगरी एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला र कूटनीतिक सवारी, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति पास भएका गाडीहरु मात्र सञ्चालन गर्न दिइने भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया