Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटन मन्त्रालयको आम्दानी ४३ प्रतिशतले घट्यो

पर्यटन मन्त्रालयको आम्दानी ४३ प्रतिशतले घट्यो


प्रवीण राउत
काठमाडौं, साउन २६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्तावित आम्दानीको ५७ प्रतिशत मात्र आम्दानी गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०६७/०७७ असार मसान्तसम्ममा ५७ प्रतिशत अर्थात् पाँच अर्ब ९६ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । उसले नियमित आम्दानी (पार्किङ, ल्यान्डिङ, भाडा आदि) तर्फ ५५ प्रतिशत अर्थात् चार अर्ब ६१ करोड ७३ लाख ५५ हजार रुपैयाँ तथा विमानस्थल विकास शुल्कतर्फ ६१ प्रतिशत अर्थात् एक अर्ब ३४ करोड ७७ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी मन्त्रालयले गत आवमा नियमिततर्फ आठ अर्ब ३३ करोड १३ लाख रुपैयाँ तथा विमानस्थल विकास शुल्कतर्फ दुई अर्ब २१ करोड २८ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो ।

सोमबार मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा कोभिड १९ का कारण हवाइ यात्रु घट्नु तथा नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा समेत कमी आएकोले गत आवको आम्दानीमा असर परेको मन्त्रालयले जनाएको छ । प्रवक्ता कमल प्रसाद भट्टराईले कोभिडको कारण प्रगति विवरण मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको बताए ।

एकातर्फ कोभिडको कारण आम्दानीका कमी आउनु स्वाभाविक हो भने अर्कोतर्फ विनियोजित रकम समेत खर्च गर्न नसक्दा भने मन्त्रालयको कार्यशैली कमजोर रहेको प्रमाणित हुन्छ । कोभिडको असर नेपालमा गत आवको अन्तिम समयतिर आएको हुँदा त्यसअघिको समयमा हवाइ पूर्वाधार निर्माण, भ्रमण वर्ष २०२० का लागि गन्तव्य स्थानहरुको पहिचान तथा निर्माण, सांस्कृतिक संग्रहालय निर्माण लगायतका कार्यमा खर्च गर्न नसकेको देखिन्छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुरुप गत आवलाई कुुल विनियोजित बजेटमध्ये ४२ प्रतिशत अर्थात् १९ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ मात्र खर्च गरेको छ । सरकारले मुलुकको हवाइ पूर्वाधार निर्माण, भ्रमण वर्ष २०२० का लागि गन्तव्य स्थानहरुको पहिचान तथा निर्माण, सांस्कृतिक संग्रहालय निर्माण लगायतका कार्यको लागि गत आवमा ४६ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये सो रकम मात्र मन्त्रालयले खर्च गर्न सकेको हो ।

जसमध्ये पुँजीगततर्फ ४० दशमलव ६८ प्रतिशत अर्थात् १३ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ, कार्यसञ्चालनतर्फ ८१ दशमलव ३१ प्रतिशत अर्थात् तीन अर्ब ४० करोड ८८ लाख रुपैयाँ र आयकर र अन्य खर्चतर्फ २६ प्रतिशत अर्थात् दुई अर्ब २७ करोड सात लाख रुपैयाँ खर्च गरेको हो ।

गत आवमा पुँजीगत शीर्षकमा ३४ अर्ब चार करोड ३७ लाख रुपैयाँ, कार्यसञ्चालन शीर्षकमा चार अर्ब १८ करोड ८४ लाख रुपैयाँ र आयकर र अन्य खर्च शीर्षकका लागि आठ अर्ब ७३ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो । गत आवको बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्राधिकरणले विमानस्थल भौतिक पूर्वाधार विकास, एयर नेभिगेसन प्रणालीको आधुनिकीकरण, उडान सुरक्षा सुदृढीकरण तथा संस्थागत सुधारको महत्वपूर्ण उद्देश्य राखेको थियो ।

२०२० लाई भ्रमण वर्षको घोषणा गरेको भन्दै प्राधिकरणको आम्दानी समेत उल्लेख्य अभिवृद्धि हुने र लक्षित प्रतिफल हासिल हुने अपेक्षा गरिएकोमा फागुनदेखि विश्वमा देखापरेको कोभिड महामारीका कारण प्राधिकरणको आम्दानीमा ४३ प्रतिशतले कमी हुन गएको तथा बन्दाबन्दीको कारण विकास योजनाका काममा समेत नकारात्मक प्रभाव पर्न जाँदा संस्कृति, पर्यटन र उड्डयन क्षेत्र प्रभावित बन्न पुगेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुको संख्यामा ४ दशमलव ६ प्रतिशतले कमी आएको तथा आन्तरिक उडानतर्फ भने १६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । नेपालको द्विपक्षीय हवाइ सेवा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेको मुलुकको संख्या ४० पुग्दा अन्तर्राष्ट्रिय उडानमा एकतर्फी करिब ८० लाख हवाइ सिट उपलब्ध रहेको बताइएको छ ।

मुलुकभर ५४ विमानस्थल रहेकोमा ३५ वटा विमानस्थलको धावनमार्ग पक्की गरेको तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गरिएको जनाएको छ । त्यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उल्लेखनीय प्रगति भएको अर्थात् भौतिक प्रगति ९१ प्रतिशत पुगेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको र बन्दाबन्दीको कारण ६ महिनाअघि सरकारलाई हस्तान्तरण गर्न नसकिने बताइएको छ ।

त्यसैगरी आन्तरिक विमानस्थलहरुको चरणबद्ध रुपमा विकास गर्दै लैजाने, जनकपुर विमानस्थलमा भूउपग्रहमा आधारित वायुयान अवतरण प्रणाली (आएएनएभी प्रोसिड्युर) तर्जुमा गरी लागू गरिएको, हवाइ सेफ्टी अन्तर्राष्ट्रियस्तरको बनाइने तयारी र विभिन्न नीतिगत तथा संस्थागत सुधार गरिएको बताइएको छ । बन्दबन्दीमा समेत स्वदेश र विदेशमा रहेका यात्रुलाई ओसारपसार गर्न चार्टर्ड उडान, खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री ढुवानीको लागि समेत तीन सयभन्दा बढी उडान भरेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया