Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश सरकारद्वारा निर्माण सम्पन्न भएका योजनाहरूको अनुगमन

प्रदेश सरकारद्वारा निर्माण सम्पन्न भएका योजनाहरूको अनुगमन


धनबहादुर जप्रेल
कञ्चनपुर, साउन २६
सुदूरपश्चिम प्रदेशसभा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले प्रदेश सरकारबाट सञ्चालित भएका योजनाको अनुगमन गरेको छ । समितिले प्रदेश सरकारबाट गत आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न भएका योजना र संघीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरण गरिएका योजनाको शनिबार अनुगमन गरेको हो । समितिले केही योजना सन्तुष्ट र केही योजनामा असन्तुष्ट मात्र नभई अनियमितता भएको जनाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा निर्माण भएको मालुबेला, गुलरिया, राजघाटी घनगढी जोड्ने सडकमा ठेकेदारले चरम लाहपरबाही गरेको समितिले जनाएको छ । यस्तै जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको कभर्डहलमा निर्माण भएको क्रिकेट मैदानमा अनियमितता भएको समितिको भनाइ छ ।

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य एव कञ्चनपुर क्षेत्र नम्बर २(क)का प्रदेशसभा सदस्य महेशदत्त जोशीले जिल्लाको गौरवको योजनामा मालुबेला सडकखण्डमा ढिलासुस्ती हुँदा जनताले सास्ती खेप्नु परेकाले सम्बन्धित निर्माण व्यवसायीसहित प्रदेश सरकारको ध्नाकर्षण गराउने बताए । प्रदेश सरकारबाट सञ्चालन भएको भेटघाट शिविरमा तटबन्ध निर्माणबाट वर्षा याममा आउने बाढीबाट बस्ती जोगिएको समेत उनले बताए ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(ख)का प्रदेशसभा सदस्य लालबहादुर खडकाले पनि चौधर नदीका विभिन्न स्थानमा लकडाउनका समयमा पनि तटबन्ध निर्माण कार्य जारी रहेकोले बस्ती जोगिएको बताए । खड्काले कञ्चनपुरको उत्तरी भेगबाट भीमदत्त वेदकोट जोड्ने रौटेलामा निर्माण भएको झोलुङ्गे पुलबाट समेत धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न सकिनेमा जोड दिए ।

उनले दैजी–लिप्ना सडक विस्तारमा समेत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने बताए । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क)का प्रदेशसभा सदस्य एवं पूर्वराज्यमन्त्री प्रकाशबहादुर रावलले कभर्डहलमा निर्माण भएको क्रिकेट मैदानमा भ्रष्टाचार भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए । उनले भीमदत्त नगरपालिका ९ रिगौना सीमा क्षेत्रमा खेल मैदानबाट सीमा सुरक्षा र खेलाडीका लागि सहज भएको बताए । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(ख) प्रदेशसभा सदस्य मानबहादुर सुनारले महाकाली नदीमा निर्माण हुनलागेको महाकाली पुल आयोजना समयमै सम्पन्न र पुल आयेजनाका लागि चाहिने प्राकृतिक स्रोत साधन आपूर्तिका लागि पहल गर्ने बताए ।

कञ्चनपुरका प्रदेशसभा सदस्यसहित अर्थ विकास तथ प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवर, सदस्य दीर्घ सोडारी, अक्कल रावल, पूर्णा जोशीले भारतीय एसएसबीबाट बन्न नदिएको ब्रम्हदेव सडक र वृक्षारोपण, तारबार गरिएको नेपाली जमीनमा भारतीय पक्षबाट अवरोध भएको क्षेत्रको समेत स्थलगत अनुगमन गर्दै भारतीय कदमको भत्र्सना गरेका छन् । सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख महादेव विष्ट र पूर्वाधार कार्यालयका इन्जिनियर हेमराज भट्टले योजनाबारे ब्रिफिङ गरेका थिए । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका

सभापति हर्कबहादुर कुँवरले कञ्चनपुरमा प्रदेश सरकारबाट सञ्चालित योजनाको स्थलगत अनुगमन गर्दा केही योजना ठिक, केही बेठिक अवस्थामा भेटिएको बताए । सभापति कुँवरले स्थलगत अनुगमनमा क्रममा भेटिएका सकारात्मक एव नकारात्मक पक्ष दुवै बेलाएर सरकारलाई नराम्रा पक्ष सच्याउन निर्देशन दिइने बताए । उनले पनि मालुबेला सडक निर्माणमा ढिलासुस्ती र कभर्डहलमा निर्माण भएको क्रिकेट मैदानमा अनियमितता भएको बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया