Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय प्राविधिकलाई नेपाल आउन खुल्ला

भारतीय प्राविधिकलाई नेपाल आउन खुल्ला


प्रवीण राउत
काठमाडौं, साउन २७
लकडाउनको क्रममा उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुनसकेका छैनन् । उद्योगी व्यवसायीहरुको अनुसार उद्योगमा प्राविधिक, कामदारलगायतको कमीका कारणले गर्दा उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताउँदै आएका छन् । यसैबीच उद्योगी व्यवसायीहरुले लामो समयदेखि उद्योगका लागि आवश्यक विदेशी प्राविधिक तथा प्रविधिज्ञहरु ल्याउनको लागि सरकारलाई निरन्तर आग्रह गर्दै आएकोमा सरकारले हालका लागि भारतबाट आउने प्राविधिकहरुलाई भने नेपाल प्रवेश गर्न दिने भएको छ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालका लागि भारतको प्राविधिक नेपाल आउन दिने तर अन्य मुलुकको प्राविधिक ल्याउने कुरामा भने हवाइ सेवा सुचारु भएपछि आवश्यक निर्णय लिने बताएको छ । मन्त्रालयले उद्योगलाई आवश्यक पर्ने भारतमा रहेका प्राविधिक नेपाल आउन दिनको लागि सम्बन्धित निकायलाई सहजीकरण गरिदिन समेत आग्रह गरेको छ ।

उद्योगहरुलाई मेसिनरी मर्मतसम्भार, स्तरोन्नति र प्रविधि जडानसम्बन्धी कार्य गर्न नेपाली प्राविधिक उपलब्ध नहुने अवस्थामा त्यस्ता अत्यावश्यक प्राविधिक जनशक्ति विदेशबाट ल्याउनुपर्ने भएकोले उक्त कार्यमा सहजीकरण गरिदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मीले उद्योगीको मागअनुसार हालका लागि भारतबाट ल्याउन चाहने प्राविधिकहरुलाई ल्याउनका लागि सहजीकरण गर्नका लागि सम्बन्धित निकायसमक्ष आग्रह गरेको बताए । ‘उद्योगमा प्रविधि फेर्ने, जडानलगायतका कामका लागि आवश्यक पर्ने प्राविधिक ल्याउन दिन लागेका हौँ’, उनले भने, ‘नेपालमा उपलब्ध नभएका प्राविधिकहरु मात्र आउनको लागि अनुमति दिएका हौँ ।’

उद्योगमा प्रविधि फेर्ने, जडान गर्ने, क्षमता बढाउने वा मर्मतसम्भार गर्ने प्रयोजनका लागि नेपालमा उपलब्ध नभएको अवस्थामा भारतबाट छोटो अवधिका लागि ल्याउनुपर्ने प्राविधिक जनशक्ति नेपाल ल्याउन अनुमति दिएका हौँ ।

त्यसैगरी नेपाल प्रवेशको लागि अनुमति प्राप्त गर्न सम्बन्धित उद्योगले उद्योग विभागसमक्ष निवेदन दिन समेत मन्त्रालयले आग्रह गरेको छ भने उद्योगीले निवेदनमा विदेशबाट प्राविधिक ल्याउनुपर्ने औचित्यसहित प्राविधिक जनशक्ति ल्याउने मुलुक, नेपाल प्रवेश र नेपालबाट प्रस्थान गर्ने मिति र नेपालमा रहने अवधि समेत खुलाउनुपर्ने हुन्छ ।

त्यसैगरी प्राप्त निवेदन मनासिब देखिएका उद्योग विभागले गृह मन्त्रालयलाई अनुमतिका लागि अनुरोध गर्नेछ तर उद्योगमा काम गर्ने वा गराउने वा रोजगार दिने प्रयोजनका लागि कुनै पनि श्रमिकलाई नेपाल प्रवेशको यस्तो लागि सिफारिस तथा अनुमति प्रदान नगर्ने भएको छ ।

प्राविधिक ल्याउन अनुमति पाउने उद्योगले भने कोभिडबाट सुरक्षित रहनका लागि सरकारले जारी गरेको आवश्यक शर्तहरु अनिवार्य पालना गनुपर्ने हुन्छ । मन्त्रालयका अनुसार कोभिडबाट बच्नको लागि निर्धारण गरिएको सम्पूर्ण मापदण्ड उद्योगीले पालना गर्नुपर्छ । त्यसो नगरेको खण्डमा भने अधिकारप्राप्त स्थानीय प्रशासनले प्रचलिन कानुनबमोजिम कारबाही गरिने हुनेछ ।

निर्धारित प्रवेश विन्दुबाट प्राविधिक नेपाल प्रवेश गर्दा पछिल्लो ७२ घण्टाभित्र जारी भएको पीसीआर नेगटिभ रिपोर्ट साथमा अनिवार्य हुनैपर्ने, निर्धारित नेपाल प्रवेश विन्दुबाट तोकिएको गन्तव्यसम्म र त्यस्तो गन्तव्यबाट तोकिएको प्रस्थान सीमा विन्दुसम्म निजी सवारीसाधनबाट आवागमन गर्नुपर्ने तथा गन्तव्यमा पुगेपछि अनिवार्य रुपमा क्वारेन्टाइन बस्ने खाने व्यवस्था सम्बन्धित उद्योगले मिलाउनुपर्ने । क्वारेन्टाइन स्थलबाट बाहिर हिँड्डुल गर्न नदिनेलगायतका स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्नेलगायतका शर्तहरु अघि सारिएको छ ।

भारतबाहेक उद्योग तथा अन्य क्षेत्रका प्राविधिकहरु नेपालमा आउने कुरा भने हवाइ सेवा सुचारु भएपछि मात्र आउन सम्भव हुने मन्त्रालयका उद्योग सचिव चन्द्रकुमार घिमिरेले बताए । ‘हवाइ सेवा सुचारु नभएसम्म अन्य मुलुकका प्राविधिक नेपाल आउन सम्भव छैन’, उनले भने, ‘अहिले पनि हामीले उद्योगका प्राविधिक मात्र आउन दिएका हौँ, त्यही पनि छोटो समयका लागि ।’

मन्त्रालयले कामदारहरुलाई भने आउन नदिने बताएको छ । ‘हामी विदेश अर्थात् भारतीय प्राविधिकलाई मात्र प्रवेश गर्न दिन्छौँ’, सचिव घिमिरले भने, ‘कामदार भने ल्याउन दिनेछैनौँ कोभिडकै कारणले गर्दा यो निर्णय लिएका हौँ । प्राविधिकहरु अत्यन्त आवश्यक भएको हुँदा प्रवेश दिएका हौँ ।’

हवाइ सेवा सुचारु नहुँदा विदेशी प्राविधिकहरुकोे अभावका कारण उद्योग मात्र नभएर राष्ट्रिय गौरवको आयोजनाहरु, अन्य आयोजना समेत प्रभावित बनेको छ । जस्तो कि राष्ट्रिय गौरवको आयोजना पोखरा विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतको काम समेत अघि बढ्नसकेको छैन ।

आयोजनाका प्रमुख प्रवेश अधिकारीले चिनियाँ प्राविधिकहरु नेपाल आउन नसक्दा काम विमानस्थल निर्माणको काम अघि बढ्न नसकेको बताए । यता पोखरा आयोजना प्रमुख विनेश मुनाकर्मीले भने विदेशमा प्राविधिकका साथै सामग्री समेत रोकिँदा निर्माणकार्य प्रभावित बनेको बताए । नेपालमा विशेषगरी विभिन्न उद्योग, आयोजनाहरुमा पर्याप्त संख्यामा विदेशी प्राविधिकका साथै कामदारहरु समेत संलग्न हुँदै आएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया