Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहाकाली अस्पतालले छ दशकपछि पायो शववाहन

महाकाली अस्पतालले छ दशकपछि पायो शववाहन


धनबहादुर जप्रेल
कञ्चनपुर, साउन २७
कञ्चनपुरको महाकाली अस्पताल स्थापना गरिएको झण्डै छ दशकपछि मात्रै अस्पतालमा शववाहन आएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अस्पताललाई उक्त शववाहन उपलब्ध गराएको हो ।

शववाहन अस्पतालमा पुगेपछि त्यसको सञ्चालनसम्बन्धी छलफल अघि बढेको छ । महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले शववाहनको सञ्चालनका लागि छिट्टै निर्णय गरिने बताए । यस क्षेत्रमा शव बोक्नका लागि साधन नभएको भन्दै स्थानीयहरुले पटक–पटक गुनासो गर्दै आएका थिए । महाकाली अञ्चलका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन २० को दशकमा स्वास्थ्य संस्थाका रुपमा अस्पताल सञ्चालन गरिएको थियो ।

२०४० पछि महाकाली अस्पतालका रुपमा सेवा दिनथालेको हो । अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष भएपछि जोशीले अस्पताल सुधारलाई मुख्य मुद्दा बनाएर अघि बढेका छन् । अस्पतालमा शववाहन, भेन्टिलेटर जडान, चिकित्सक दरबन्दी पूर्तिलगायतका कार्यमा अध्यक्ष जोशी सफल भएका छन् ।

‘शववाहनको निकै खाँचो थियो, यसका लागि अथक प्रयास गरियो’, अध्यक्ष जोशीले भने, ‘शववाहन पाएकोमा खुसी छौँ, अब दीनदुःखीहरुको सेवा गर्छौँ ।’ सुदूरपश्चिम प्रदेश सरकारले तत्कालीन महाकाली अञ्चल अस्पताललाई प्रादेशिक बनाउने निहुँ बनाएर महाकाली अस्पताल नामकरण गरिदिएपछि जनस्तरमा आलोचना हुने गरेको छ । अध्यक्ष जोशीले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउन दबाब दिँदै आएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया