Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१४ केजी नक्कली ‘सुन’ प्रकरणमा संलग्न अन्सारी पक्राउ

१४ केजी नक्कली ‘सुन’ प्रकरणमा संलग्न अन्सारी पक्राउ


उमेश दुबे
बारा, साउन ३०
काठमाडौँको सुन्धारामा प्रहरीले पिछा गरे पनि ‘सुन’ र पेस्तोलको झोला फालेर फरार भएका इल्ताफ हुसेन अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोली प्रमुख प्रहरी निरीक्षक रविभूषण यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको निजगढबाट पक्राउ गर्न सफल भएको हो ।

गत साउन १३ गते सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला फालेर भागेपछि अन्सरीलाई प्रहरीले खोजबीन गरिरहेको र क्राइम टोलीको अथक प्रयासपछि निजगढबाट पक्राउ गर्न सफल भएको छ । विशेष सूचना आउनसाथ पर्सा जिल्लाबाट खटिएको प्रहरी टोलीले बाराको निजगढमा लुकिछिपी बस्दै आएका इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । सुनधारा नजिकै प्रहरीको चेकिङ टोलीले स्कार्पियो रोक्न खोज्दा नरोकेपछि प्रहरीले पिछा गरेको थियो तर स्कार्पियोबाट झोला फाली फरार भएका इल्ताफ हुसेन अन्सारीलाई खोजबीन गर्दै जाँदा क्राइम टोलीले नियन्त्रणमा लिन सफल भएको छ ।

फालेर भागेको झोलाबाट साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुई थान पेस्तोल बरामद गरेको थियो । सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कार्पियो छाडेर इल्ताफ फरार भएका थिए । फरार भएका इल्ताफ भारतीय जाली नोटको कारोबारी समेत रहेको प्रहरी अनुसन्धानबाट प्रस्ट भएको प्रहरी स्रोतको दाबी रहेको छ ।

पर्सा प्रहरीले पक्राउ गरेको अन्सारीलाई बारा प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको र उनलाई काठमाडौँ पठाउने पर्सा प्रहरीले जनाएको छ । विगतका दिनमा अन्सारी भारतीय जाली नोटको कारोबारमा सक्रिय रहे पनि हालको समयमा सुनको तस्करीमा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको स्रोतको दाबी छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया