Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व अनुसन्धानद्वारा पशु क्वारेन्टाइनलाई तीनदिने पत्र विराटनगर भन्सारलाई उन्मुक्ति

राजस्व अनुसन्धानद्वारा पशु क्वारेन्टाइनलाई तीनदिने पत्र विराटनगर भन्सारलाई उन्मुक्ति


विराटनगर, साउन ३०
नेपालमा आयातका लागि सरकारले सिफारिस नै नगरिएको मंगुर जातको (क्याटफिस) माछा गत असारमा विराटनगर भन्सार र पशु क्वारेन्टाइन कार्यालयको मिलेमतोमा भएको आयातबारे राजस्व अनुसन्धान कार्यालय इटहरीले चासो लिँदै तीन दिनभित्र जवाफ दिन पशु क्वारेन्टाइनलाई पत्राचार गरेको छ ।

विराटनगर भन्सार नाकाबाट भारतबाट आयात गरिएको पाँच हजार आठ सय २० केजी मंगुर जातको माछा सुनसरी प्रहरीले बरामद गरी नष्ट गरेको विषयमा राजस्व कार्यालय इटहरीले पशु क्वारेन्टाइन कार्यालय विराटनगरलाई ५ बुँदे निर्देशनसहितको पत्र पठाएको छ । माछा व्यापारी, विराटनगर भन्सारका कर्मचारी र पशु क्वारेन्टाइनका कर्मचारीको मिलेमतोमा नेपालमा आयातका लागि सिफारिससमेत नगरिएको मंगुर जातको माछा विराटनगर भन्सार नाकाबाट आयात गरिएको थियो ।

प्रतिबन्धित माछालाई विराटनगर भन्सार कार्यालयले आयातका लागि कुनै रोकटोक नै नगरी निर्बाधरूपमा नेपाल भित्र्याउन दिएको थियो । तर उक्त माछा सुनसरी प्रहरीले बरामद गरी प्रतिबन्धित माछा कसरी आयात भयो भन्दै सबै माछा नष्ट गरेको थियो । नेपालमा प्रतिबन्धित उक्त माछा आयात हुनुमा विराटनगर भन्सारका कर्मचारी र माछा आयातको सिफारिस गर्ने पशु क्वारेन्टाइन दुवैको व्यापारीसँग मिलेमतो प्रस्ट हुँदाहुँदै राजस्व कार्यालय इटहरी सुनसरीले चासोका साथ माछा आयातको विषयमा पशु क्वारेन्टाइनलाई मात्र पत्राचार गरी भन्सारका कर्मचारीलाई उन्मुक्ति दिन लागेको पाइएको छ ।

तीन दिनभित्र जवाफ पठाउने गरी राजस्व कार्यालय इटहरीले पठाएको पत्रमा विराटनगर भन्सार कार्यालयका कर्मचारीलाई उन्मुक्ति दिँदै पशु क्वारेन्टाइन कार्यालयलाई मात्र राजस्वको पत्राचार भएपछि राजस्व इटहरी र विराटनगर भन्सारबीचको सेटिङ छताछुल्ल बन्न पुगेको हो । अहिले राजस्व कार्यालय इटहरी सुनसरीले क्याटफिस माछा खानयोेग्य भनी नेपालमा प्रतिबन्ध भए वा नभएको, क्याटफिस मााछा खान अयोग्य भएमा खानयोग्य भनी विराटनगर भन्सार कार्यालयलाई सिफारिस दिए वा नदिएको, सिफारिस दिएको भए के–कस्तो प्रावधानको आधारमा दिएको, माछा के–कति परिमाणमा सिफारिस दिएको, प्रतिबन्धित माछाको सिफारिस गरिएको भए सो कार्यमा संलग्न पशु क्वारेन्टाइनका कर्मचारी, पदाधिकारीहरूको विवरण पठाउन भन्दै राजस्व कार्यालय सुनसरीले पत्रद्वारा निर्देशनात्मक आदेश गरेको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीका निमित्त प्रमुख अनुसन्धान अधिकृत रमेश ओझाले हस्ताक्षर गरी पठाएको पत्रमा आयातको लागि सिफारिस नभएको र नेपालमा प्रतिबन्ध गरिएको सो माछा खानयोग्य भनी जाँचपास भएको भन्ने उजुरीको आधारमा सबै विवरण पठाउन निर्देशन गरिएको छ । तर उक्त माछा जाँचपास गर्ने भन्सार जाँचकीदेखि भन्सार मूल्याङ्कन गर्ने भन्सार अधिकृत र माछा आयात स्वीकृतको प्रज्ञापनपत्रमा हस्ताक्षर गर्ने भन्सार अधिकृतलाई राजस्व अनुसन्धान कार्यालय सुनसरीले सेटिङका भरमा उन्मुक्ति दिएको राजस्वस्रोतले नै बताएको छ ।

भन्सार कार्यालय विराटनगरलाई माछा जाँचपासका सम्बन्धमा पत्राचार गर्ने विषयमा राजस्व अनुसन्धान कार्यालयका प्रमुख वेदराज फुयाँल र अन्य कर्मचारीका बीचमा ठूलै विवाद भएको रहस्य पनि सार्वजनिक भएको छ । राजस्व प्रमुख फुयाँल र विराटनगर भन्सारको सेटिङमा पछिल्लो समय व्यापकरूपमा अकल्पनीय तरीकाले राजस्वको चुहावट हुँदा पनि त्यस्ता व्यापारीलाई दुवै निकायबाट उन्मुक्ति दिइरहेको दाबी समाचारस्रोतले गरेको छ । विराटनगर भन्सारले पशु क्वारेन्टाइन कार्यालय विराटनगरअन्तर्गत रहेको पशु क्वारेन्टाइन चेकपोष्टले क्वारेन्टाइन जारी गरेर पठाएकाले भन्सार काटेको भन्दै सबै आरोप पशु क्वारेन्टाइन कार्यालयलाई लगाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया